रौतहट, २७ भदौ । रौतहटको गरूडामा नेपाली काँग्रेसका नेता र कार्यकर्ताहरूले आज शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै संविधानको रक्षा र जनमतको सम्मानको माग गरेका छन्। प्रदर्शनकारीहरूले वर्तमान राजनीतिक परिस्थितिले संविधानमाथि सङ्कट निम्त्याएको भन्दै सरकार र संवैधानिक निकायहरूको भूमिकाप्रति प्रश्न उठाएका छन्।
प्रदर्शनका क्रममा ‘संविधानको रक्षा गर,’ ‘राष्ट्रपतिलाई सार्वजनिक गर,’ र ‘सैनिक शासन चाहिँदैन’ जस्ता नारा लगाइएको थियो। प्रदर्शनमा सयौँको सङ्ख्यामा नेता तथा कार्यकर्ता सहभागी थिए, जसले लोकतन्त्रको मर्ममाथि भइरहेको कुठाराघातको विरोध जनाएका हुन्।
सुनिलकुमार यादवले वर्तमान अवस्थाले संविधानमाथि गम्भीर सङ्कट आएको भन्दै युवाहरूको आवाजलाई समर्थन गर्न आफूहरू सडकमा उत्रिएको बताए। उनले भने, “संविधान बिथोल्ने प्रयास भइरहेको छ, त्यसका विरुद्ध हामी सडकमा छौँ। नेपाली जनताले आफूले चुनेको संविधान चाँडै गुमाउनु पर्ने परिस्थिति सृजना भएको छ, हामी त्यसलाई सशक्त रूपमा प्रतिवाद गर्छौं।” उनले आन्दोलनमा युवाहरूको नेतृत्व प्रशंसनीय रहेको उल्लेख गर्दै काँग्रेस सधैं संविधानको रक्षामा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी रमेश प्रसाद यादवले लोकतन्त्रमाथि भइरहेको अपारदर्शी खेल जनता र लोकतन्त्रको मर्मले स्वीकार नगर्ने बताए। उनले भने, “जनताका अधिकार र आवाजमाथि कुठाराघात गर्न खोजियो भने हामी चुप लाग्ने छैनौँ।”
प्रदर्शनम पूनम कुमारी चौधरी र पूर्व मेयर रामस्नेही यादव लगायतका दर्जनौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। विरोध कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको थियो।
राजनीतिक विश्लेषकहरूका अनुसार, यस किसिमको प्रदर्शनले स्थानीय तहदेखि केन्द्रसम्मका जनप्रतिनिधिहरू संविधान र जनताको पक्षमा एकजुट हुँदैछन् भन्ने सन्देश दिएको छ। यो आन्दोलनले लोकतन्त्र र संवैधानिक सर्वोच्चताका लागि जनस्तरबाट नै दबाब बढिरहेको देखाउँछ।