रौतहट, २० साउन । अविरल वर्षाका कारण बागमती नदीमा पानीको सतह निरन्तर बढ्दै गएको छ । यसैक्रममा जिल्लाको माधवनारायण नगरपालिका वडा नं. ९ गढोघाट स्थित बागमती नदी किनारमा रहेको बाँधमा कटान सुरु भएको खबर प्राप्त भएपछि नगर प्रमुख बैजनाथ प्रसाद यादव तत्काल घटनास्थल पुगेका छन् ।
नगर प्रमुख यादवले बाँध निरीक्षण गर्दै तत्काल रोकथाम तथा नियन्त्रणको लागि आवश्यक निर्देशन दिएका थिए । उनको पहलमा तत्काल बोरा र जाली प्रयोग गरी तटबन्ध निर्माणको कार्य सुरु गरिएको हो । स्थानीय बासिन्दाहरू र सुरक्षाकर्मीहरूको सहयोगमा कटान रोक्ने कार्य तीव्र गतिमा अघि बढाइएको हो । नगर प्रमुख यादवले जोखिम न्यूनीकरणका लागि निरन्तर निगरानी र थप सुरक्षात्मक उपायहरू अवलम्बन गरिने प्रतिबद्धता जनाए ।
स्थानीय बासिन्दाहरूले नगर प्रमुखको सक्रियता र शीघ्र हस्तक्षेपप्रति धन्यवाद व्यक्त गरेका छन् । नदी कटानले अझ क्षति पुर्याउनु नपरोस् भनी सम्पूर्ण निकाय सतर्क रहेको बताइएको हो ।