भोजपुर, २२ भदौ । पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा सोमवारबाट यू–१४ अन्तरबिद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा र भोजपुर जिल्ला फुटबल सङ्घको सहकार्यमा स्वर्गीय खेलाडीहरू अनुपम घलान, आदित्य बलम्पार्की, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आचार्य र साइमन योञ्जनको स्मृतिमा जिल्ला स्तरीय यू–१४ छात्र÷छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।
खेलका लागि विद्यालयहरूको तालिका समेत सार्वजनिक गरिएको छ । जसमा छात्र तर्फ क समूहमा समता स्कुल, जनसेवा आधारभूत विद्यालय, पञ्चकन्या मावि, चण्डेश्वरी मावि, आदर्श ज्ञानकुञ्ज एकेडेमी र सिद्धेश्वर मावि र समूह ख तर्फ यशोधरा मावि, भगवती मावि, सगरमाथा बोडिङ स्कुल, युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमी, सिद्धकाली बोडिङ स्कुल, विद्योदय मावि र भोजपुर एकेडेमी गरी १३ विद्यालयको सहभागिता रहने भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्षसुवालले जानकारी दिनुभयो । छात्रा तर्फ विद्योदय मावि, सिद्धकाली बोडिङ स्कुल र सगरमाथा बोडिङ स्कुल गरी तीन विद्यालयले सहभागिता जनाउने छ । प्रतियोगिता भदौ २३ देखि २८ गतेसम्मसञ्चालन हुने छ । आयोजकका अनुसार प्रतियोगितामा विजेता टिमले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन ।
विजेता र उपविजेता विद्यालयले क्रमशः नगद: २० हजार, १० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन ।