भोजपुर २९ फागुन । भोजपुरको रामप्रसादराई गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा जिल्लामै प्रथम र कोशी प्रदेशमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/०८२ को अन्तिम नतिजा फागुन २७ गते सार्वजनिक गरेको हो। सार्वजनिक नतिजा अनुसार रामप्रसादराई गाउँपालिकाले ७५.६८ अङ्क प्राप्त गर्दै भोजपुर जिल्लामा पहिलो र कोशी प्रदेशमा तेस्रो स्थान हासिल गरेको हो।
त्यस्तै, कोशी प्रदेशका ८८ वटा गाउँपालिकाको सूची हेर्दा रामप्रसादराई गाउँपालिका पहिलो स्थानमा देखिएको छ। देशभरका ७५३ स्थानीय तहमध्ये भने यो गाउँपालिका २१औँ स्थानमा परेको छ।
नतिजा सार्वजनिक भएपछि गाउँपालिका अध्यक्ष थामबहादुर राई (निर्माण) ले सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीलाई बधाई दिएका छन्। उनले प्राप्त उपलब्धिलाई सबैको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ राम्रो नतिजा ल्याउने लक्ष्य रहेको बताए।
अध्यक्ष राईले भने, “यो नतिजा उत्कृष्ट हो। उत्कृष्ट नतिजा प्राप्त गर्न कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीबाट प्राप्त सकारात्मक, रचनात्मक साथ–सहयोग, हौसला र कार्यप्रणालीले महत्त्वपूर्ण भूमिका खेलेको छ। एक–एक इट्टा थपिँदै सफलता हासिल भएको हो। अब आगामी दिनमा सर्वोत्कृष्ट बन्ने लक्ष्य राखेका छौँ।”
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनका लागि १७ वटा सूचकका आधारमा मूल्याङ्कन गर्ने गर्दछ। ती सूचकमा स्थानीय तहको योजना निर्माण, बजेट व्यवस्थापन, नीति तथा कार्यक्रम, सेवा प्रवाह, पारदर्शिता र कार्यान्वयनको प्रभावकारिता लगायतका विषय समेटिएका हुन्छन्।
अध्यक्ष राईका अनुसार गाउँपालिकाले कुन सूचकमा कति प्रगति भयो र आगामी दिनमा सर्वोत्कृष्ट बन्न कुन–कुन क्षेत्रमा सुधार गर्नुपर्ने भन्ने विषयमा गम्भीर समीक्षा, छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, विभिन्न शाखाको जिम्मेवारी र जबाफदेहिता निर्धारण गर्दै जनप्रतिनिधि तथा कर्मचारीको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनेतर्फ पनि ध्यान दिइएको उनले बताए।
यसैगरी योजना, बजेट, नीति तथा कार्यक्रमलाई परिणाममुखी बनाउँदै प्रभावकारी कार्यान्वयनमा जोड दिइएको कारणले नै नतिजामा निरन्तर सुधार हुँदै गएको हुन सक्ने गाउँपालिका अध्यक्ष राईको भनाइ छ।
उनले आगामी वर्षमा पनि सर्वोत्कृष्ट स्थान हासिल गर्ने लक्ष्यका साथ समीक्षा, छलफल र सुधारका कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी दिए।