शुक्रबार ०१ फागुन, २०८२

नेपाली समय

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

(इन्द्राकुमारी केसी)

घोडाघोडी (कैलाली), १० माघ । कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको परिवार पाँच वर्षदेखि पालमुनी आश्रय लिएर बस्दै आएको छ ।

विसं २०७७ मा चुरे गाउँपालिका-४ को गौजनामा आएको पहिरोले उहाँको १६ रोपनी जमिनसहित घरखेत बगाएपछि पाँच जनाको परिवार विस्थापित भएको थियो ।

विस्थापित भएपछि उहाँको परिवार जङ्गलमा बस्दै आएको थियो । त्यहाँबाट पनि वन कार्यालयले हटाएपछि केही समय गौशालामा बस्नुपरेको विश्नादेवीले बताउनुभयो । त्यहाँबाट पनि हटाइएपछि पुनः पनेरुगडाको जङ्गलमा फर्किएर बस्न बाध्य भएको उहाँले उल्लेख गर्नुभयो ।

विश्नादेवीले भन्नुभयो, “घरबार नै नभएपछि जङ्गलमा बस्नुपर्ने बाध्यता आएको हो ।” छोरी ठूलो भइसकेकाले जङ्गलमा बस्न असुरक्षित महसुस भएपछि उहाँले छोरीलाई आफन्तकहाँ राखेर पढाइरहनुभएको छ ।

दुई छोरासँगै जङ्गलमा बसिरहेकी विश्नादेवीका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ । आफू भने मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो ।

भाडामा बस्ने क्षमता नभएको भन्दै जङ्गलमा बस्दा छोराछोरीको भविष्य जोखिममा पर्ने चिन्ताले सताउने उहाँको भनाइ छ ।

“जङ्गलमा बाघसहित जङ्गली जनावरको त्रास भएकाले रातभरि आगो बाल्दै सबै एक ठाउँमा जम्मा भएर बस्नुपर्छ”, उहाँले भन्नुभयो, “सामुदायिक वन समूहले यहाँबाट अन्यत्र जान पनि भनिरहेको छ । रहर कसलाई हुन्छ र ज्यान जोखिममा पारेर बस्न ? तर जाने ठाउँ कतै छैन । बरु मारुन्, कतै जान्न ।”

विश्नादेवी जस्तै कमला रोका मगरको परिवार पनि २०७७ सालदेखि पनेरुगडाकै जङ्गलमा पालमुनी जीवन बिताइरहेको छ ।

“हावाहुरी चल्दा रूख ढल्छ कि भन्ने त्रास, राति जङ्गली जनावर आइपुग्छन् कि भन्ने डरका बीचमा दिन काट्नु दैनिकी बनेको छ । उठेर जान पनि भनिरहे पनि जाने ठाउँ छैन । राम्रो घरमा बस्ने मन हाम्रो पनि छ, तर कहाँ जाने ?”, उहाँले प्रश्न गर्नुभयो ।

यसै क्षेत्रमा चुरे गाउँपालिका-६ का डबलबहादुर कार्की पनि पालमुनी बस्दै आउनुभएको छ । उहाँका अनुसार सुरुमा यहाँ धेरै विस्थापित परिवार थिए । “कतिपय रोजगारीका लागि भारत गए, केही पहिरो गएको आफ्नै ठाउँतिर फर्किएका छन् । 

“हाम्रो त केही पनि बचेको छैन, कहाँ जानु ? सोही कारणले यहाँ बसिरहेका छौँ”, कार्कीले भन्नुभयो । पालिकाले हाललाई यहाँ बसोबासका लागि अनुमति दिए पनि सुरक्षित र स्थायी बसोबासको कुनै सुनिश्चितता नभएको उहाँले गुनासो गर्नुभयो ।

पनेरुगडा क्षेत्रमा मात्रै यस्ता २५ भन्दा बढी परिवार पाल टाँगेर बसिरहेका छन् । चुरे-४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरका अनुसार २०७७ सालको बाढीपहिरो र अन्य प्राकृतिक विपद्का कारण विस्थापित एक सय १६ परिवार पनेरुगडा, टाँकगडा, बालुवागडा, चुरे-१ को खामाहाले, खानीडाँडालगायत क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । 

सुरुमा घरविहीन भन्दै करिब सात सय परिवार वन क्षेत्रमा बसेको देखिए पनि गाउँपालिकाको छानबिनपछि ११६ परिवार मात्रै पूर्ण रूपमा घरबारविहीन रहेका पाइएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो ।

वन कार्यालयले विसं २०७९ मा अतिक्रमण भएको भन्दै धेरैलाई हटाए पनि वास्तविक पीडित भने अझै जङ्गलमा बस्न बाध्य भएका उहाँको भनाइ छ ।

वडाध्यक्ष लामिछाने मगरले भन्नुभयो, “विस्थापितहरूको समस्या समाधानमा हामी गम्भीर छौँ । तर, स्थानीय तहसँग उहाँहरूलाई तत्काल व्यवस्थापन गर्ने आफ्नो जमिन छैन ।

वन कार्यालयले हटाउने भनिरहेको छ, तर उहाँहरूको जाने ठाउँ छैन । यही कारण यहाँ जोखिमपूर्ण अवस्थामा बस्न बाध्य छन् ।”

जोखिममा बालबालिकाको शिक्षा

यहाँ बस्ने बालबालिकालाई विद्यालय जान पनि चुनौतीपूर्ण रहेको अभिभावक बताउँछन् । यहाँका बालबालिका गौरीगङ्गा नगरपालिका-३ स्थित श्री शिवनमूना आधारभूत विद्यालयमा पढ्न जान्छन् ।

दीपेन्द्र महरा कक्षा ६ मा पढ्नुहुन्छ । दीपेन्द्रले भन्नुभयो, “वर्षाको समयमा बाढी आएपछि विद्यालय जान सकिँदैन । अन्य समयमा पनि बाघसहित जङ्गली जनावरको त्रास हुन्छ ।” रमेशबहादुर महरा पनि कक्षा ७ मा पढ्नुहुन्छ । 

“बिहानको समयमा स्कुल जाँदा अभिभावक आधा बाटोसम्म पुर्‍याउन जानुपर्छ”, उहाँले भन्नुभयो । “विद्यालय जान र आउन दैनिक करिब चार घण्टा हिँड्नुपर्छ ।

बाटोमा जङ्गली जनावरको डर पनि लाग्छ”, मनिषा रोका मगरले भन्नुभयो, “जसोतसो विद्यालय गइरहेका छौँ । यसको दीर्घकालीन समाधानका लागि सरोकार भएका निकायलाई आग्रह गर्दछौँ ।”