सोमबार २५ जेठ, २०८३

नेपाली समय

फोनमा धम्की दिने युवतीप्रति खानेपानी मन्त्री यादवको महानता : आफैलाई ज्यान मार्ने धम्की दिने युवतीलाई हिरासत मुक्त गर्न प्रहरीलाई निर्देशन

फोनमा धम्की दिने युवतीप्रति खानेपानी मन्त्री यादवको महानता : आफैलाई ज्यान मार्ने धम्की दिने युवतीलाई हिरासत मुक्त गर्न प्रहरीलाई निर्देशन

(वीरगंज सम्वाददाता)

पर्सा (बीरगंज), १९ भदौ । केही दिनदेखि चर्चामा रहेको सङ्घीय खानेपानी मन्त्री प्रदीप यादव र टिकटक कलाकार किरण साहबीचको फोनसम्बन्धी विवाद अन्ततः सकारात्मक निष्कर्ष तर्फ उन्मुख भएको देखिन्छ।

सङ्घीय सरकारका खानेपानी मन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आज सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै, आफूलाई फोनमार्फत ज्यान मार्ने धम्की दिने युवती किरण साहलाई हिरासतबाट मुक्त गराउन प्रहरीलाई निर्देशन दिएका छन्। उनले युवतीलाई पुनः भविष्यमा यस्तो अप्रिय सोच वा हिंसात्मक अभिव्यक्ति नदोहोर्‍याउन सुझाव दिँदै, “लोकतन्त्रमा प्रश्न गर्न, गुनासो पोख्न जनतालाई पूर्ण अधिकार छ तर अराजकता फैलाउने वा हिंसाको भाषा प्रयोग गर्ने छुट कसैलाई छैन” भन्ने सन्देश प्रष्ट पारे।

मन्त्री यादवले आफ्नो राजनीतिक जीवन सदैव जनताको पीरमर्का बुझ्न, असन्तुष्टि सम्बोधन गर्न र समस्या समाधानमा क्रियाशील हुने अभिवृत्ति रहेको बताए। उनले भने-“वीरगञ्ज मेरो जन्मथलो मात्र होइन, राजनीतिक सङ्घर्ष र जनताको विश्वासको आधारभूमि पनि हो। खानेपानीको गम्भीर सङ्कटदेखि स्वास्थ्य आपत्कालसम्म जनताको घरआँगनमा पुगेर समस्या बुझ्ने र समाधान गर्न खटिँदै आएको छु। जनताका प्रश्नलाई सहर्ष स्वीकार्नु मेरो धर्म हो।”

गत हप्तामा आएको अज्ञात फोन कललाई उनले सामान्य नागरिकको पीडा पोख्ने प्रयास ठाने पनि त्यसमा धम्कीपूर्ण अभिव्यक्ति प्रयोग भएपछि उनले प्रहरीलाई जानकारी गराएका थिए। अनुसन्धानको क्रममा ती महिलाले सम्पादित अडियो सार्वजनिक गराएको र पछि वास्तविक अडियो बाहिरिएपछि सत्यतथ्य स्पष्ट भएको उनले जनाए।

मन्त्री यादवले भने-“कानुनभन्दा माथि कोही हुँदैन। अनुसन्धान प्रक्रिया निष्पक्ष हुन्छ भन्नेमा मेरो पूर्ण विश्वास छ। तर समाजमा कसैलाई बाटो बिराउनबाट जोगाउनु पनि हाम्रो जिम्मेवारी हो। त्यसैले फोनकर्तालाई सच्चिन मौका दिनुपर्छ भन्ने सोचका साथ सचिवालयमार्फत प्रहरीलाई नरम दृष्टिकोण अपनाउन आग्रह गरेको हुँ।”उनले लोकतन्त्रलाई गुनासो पोख्ने संस्कृतिसँग जोड्दै भने-“समस्या प्रश्न गर्नुमा कदापि दोष छैन। तर हिंसाको भावना व्यक्त गर्दा स्थिति विकृत हुन्छ। त्यसैले जनतालाई सचेत गराउने, सकारात्मक बाटो देखाउने हाम्रो कर्तव्य हो।”

यस घटनाले खानेपानी मन्त्री यादवको मानवीय पक्ष मात्र उजागर गरेको छैन, लोकतान्त्रिक मूल्यप्रतिको आस्था र जनताप्रतिको संवेदनशीलता पनि प्रष्ट पारेको हो ।