आमुख
२०७९ सालको निर्वाचनमा “नो नग एगेन”को नारा औधी चलाइयो । जसले जुनसुकै उद्देश्यले चलाएको वा जसको विरुद्ध चलाएको भए पनि चलाउनेहरूको एउटै आरोप थियो, पचासौँ वर्षदेखि एउटै नेतृत्व कति थेग्ने ? तर अभियान चलाउँदै गर्दा प्रत्यक्ष अनुभव के पाइन्थ्यो भने उनीहरूको ध्यान केपी र शेवदेको तुलनामा सयौँ गुना अधिक क. प्रचण्डको विरुद्धमा देखिन्थ्यो । सम्भव त निर्वाचन क्षेत्रकै मामलामा संशय पैदा गराइरहेका थिए । मानौँ प्रचण्ड हारेपछि सिङ्गै देशले विजय नै विजय पाउँछ । चौतर्फी विकासै विकास हुन्छ, चुट्कीको भरमा देश स्वर्ग बन्छ ।
३५–४० वर्षदेखि निरन्तर नेतृत्व गरेर पनि देश बनाउन नसकेको कारणले प्रचण्डले दोश्रो वा तेश्रो पुस्ताका नेताहरूलाई पार्टी सत्ता हस्तान्तरण गर्नु मनासिब सम्झन्छन् । मानौँ प्रचण्डको सामकालिक एमाले वा काँग्रेसका नेताहरू चाहिँ पूर्ण सफल वा चमत्कारिक मान्छन् । उनीहरूको नेतृत्वमा चौतर्फी सम्भावनै सम्भावना देख्छन् । उनीहरू लोकतन्त्र आएकै भर्खर १७–१८ वर्ष लाग्दैछ, ३६–३७ वर्षदेखि प्रचण्डले देशको नेतृत्व गरेर के ग¥यो भनी भ्रम छर्छन् । त्यसैले यस्ता अफवाहद्वारा नेपाली परिवर्तनकारी आन्दोलनमा पारेको भ्रम चिर्ने मनसुवा राखेर यो सानो प्रयास थालेको छु ।
प्रचण्ड प्रवृत्ति के हो ?
जनाधिकार रक्षाको मामलामा सामर्थ्यसालीहरूको अत्याचार सिधा र सोझा पल्टेर, शान्त र मौन बसेर, बुद्धत्व प्राप्त गर्दैमा चुसाहा लुटाहाहरूको मन नपग्लने र शोषण, अन्याय, अत्याचार नरोकिने मनसुवा राख्छन् प्रचण्ड । बीचार सिद्धान्त र राजनीति “परम्परादेखि चलेको चलन” भन्दै जमेको पोखरी जस्तो जमेर होइन, भेल जस्तै गड गडाएर बग्दा मात्र आफू र समाज भित्रको कचेरा निकालेर शुद्ध बनाउन सकिने मत राख्छन् । जसको प्रतिफल ४० वा ५० को दशकतिर दुनियाँभरी बाम आन्दोलनले धक्का खाँदै रक्षात्मक बन्दै गर्दा समेत देश काल परिवेश मुताबिक प्रतिकृयावादी फासिष्ट तानासाही विरुद्ध जेहाद छेड्ने शहास गरे ।
रुसी समाजवाद विसर्जित हुँदै गर्दा बर्लिनको पर्खाल ढल्दै गर्दा, पेरुमा गोञ्जालो जेल जाँदै गर्दा अन्य बामपन्थीहरू सबै विभिन्न कुतर्क गर्दै सुधारवादी मजेत्रो भित्र टाउको घुसार्न हिँड्दा नेपाली परिवेश अनुसारको नयाँ ढङ्गले गाउँले सहर घेर्ने “दीर्घकालीन जनयुद्ध” गर्ने आँगटरे । तसर्थ प्रचण्डको मूल प्रवृत्ति शोषण अन्याय अत्याचारको विरुद्ध सङ्घर्ष हो, राष्ट्रिय स्वाधीनता र सम्प्रभूता को निम्ति सङ्घर्ष हो, संवैधानिक र नागरिक सर्वोच्चताको निम्ति सङ्घर्ष हो । तर हरेक सङ्घर्ष र सहकार्यमा देश र जनताको हक हितको पक्षधरता लिनु प्रचण्डको दिनाचार्य बनेको छ ।
मुड्की मिसाउने कि हात ?
सामन्तवादको प्रतिस्थापन पूँजीवादले गर्दै पूँजीवाद पनि विकृत बन्दै साम्राज्यवादमा रूपान्तरण हुँदै गर्दा त्यही साम्राज्यवादी कोटरी भित्र बसेर गफ ठूला गर्ने तर काममा सिन्को नभाँच्ने कोठे कम्युनिष्टहरू सामन्तवादसँग जुम्ला हात पार्दै उनैको कोटरी भित्रको राखन धरनमा रमाउँदै गर्दा क. प्रचण्डले नयाँ व्यवस्थाको निम्ति नयाँ सङ्घर्ष गर्नुपर्ने बाध्यता देखाउनुभयो । सङ्घर्ष र सहकार्यलाई एकोहोरो एकाङ्गी प्रकारले निषेध गरेर होइन सहअस्तित्व स्वीकार्दै सहकार्य र सङ्घर्षलाई द्वन्द्वात्मक रूपमा परिभाषित गर्दै लक्षमा पुग्ने कला सिकाए । मित्र र सत्रूको सकारात्मक र नकारात्मकताको विश्लेषण गर्दै कुन इस्यूमा कोसँग हात मलाउँने कुन इस्यूमा कोसँग मुड्की मिसाउने ठोष वस्तुको ठोष विश्लेषण गर्दै देशलाई यहाँ पु¥याएका हुन् ।
उनी केवल दुश्मन भित्रको नकारात्मकताको उछिटोमात्र काढ्दैनन्, सकारात्मकता पहिचान र परिचालन गर्न पनि त्यत्तिकै सिपालु छन् । र आफै भित्रको नकार र सकार चिनेर निर्ममतापूर्वक सुद्धिकरण अभियान सञ्चालन गर्न पनि त्यत्तिकै सिपालु छन् ।. प्रचण्डले नेपाली राजनीतिमा सधैँ आफूलाई केन्द्रमा राखेर होइन देश र जनतालाई केन्द्रमा राखेर सोच्छन्, अरु व्यक्ति, गुट वा पार्टीलाई केन्द्रमा राखेर सोच्छन्, व्यवहार गर्छन् त्यसैले समाजले सधैँ प्रचण्डको नायकत्व देशले खोजिरहन्छ । उनी क्रान्ति भित्रको प्रतिक्रान्ति र प्रतिक्रान्तिको भित्रको क्रान्ति देख्ने विलक्षणताले नै प्रतिकारमा दीर्घकालीन (निरन्तर) क्रान्ति क. प्रचण्डले नेपाली राजनीतिमा दिन सकेका हुन् । भलै क्रान्तिको स्वरूप शान्तिपूर्ण वा अशान्तिपूर्ण समय सन्दर्भ र आवश्यकताले निर्धारण विषय मान्दछन् । समयले जे मागे पनि उनी दिन र बेहोर्न तयार भएर नै जनयुद्ध जस्तो महान् यात्रामा लागे ।
क्रान्तिमा इच्छाशक्तिले गर्छ कि: सिद्धान्तको रटनले ?
अन्य बाम नेताहरू संसारमा क्रान्तिकारीहरू हाबी हुँदा क्रान्तिकारीताको ढोंङ्ग गर्दथे भने प्रतिक्रान्ति हाबी हुँदा यो वा त्यो नाममा क्रान्ति विमुख हुनु, अवसरवाद र संशोधनवाद लागू गर्नुलाई वस्तुसापेक्ष क्रान्ति भन्दै आफूलाई चोख्याउँथे । तर क. प्रचण्ड नेपालको वस्तुसापेक्ष क्रान्तिको सूत्रपातको निम्ति नेपाली समाजको वर्गीय चरित्र, शोषण अन्याय अत्याचारको चापमा सामन्तवादी शोषणको भूमिका, देशलाई पराधीन बनाउन १९५० को सन्धी र त्यसको सारलाई अक्षरशः पालना गर्ने दरवारीया तत्त्व, त्यसकै आसेपासे नीति कार्यक्रम कनाउने काँग्रेस एमालेको नेतामण्डली, आदिको गहिरो अध्ययन गरे । उनले जति मात्रामा मार्क्स एङ्गेल्स पढे त्यो भन्दा धेरै देशको वास्तविक अवस्था पढे, जनता पढे जनजीवन पढे, यहाँको वर्ग वर्ग बर्गसंघर्ष पढे, र सामाजिक रूपान्तरणमा आफूmलाई समर्पित गरे ।
समकालीन नेताले नदेख्ने तथ्यहरू प्रचण्डले देख्ने अनेकौँ दृष्टान्त प्रस्तुत गर्न सकिन्छ । जस्तै क्रूर पाशविक तानाशाही पञ्चायत ढाल्न सकिन्छ भन्ने कल्पना नगरेका काँग्रेस र बाममार्चालाई नलागेकै कारणले २०४६ चैत्र २१ गतेको सम्झौते बहुदलीय पञ्चायत मान्ने सम्झौता गरेर फर्के । तर प्रचण्ड र डा. बाबुराम भटराईको नेतृत्वमा रहेको “संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा”लाई सो सम्झौता धोखा लाग्यो, देश र जनताको महान् अपेक्षामाथि विशाल विश्वासघात लाग्यो र “चैत्र २४ गतेको नेपाल बन्द” आयोजना गरे । तातो घाममा रातो जनसागरको सदुपयोग गरेर पञ्चायत ढलाएरै देखाए । राजतन्त्र ढाल्न सकिने कल्पना काँग्रेस एमाले दुवैको थिएन तर उनले ढलाएरै देखाइदिए । युद्ध र शान्ति दुवैको तिथि मिति, सङ्घर्ष र सहकार्य, संयुक्त मोर्चा र एकल सङ्घर्ष आदिको सही समय चयन र निर्णयले क्षमताले महत्त्वपूर्ण काम गरेको हुँदा उनको विश्लेषणको वैज्ञानिकता पुष्टि हुन्छ ।
क्रान्ति एकाध गन गन कि निकाश ?
विस्तृत शान्ति सम्झौता, सेना समायोजन र संविधान निर्माणका विविध अवयवहरूको ठोष-ठोष निर्णयहरू चानचुने निर्णय होइन । देशलाई समृद्ध र स्वाधीन बनाउन सकिने आत्मविश्वास कुनै राजनीतिक पार्टीहरूमा नभएको परिवेशमा समानुपातिक समावेशी, आरक्षण जस्ता अवधारणा ल्याए । समान सहभागिता र समान योगदानको अवधारणा ल्याएर सम्पूर्ण देशवासीलाई एक सूत्रमा बाँधेर सबैको योगदानलाई राष्ट्रिय योगदानको मान्यता दिए । देशलाई आवश्यक अवयवहरूको सिर्जनागर्न सकिने क. प्रचण्डले कल्पनालाई सार्थक कार्यान्वयन समेत गरे । त्यसैले क्रान्ति कोठे कम्युनिष्टहरूको बुद्धिविलासको निम्ति गरिने गन गन होइन, देश र जनताले भोग्दै गरेको विशाल समस्याहरूको वास्तविक निकास हो ।
आफ्नो लक्ष र उद्देश्य प्राप्तिको खातिर लड्दै गर्दा भारत अमेरीका लगायतको साम्राज्यवादी कित्ताले आतङ्ककारीको बिल्ला भिराउँदै टाउकाको मूल्य तोकेर रेडकर्नर नोटिस जारी गर्दा समेत डगमगाएनन् । तर स्वाधीन समृद्ध नेपाल निर्माणमा गफ बाहेक केही नगरेकाहरूले विदेशीसँग तर्सेर झुकेका आरोप लाउँदैछन् । समाजवादी, बामपन्थ, वा कम्युनिष्टको नाममा अरूले राजनीति गर्छन् तर क. प्रचण्ड राष्ट्रिउन्नतिको खातिर आफू र पार्टीलाई समर्पित गर्छन् । अरू परिवर्तनको कथा हाल्छन्, गुड्डी हाँक्छन्, तर्क वितर्क र बहस गर्छन्, तर उनी परिवर्तनको पाइला पछ्याउँदै राष्ट्रउन्नतिमा योगदान दिन्छन् । अन्य राजनीतिक नेताको निम्ति दर्शन र इतिहास एकान्तमा घोकिने सूत्रको पाठ र ऐतिहासिक कथा हो । तर उनको निम्ति ठोष वस्तुको ठोष विश्लेषण गर्ने अचुक हतियार हो । शोषण उत्पीडन र अन्याय अत्याचार बुझ्ने बुझाउँदै मुक्तिको लागि सङ्घर्षमा होम्ने सहज सरल माध्यम हो ।
त्यसैले
प्रचण्ड सरकारमा बस्दा होस् वा सरकारबाट बाहिर रहँदा नै किन नहोस्, उनको अभियान जनताको अधिकार रक्षामा केन्द्रित हुन्छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ जनतालाई जगाउने र जनाधिकार विरोधी तत्त्वको विरुद्ध जेहाद छेड्दै अधिकार रक्षाको खातिर अनेकौँ व्यक्तिगत त्याग र योगदान थपेका छन् । तर सत्ताको दुरुपयोग बाहेक क्यै नजानेका र क्यै नसोच्ने तप्काहरू प्रचण्डको सकारात्मक अभियानलाई उल्टो व्याख्या गर्छन् । उनलाई विश्वासको नजरबाट होइन अविश्वासको नजरबाट हेर्न युवाहरूलाई उल्क्याउँछन् । विविध संघर्षबाटा प्राप्त उपलब्धिलाई जोगाउँदै थप उपलब्धिको निम्ति सबैको योगदान थप्नुको बदला प्राप्त उपलब्धिलाई “समयले ल्याएको”, प्रचण्डले त केवल धोखा दिएको भनिटोपल्छन् । वास्तवमा प्रचण्ड जनाधिकार जोगाउन “सत्ता दाउमा राखेको” र अरूले सत्ताको लागि “जस्तोसुकै देश तथा जनघात गर्न पछि नपरेको” तथ्य भुसुक्कै भुल्छन् ।
जनाधिकारको विरुद्धमा उभिने शक्तिकेन्द्र र त्यसको वरपर चक्कर मार्ने हरेक बिचौलिया माफिया र तस्करहरूलाई थाहा छ, “प्रचण्ड परिवर्तनको बहाक भएकोले उनको भौतिक र राजनीतिक अस्तित्व कायम रहँदासम्म दलाल नोकरशाह तर तस्करहरूको लुट खसौटमा अवरोध आईरहन्थ्यो ।” यदि माफिया तस्कर र भ्रष्टहरूको अर्थराजनीतिक जीवन शान्तिपूर्वक धान्ने हो भने प्रचण्डको भौतिक वा राजनीतिक जीवनको विसर्जन अनिवार्य भएको बुझेका छन् । त्यसैले प्रचण्डको साना साना कमजोरीलाई भ्रष्टिकरण र राक्षसीकरण गर्ने राष्ट्रिय जीवनमा विशाल महत्त्व राख्ने हजारौँ प्रसङ्गलाई मिहिन फितलो बनाउन “समय आफै ल्याएको” भन्ने जस्ता पाखण्डी कुतर्क गरिटोपल्छन् ।
के प्रचण्डको विकल्प शून्य हो ?
क. प्रचण्ड र माओवादी आन्दोलन एकल जातीय नस्लवादी सामन्ती शासन र त्यसले निश्चित गरेको एकद्वार नीति विरुद्ध बहु जाति बहु संस्कृति बहु भाषा, बहुलतालाई प्रवर्द्धन गर्ने एक से एक सक्षम र योग्य नागरिकहरूको सङ्केन्द्रण हो माओवादी । त्यसैले विकल्प माओवादी भित्र खोज्ने होइन, माओवादी भित्र विकल्प नभएको प्रोपगण्डा गर्दै एकाध स्वार्थी नेता कार्यकर्ता को स्वार्थी नियतमाथि उकेरा लाउन खोज्ने बाम नाममा ठगी धन्दा चलाउँदै आएका रोहित, मोहनविक्रम लगायत अन्य पार्टीहरूमा खोज्न जरुरी देख्दैनन् । किनकि उनीहरूले सदासर्वदा देशी विदेशी शोषकवर्गीय सत्ताको संरक्षण गर्दै आए । जसले शोषक वर्गीय सत्तामाथि धमला बोल्छ, तिनको विरुद्ध सत्तो सराप गर्न मार्क्सवादका ठेली पल्टाउने कसरत गर्दैछन् ।
पञ्चायतको विकल्प खोज्न सक्ने नेता अरू पार्टीमा थियो कि थिएन ? बहुदलको विकल्प खोज्न सक्ने नेता अरू पार्टीमा थियो कि थिएन ? लोकतन्त्रमा आएका हजारौँ समस्याहरूको विकल्प दिँदै नयाँ नयाँ योजना ल्याउन सक्ने त्यसालाई सार्थक गति दिंन सक्ने नेता अन्य पार्टीमा थियो कि थिएन ? तर माओवादीसँग सबैको विकल्प दिन गक्षमुताविक दक्षता पस्कँदै देशलाई निकाश दिनसक्ने एक से एक नेता कार्यकर्ता छन् । देशको हरेक समस्या समाधान गर्ने राष्ट्रिय विकल्प दिनसक्ने पार्टी छ । त्यसैले त बेरुजुरहित पालिका खोज्दा माओवादी देखिन्छ ! सबैभन्दा विकास गरेको उत्कृष्ट पालिका खोज्दा २५ मध्ये ११ पालिका माओवादीको भेटिन्छ । यस्तो तथ्य लुकाउन दुश्मन भ्रम बेच्ने अनि भविष्य बोकेका भनिएका युवाहरू भ्रमित हुँदै माओवादीमा प्रचण्ड तानाशाह भएर युवाहरूलाई अवसर नदिएको तर्क गर्छन् ।
काम गर्ने कालु मकै खाने भालु
निशन्देह क. प्रचण्ड विकल्परहित होइनन्, सबैलाई थाहा थाहा छ । बालखको रक्षामा आमा भन्दा अर्को अब्बल हुन सक्दैन त्यसैले लोकतन्त्रका जन्मदाताको लालन पालनबाट जति लोकतन्त्र सुरक्षित हुन्छ, अरूबाट त्यति सहज हुँदैन । दोस्रो कुरा प्रचण्ड भएसम्म संसारसँग प्रतिस्पर्धा गर्नसक्ने योग्य र सक्षम शासक प्रशासक तथा उद्योगपति आदि उमार्न सक्छन् प्राधिकरण, आयल निगम, वायुसेवा निगम लगायत अन्य थुप्रै संस्थानहरू नाफामा पु¥याउनु, पञ्चायत बाँच्न मूर्तीसमेत बाँकी नराखेको, बहुदल बाँच्न हरेक कारखाना बेच्नुपरेको तर लोकतन्त्र आएपछि एउटै कारखाना बेच्न नपरेको पहिले बेचिसकेको मूर्तिहरू समेत फर्काउन सम्भव हुनुले लोकतन्त्र र प्रचण्डको राजनीतिक निखार देखिन्छ ।
त्यसैले प्रचण्ड हुँदा हजार कुलमान जन्माउन सकिन्छ, हजार विजय लामा र हजार महावीर पुन जन्माउन सकिन्छ, हजार जनार्दन तथा गगन थापाहरू जन्माउन सकिन्छ । हजारौँ योजनाकार तथा विज्ञ जन्माउन सकिन्छ । तर प्रचण्ड कमजोर हुनेवित्तिकै कुलमानले दुख पाएको, गगनहरू मुखमा चुकुल ठोक्न परेको, उपलब्ध विज्ञहरू आफ्नो विज्ञताप्रति गर्व होइन, हिनतावोध पाल्नुपरेको तथ्य बिर्सनु हुँदैन । खराब नेताहरूले देशको नेतृत्व गर्दा असल मान्छेहरूले पाएको दुःखको भारी केवल उनीहरूले मात्र भोग्ने होइन, त्यसको भारी आम नेपालीले भोग्नुपर्ने हुन्छ । त्यसैले जानी नजानी रमिताको निम्ति प्रचण्डलाई खराब नेताहरूकै दाँजोमा पु¥याउँदाको प्रतिफल आफू र सन्ततिले समेत भोग्नुपर्ने हुन्छ ।
आम प्रतिकृयावादी, अवसरवादीहरू प्रचण्डको निषेधिकरण चाहन्छन् । किनकि उनी वर्गीय प्रतिविद्धतामा सतिशाल जतिकै दह्रा छन् । प्रचण्डको स्थानमा जस्तोसुकै मान्छे आएमा स्वीकार्ने तर ‘प्रचण्ड अपच भएको’ सामाजिक अभिव्यक्ति दिन्छन् । किनकि प्रचण्डको ठाउँमा आएका मान्छेले थोरै मात्र प्रचण्डको आभाष आउन दिएमा निमेषभरमै हुत्याइदिने सामर्थ्य राख्छन् । किनकि ठूलो सामन्त भगाएपछि सानातिना सामन्त भगाउन सजिलो भएजस्तै ठूला प्रचण्ड हटाएर अस्तव्यस्त बनाएपछि साना साना प्रचण्डहरू त चुट्कीको भरमा भगाउने सामर्थ्य राख्दछन् । त्यसैले कसैको दान बकसको आशले बुट्टदार खाँबा वा टेकोको सपना देख्दै मजबुत घरको पिलर नफोड्नु ।
अपरिवर्तनीय नै हो त ?
बुझ्नुपर्ने महत्त्वपूर्ण विषय के भने .. क्रान्तिकारी र प्रतिक्रान्तिकारी राजनीतिको आधार एउटै होइन । त्यसैले नेतृत्वको आधारशिला पनि एउटै बन्न सक्दैन । प्रतिकृयावादीहरूको राजनीतिले शोषण अन्याय अत्याचार को पक्षपोषण गर्दै देश र जनविरोधहरूको बचाउमा लाग्ने भएकोले शोषित उत्पीडितहरूको पक्षमा लाग्नु क्रान्तिकारीहरूका दायित्व बन्न पुग्दछ । त्यसैले क्रान्तिकारीहरू विद्यमानताबाट देश र जनतालाई मुक्त गराउन आफ्ना अभिव्यक्ति तिखार्न रुचाउँछन् । अवसरवादीहरू दोधारे अर्थ लाग्ने तर्क गर्छन् । त्यस्तै प्रतिक्रान्तिकारीहरू विद्यमानताको विरुद्ध तर्क गर्नुलाई समाज विरोधी, धर्म विरोधी कतिपय अवस्थामा ऐन कानून विरोधी सम्म भन्न पुग्छन् । यसर्थ क्रान्तिकारी राजनीति गर्न केवल कला र योग्यता मात्र भएर पुग्दैन । उपर्युक्त सहास त्याग तपस्या र योगदानको लामो इतिहास समेतको बृहत् योगको खाँचो छ, जुन तुलनात्मक रूपमा प्रचण्डसँग प्रचुर मात्रामा पाइन्छ ।
बरिष्ठ नेताहरूको सामान्य कमजोरीलाई अपव्याखय गरी गरी अपराधी साबित गराउने, कनिष्ठ तथा सिद्धान्त राजनीतिमा कमजोर मनस्थितिमा रहेकालाई रणभुल्लमा पार्ने कार्य गर्दै आएका छन् । जसले साँचो भ्रष्ट तस्कर र माफिया जस्ता देशका दुश्मनको गलत मनसायमाथि मल जल लाउन खोज्ने पार्टी तथा शक्तिकेन्द्रको नियमित दिचार्य बन्दै आएको छ । त्यस्ता क्रान्तिको नाममा गफ गर्ने, शान्तिको नाममा गफै गर्ने, विकास निर्माण र सामाजिक अग्रगतिको पनि गफै गरी चित्त बुझाउने कोठे कम्युनिष्ठहरूको भ्रममा परेर पार्टी नीति, नेता र योजनाहरूको बदख्वाइँ गर्नु एक अर्थमा वर्ग, वर्गसंघर्षबाट पथबिचलित भएको मान्न सकिन्छ । चाहे त्यो वैद्य विप्लव बाबुराम होस् वा अन्य नेता कार्यकर्ताको कुरा नै किन नगरौँ ।
अन्तमा
प्रचण्ड सर्वकालिक सर्वव्यापी र अजम्मरी होइनन् । प्रचण्ड पद वा सत्ताबाट हट्नेवित्तिकै देश सकिने वा जनता सबै सकिने भन्ने अर्थमा होइन तर देश र जनताले प्रशस्त मात्रामा पीडाबोध चाहिँ गर्छ । प्रचण्ड वा माओवादी कमजोर हुनेवित्तिकै समानुपातिक समावेशीमा निहुँ खोज्न थालेको नविर्सौ । बहुविवाह, जातीय विभेद, तथा भूमि विधेयकमा माफिामुखी बनाउँदै राज्यदोहनको नयाँ ढोका खुलेको नबिर्सौँ । प्रचण्ड वा माओवादी कमजोर हुनेवित्तिकै कुलमान, महावीर, विजय लामा, लगायत अनेकौँ योग्य प्रशासकहरूले दुःख पाएको सम्झौँ । माओवादी वा प्रचण्ड कमजोर हुनेवित्तिकै माफिया, तस्कर पोस्ने अनेकौँ विधि विधानहरू बनाउँदै गएको देखौँ । माओवादी वा प्रचण्ड कमजोर हुनेवित्तिकै दलाल नोकरशाह र भारतीय विस्तारवादी नीति कार्यक्रमहरू क्रमशः हाबी हुँदै आएको चाल पाउँ ।
त्यसैले देशले खोजेको व्यक्तिको विकल्प व्यक्ति हो कि ? व्यक्तिलाई बहाना बनाएर व्यवस्था प्रति नै धावा बोल्न खोजेका हुन् ? सोचौँ सम्झौँ र आवेगले होइन विवेकले निर्णय लिउँ प्रचण्डको विकल्पमा कसैलाई विकल्पको रूपमा प्रस्तुत गर्दैमा यहाँका हरेक समस्या चुट्कीको भरमा छुमन्तर हुन्छ ? देशको वास्तविक समस्या प्रचण्ड हो कि यहाँको परम्परागत शोषकवर्गीय राजनीतिको बाँकी विकार हो ? यदि बाँकी विकारको असरले देश बिग्रेको हो भने प्रचण्डलाई साथ दिएर राजनीति सफा गर्ने कि प्रचण्डलाई सिद्ध्याएर राजनीतिक कसिंगरको अद्यावधिक बाँकी राखेर आफ्नो र आफ्नो सन्ततिको भविष्य समेत अन्धकारमा धकेल्ने ? फैसला यहाँहरूकै ।
यस्तो अल्पकालीन वा दीर्घकालीन नीति कार्यक्रममार्फत देशले कति समय दुर्दशा भोग्नुपर्ने हो, त्यसको कुनै टुङ्गो छैन । के त्यस्ता देश र जनविरोधी नीति कार्यक्रम योजनाहरू समय आफै हटाउँछ कि प्रचण्ड जस्तो नेता दैवको लीला पूरा गराउन चुट्कीको भरमा जन्मन्छ ? त्यसैले प्रचण्डलाई अन्ध समर्थन वा अन्ध भक्ति होइन, सकारात्मक आलोचनासहित उनलाई साथ र सहयोग गरौँ । प्रचण्डले गर्न बाँकी कार्य पूरा गराउन चौतर्फी साथ र सहयोग गरौँ । देशको भाग्य विधाता पशुपति होइन नेपाली जनता हुन् उनीहरूको भाग्य चम्काउन पशुपतिनाथको होइन प्रचण्डको सकारात्मक कार्यलाई फलाउने फुलाउने प्रयत्नमा हामी सबै लागौँ ।
धन्यवाद
२०८२–०५–२०
- श्रीराम खाईजु
(भक्तपुर)
(प्रकाशित लेख: लेखकको निजी विचार हो। )