सोमबार २५ जेठ, २०८३

नेपाली समय

​जेन-जेड आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार कैदी रौतहटमा पक्राउ

​जेन-जेड आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार कैदी रौतहटमा पक्राउ

 रौतहट, २९ माघ ।​ सशस्त्र प्रहरी बल नेपालले काठमाडौँस्थित नख्खु कारागारबाट फरार भएका एक कैदीलाई रौतहटको चन्द्रपुरबाट पक्राउ गरेको छ। 'जेन-जेड' आन्दोलनको समयमा सिर्जना भएको अन्योलको फाइदा उठाउँदै कारागारबाट भागेका लागुऔषध मुद्दाका दोषी २७ वर्षीय सागर खाती वि.क. लाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

​सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र नं. ४ सुरक्षा बेस सन्तपुरबाट खटिएको विशेष टोलीले उनलाई बुधबार बिहान चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थित चन्द्रपुर चोकबाट पक्राउ गरेको हो। रौतहटकै चन्द्रपुर–४ ठाडाटोल घर भएका खाती विगत लामो समयदेखि सुरक्षा निकायको मोस्ट वान्टेड सूचीमा रहेका थिए।

​​सशस्त्र प्रहरी नायब उपरीक्षक सप्रनाउ विश्वनाथ जि.सी. को कमाण्डमा खटिएको ९ जनाको मोबाइल टोलीले गोप्य सूचनाका आधारमा चन्द्रपुर चोकमा निगरानी बढाएको थियो। सोही क्रममा शंकास्पद अवस्थामा फेला परेका खातीलाई केरकार गर्दा उनी जगन्नाथदेवल कारागार काठमाडौँबाट फरार भएका कैदी भएको पुष्टि भएको थियो।

​सशस्त्र प्रहरीका अनुसार खाती लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए। २०८२ भदौमा भएको देशव्यापी 'जेन-जेड' आन्दोलनका क्रममा कारागारमा भएको तोडफोड र अस्तव्यस्तताको मौका छोपी उनी फरार भएका थिए।

​​पक्राउ परेका खातीलाई आवश्यक कानुनी प्रक्रिया र बाँकी कैद भुक्तानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको हो ।

​फरार कैदीबन्दीहरूको खोजी कार्यलाई हामीले तीव्रता दिएका छौँ। निर्वाचन सुरक्षा बेसको टोलीले सक्रियता देखाउँदा यो सफलता मिलेको हो। जि.सी. ले जानकारी दिए।

​पक्राउ परेका व्यक्तिलाई अब सम्बन्धित कारागार चलान गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाए। देशभरका कारागारबाट फरार भएका अन्य कैदीहरूको खोजीका लागि पनि रौतहटमा सुरक्षा निगरानी बढाइएको हो ।