शुक्रबार ०१ फागुन, २०८२

नेपाली समय

अनलाइन विवाह गरेर नेपाल आएकी बङ्गलादेशी युवती अलपत्रमा

अनलाइन विवाह गरेर नेपाल आएकी बङ्गलादेशी युवती अलपत्रमा

रौतहट, २५ साउन ।  बङ्गलादेशको रगपुर जिल्लास्थित मोकिमपुर मिठापुकार गोपालपुरकी २६ वर्षीया लाबोनी बेगम हाल रौतहटमा अलपत्र परेकी छिन् । सामाजिक सञ्जाल मार्फत तीन वर्षसम्म प्रेम सम्बन्धमा रहेकी उनले जिल्लाकी गौर नगरपालिका ६ सबगढाका शेष महताब आलमसँग अनलाइन विवाह गरेर नेपाल आएकी थिइन्। तर विवाहको दुई सातामै घरबाट निकालिएको उनको आरोप रहेको छ ।

लाबोनीको भनाई अनुसार, टिकटक, फेसबुक र ईमोमार्फत आलमसँग चिनजान भएको थियो । करिब तीन वर्षको प्रेम सम्बन्ध पछि दुवैले बङ्गलादेशको गाजीपुर अदालतमा ‘कोर्ट म्यारिज’ गरेका थिए। आलम त्यतिबेला कुवेतमा रोजगारीमा थिए। लाबोनी जेठ २८ गते नेपाल आएकी थिइन्। आलम जेठ २४ गते मात्र कुवेतबाट फर्किएका थिए। विवाहपछि श्रीमानको घरमा बसेकी लाबोनीलाई असार १६ गते, अर्थात् दुई सातामै, घरबाट निकालिएको लाबोनीको भनाई छ।

निकालिएपछि लाबोनी बंगलादेश फर्किइन्। तर साउन १५ गते श्रीमानकै बोलावटमा पुनः नेपाल आइन्। यो पटक पनि आलम परिवारले उनलाई घरमा बस्न नदिएको उनले गुनासो गरेकी छिन्। अहिले उनी छिमेकी नजरा खातुनको घरमा आश्रय लिएर बसिरहेकी बताइन्। लाबोनीका अनुसार, साउन १५ गतेदेखि आलमको घरमा ताला लगाइएको छ र परिवारका सदस्य तथा श्रीमान् दुवै सम्पर्क विहीन छन्।

लाबोनीले जिल्ला प्रहरी कार्यालय रौतहटसहित निकायमा न्यायका लागि गुहार मागेकी छिन्। तर, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक रायका अनुसार उनी स्वेच्छाले नेपाल आएकी भएकाले कानूनीरूपमा अन्याय भएको मानिँदैन।

गौर नगरपालिका ६ का वडाध्यक्ष अवध बिहारीप्रसादले भने,  ‘जुन देशकी महिला भए पनि कानूनी रूपमा विवाह गरेर घर आएकी छिन् भने उनलाई वैवाहिक अधिकार दिनुपर्छ।’