आइतबार ११ माघ, २०८२

नेपाली समय

रामपुर खाप सीमा नाका खुलाउन स्थानीयको अल्टिमेटम: ज्ञापनपत्र बुझाइयो, आन्दोलन र आमरण अनशनको घोषणा

रामपुर खाप सीमा नाका खुलाउन स्थानीयको अल्टिमेटम: ज्ञापनपत्र बुझाइयो, आन्दोलन र आमरण अनशनको घोषणा

रौतहट, १७ मङ्सिर । जिल्लाको परोहा नगरपालिका वडा नं ९ स्थित रामपुर खाप सीमा नाका लाई तत्काल सुचारु गर्न माग गर्दै स्थानीय जनप्रतिनिधि विभिन्न राजनीतिक दलका नेताहरू र सङ्घर्ष समितिका पदाधिकारीहरूले जिल्ला प्रशासन कार्यालय गौरका प्रतिनिधिहरूलाई ज्ञापनपत्र बुझाएका छन्। लामो समयदेखि बन्द रहेको उक्त नाकाका कारण सीमावर्ती क्षेत्रका बासिन्दाले दैनिक जीवनयापनमा भोग्नुपरेको असहजतालाई तत्काल सम्बोधन गर्न उनीहरूले प्रशासनसमक्ष जोडदार माग गरेका हुन्।

​​बुधबार सीमानाका खुलाउने अभियानमा जुटेका स्थानीयको टोलीले जिल्ला प्रशासन कार्यालय गौरका प्रतिनिधि गौर भन्सार कार्यालयका प्रतिनिधि र भन्सार सुरक्षा गुल्म गौरका डी.एस.पि. को संयुक्त टोलीलाई मागसहितको ज्ञापनपत्र बुझाएको हो।

​ज्ञापनपत्र बुझाउने टोलीमा पूर्व गाविस उपप्रधान जगत लाल यादव, पूर्व शिक्षक मो आफताब आलम, सङ्घर्ष समितिका अध्यक्ष तथा पूर्व शिक्षक हाजि शेख तजमुल हक, र वडा अध्यक्ष मो कपिल अन्जुम लगायतका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

​​स्थानीयहरूका अनुसार, रामपुर खाप सीमा नाका कोरोना महामारी आउनुभन्दा अघि लामो समयदेखि सञ्चालनमा थियो र यसले दुवै देशका सीमावर्ती जनतालाई सहज आवतजावतको सुविधा प्रदान गरेको थियो। कोरोनाकालमा स्थानीय प्रशासनले नाकामा रोक लगाएपछि अहिलेसम्म पनि यसलाई पुनः सुचारु गर्न जिल्ला प्रशासन कार्यालय गौरले आनाकानी गरिरहेको गुनासो सङ्घर्ष समितिका पदाधिकारीहरूले गरेका छन्।

​ नाका बन्द हुँदा सीमावर्ती गाउँका जनताहरूलाई विवाह उपचार तथा सामान्य घरायसी कामकाजका लागि भारत जान निकै समस्या भोग्नु परेको छ। भारतीय सशस्त्र प्रहरी बलको २० औँ बटालियन अनुसार बैद्नाथपुर रामपुर खाप नाका सुचारु भएको भए पनि नेपालतर्फबाट सहजीकरण हुन नसक्दा जनता मारमा परेको सङ्घर्ष समितिका एक सदस्यले बताए।

​​जनचाहना अनुसार खाप नाका पुनःसुचारु गर्न आवश्यक रहेको ठहर गर्दै सङ्घर्ष समितिले आगामी दिनहरूको लागि कडा आन्दोलनका कार्यक्रमहरू समेत तय गरेको छ।

​सङ्घर्ष समितिका अध्यक्ष श्री हाजि शेख तजमुल हक ले जानकारी दिएअनुसार तत्काल सम्बन्धित निकायले यस विषयमा चासो नदिए र नाका खुलाउन पहल नगरे निर्धारित मितिदेखि आमरण अनशन सुरु गरिनेछ।

​​यस विषयमा स्थानीयको आक्रोश चरम बिन्दुमा पुगेको देखिन्छ। ज्ञापनपत्रमा उल्लेख नभए पनि सङ्घर्ष समितिका अध्यक्ष हाजि तजमुल हकले तत्काल सरोकारवालाहरूले चासो नलिए आमरण अनशन बस्ने र त्यति गर्दा पनि नाका नखुले आत्मदाह गर्ने जस्तो कठोर कदम चाल्न बाध्य हुने धारणा राखेको जानकारी दिएका छन्। यसबाट स्थानीयको जनगुनासो र मागप्रति प्रशासनको बेवास्ताले कस्तो गम्भीर मोड लिएको छ भन्ने प्रस्ट हुन्छ।

​स्थानीय तह र सम्बन्धित प्रशासनसँग प्रभावकारी सहकार्य नभएको जनगुनासो व्यापक रूपमा आइरहेको र नाका खुल्दा दुवै तर्फका जनतालाई सहजता प्राप्त हुने अपेक्षा गरिएकोले यस विषयमा तत्कालै आवश्यक कदम चाल्न सङ्घर्ष समितिले जोड दिए।