शुक्रबार ०१ साउन, २०८३

नेपाली समय

मेयर हैकमवादी भएको आरोप; कार्यालयमा १२ दिनदेखि ताल्चा, सेवाग्राही मारमा

मेयर हैकमवादी भएको आरोप; कार्यालयमा १२ दिनदेखि ताल्चा, सेवाग्राही मारमा

रौतहट, २६ साउन । जिल्लाको वृन्दावन नगरपालिका वडा नं २ बिश्रामपुरको वडा कार्यालयमा लगातार १२ दिनदेखि ताल्चा लागेको छ। सेवाग्राहीहरू सामाजिक सुरक्षा भत्ता, जेष्ठ नागरिक, एकल महिला, बालपोषण, अपांग भत्ता, रोगी परिचयपत्र नवीकरणदेखि नागरिकता सिफारिस सम्मका कामका लागि आउँदा पनि निराश भएर फर्किनु परेको हो ।

वडाध्यक्ष सिकेन्द्र प्रसाद कुर्मीका अनुसार मेयर विनोद प्रसाद कुर्मी र प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलको हैकमवादी सोच र कर्मचारीको तलब रोकिँदा कार्यालयमा कामकाज पूर्ण रूपमा ठप्प भएको हो। फोन, भेटघाट र लिखित अनुरोधसम्म गरेर कार्यालय खोल्न आग्रह गरेँ, तर समस्या समाधानमा मेयरको कुनै चासो देखिएन, वडाध्यक्षले बताए ।

नेपालमा तीन तहको सरकार चलेको अवस्थामै तानाशाही शासन समाप्त भइसके पनि वृन्दावन नपामा मेयर कुर्मीले आफूलाई ‘हिटलर शैलीमा प्रस्तुत गर्दै विगत तीन वर्षदेखि पालिका कार्यालयलाई आफ्नो गाउँ हर्साहा चौकमा अस्थायी रूपमा लाखौँलाखको महिना घर भाडा मिलोमतोमा तिरेर सञ्चालन गर्दै आएको आरोप छ।विकासका हिसाबले पालिकामा २० प्रतिशतभन्दा बढी काम हुन नसकेको वडाध्यक्ष कुर्मीको दाबी छ। उनका अनुसार मेयरले आफन्तलाई करारमा नियुक्त गरी घरमै बस्दै तलब खाने व्यवस्था मिलाएका छन्, र ती करार कर्मचारीहरूले पालिकाविरुद्ध बोल्ने स्थानीयलाई सामाजिक सञ्जालमा अपशब्ददेखि कुटपिटसम्म गर्ने गरेको आरोप छ।

वडाध्यक्षले मेयरमाथि बागमती नदीबाट सालोको छोरा मार्फत बालुवा, गिट्टी, ढुङ्गा निकासीको ठेक्का दिएको, पालिकाको नाममा चन्द्रनिगाहपुरमा क्वार्टर खोलेर रक्सी पार्टी गर्ने, तथा दिनभरि प्रतिपक्षी तथा जनतालाई विभाजन गर्ने रणनीति बनाउने जस्ता गम्भीर आरोप लगाएका छन्। क्यान्सर, मुटु लगायत गम्भीर रोगीले पाउनुपर्ने उपचार खर्च महिनौंसम्म धाउनुपर्ने अवस्था छ भने, उज्यालो बनाउने नाममा करोडौंको बत्ती जडान भए पनि अधिकांश स्थान अझै अन्धकारमै रहेको जनाइएको छ। किसानले पाउनु पर्ने अनुदान र सुविधा पनि रोकिएका छन्। साँच्चिकै जनताको मेयर हो भने कार्यालयमै बसेर देखाउनुस्’

मेयरलाई सार्वजनिक चुनौती दिँदै वडाध्यक्ष कुर्मीले भने, हिम्मत छ भने बिश्रामपुरको कार्यालयमै बसेर काम गरेर देखाउनुस्, पालिका तपाईंको निजी सम्पत्ति होइन। यस विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गौरलाई समेत समस्या समाधानका लागि अनुरोध गरिएको भए पनि अहिलेसम्म कुनै निकायबाट पहल नभएको वडाध्यक्षको गुनासो छ।