रौतहट, ३० कात्तिक । जिल्लाको कटहरिया नगरपालिका १ मा एक विवाहित महिलाले तीन साना छोराहरूलाई छोडेर गाउँकै वडा सदस्यसँग फरार भएपछि स्थानीय राजनीति र सामाजिक वृत्तमा व्यापक चर्चा र गम्भीर विवाद उत्पन्न भएको छ। पाँच वर्षदेखि विदेशमा पसिना बगाएर परिवारको जीविकोपार्जन गरिरहेका पीडित श्रीमान् अहिले न्यायको खोजीमा आँसु झार्दै छन्।
करिब ३० वर्षीया सोसनिता देवी दास कटहरिया १ का कृष्णनन्दन दासकी पत्नी गाउँकै वडा सदस्य सतलाल दाससँग फरार भएको परिवारजनले गम्भीर आरोप लगाएका छन्। विदेशमा रहेका श्रीमानले पठाएको नगद करिब १२ लाख रुपैयाँ र लगभग ३ लाख रुपैयाँ बराबरका गरगहना समेत लिएर उनी भागेको दाबी गरिएको छ ।
यति मात्र होइन परिवारले सोसनिताकै नाममा रहेको पाँच कट्ठा जग्गा बैंकमा धितो राखेर समेत रकम निकालिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।
पीडित पक्षका अनुसार फरार भएपछि उनीहरूको खोजी भइरहेको थियो। पीडितकी आमा घुनिया देवी दासले स्थानीय केही गाउँलेहरूको सहयोगमा बारा–निजगढमा उनीहरू कोठा लिएर बसेको सूचना प्राप्त गरेपछि त्यहाँ पुगेकी थिइन्।
उनका अनुसार एकै कोठामा दुवै जनालाई फेला पारेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गरुडा हुँदै जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको जानकारी प्राप्त भएको छ।
घटनाले नयाँ मोड तब लियो जब कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जसवाल घटनास्थलमै उपस्थित भएर दिएको सुझावमा पीडित परिवार र स्थानीयहरू आक्रोशित बने।
मेयर जैसवालले उपस्थित भई सम्पत्तिको आधा हिस्सा महिला सोसनिता र बाँकी आधा तीनवटै छोरालाई दिने सुझाव राखेको जनाइए। परिवारले मेयरको यो सुझाव विवादित र अनुचित भन्दै चर्को विरोध गरेका छन्।
पीडित परिवारले मेयर जैसवालमाथि उल्टै फरार वडा सदस्य सतलाल दासलाई आफ्नो जमानतमा छोडाइदिएको समेत गम्भीर आरोप लगाएका छन्। मेयरको यो कार्यले न्यायको प्रक्रियामा बाधा पुगेको र पीडित पक्षलाई थप पीडा दिएको उनीहरूको भनाइ छ।
फरार सोसनिता देवी दासका तीन साना छोराहरू छन् कार्तिक दास सागर दास र कृताल दास जो अहिले बुबा विदेशमा भएको बेला आमाविहीन बनेका छन्।
यता उनीसँग भागेको आरोप लागेका वडा सदस्य सतलाल दास स्वयं विवाहित हुन् र उनका पनि दुई छोरा तथा दुई छोरी रहेको बताइन्छ। यस घटनाले दुवै परिवारमाथि सामाजिक र भावनात्मक सङ्कट थपिदिएको छ।
स्थानीयस्तरमा यो घटनाले सामाजिक नैतिकता र जनप्रतिनिधिको भूमिकालाई लिएर गम्भीर बहस सिर्जना गरेको हो । पीडित पक्षले सम्पत्ति फिर्ता र न्यायको माग गर्दै कानूनी प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ।