बुधबार ३० बैशाख, २०८३

नेपाली समय

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र भोजपुरले बृहत् रक्तदान कार्यक्रम गर्दै

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र भोजपुरले बृहत् रक्तदान कार्यक्रम गर्दै

भोजपुर, १९ साउन । ‘रक्तदान जीवन दान’ भन्ने मर्मलाई आत्मसाथ गर्दे भोजपुरमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ब्रह्मकुमारी राजयोग केन्द्र भोजपुरको आयोजनामा जिल्ला सदरमुकाममा आगामी भाद्र ६ गते बृहत् रक्तदान कार्यक्रम गर्न लागिएको हो । 

राजयोग सेवा केन्द्रमा आयोजित छलफलमा जिल्ला अस्पतालमा रक्तदान गर्ने र त्यसका लागि जिल्लामा रहेका व्यक्ति तथा सङ्घसंस्थाहरू पनि समन्वय गर्ने निर्णय गरिएको छ । राजयोग सेवा केन्द्रले समस्यामा परेका तथा रगत अभावमा ज्यान जोखिममा परेका बिरामीहरूलाई ध्यान दिएर रक्तदान कार्यक्रम गर्ने तयारी गरेको चाँदनी दिदीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “रक्तदान भन्नाले कुनै मानिसले स्वेच्छाले आफ्नो रगत दान गर्नुलाई हो, आफूले गरेको रक्तदानले अरूको जीवन बच्ने हुनाले यो सेवा साथै पुण्यको कार्य हो ।” यस कार्यमा सहभागी हुन म सबैलाई आग्रह गर्दछु । विभिन्न मानव सेवाको कार्य समेत गर्दै आएको राजयोग सेवा केन्द्रले भोजपुरमा सामाजिक कार्यहरूमा पनि सहभागी हुँदै आई रहेको छ । नेपाल रेडक्रमस सोसाइटी भोजपुरमा मार्फत जिल्ला अस्पतालमा सञ्चालित रक्तसञ्चार श्रोत केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना हुने छ । एक सय बढीले रक्तदान गर्ने गरी आवश्यक तयारी थालिएको हो । नेपाल रेडक्रस सोसाइटी भोजपुरका सभापति तुलबहादुर सुब्बाले रगत अभाव हुने जिल्ला भोजपुरमा रक्त सञ्चार श्रोत केन्द्र सञ्चालन आएसँगै रक्तदान गर्नेहरूको पनि सङ्ख्या बढेको र यसले सिकिस्त बिरामीहरूको ज्यान जोगाउन मद्दत गर्दै आएको बताउनुभयो । 

रक्तदान कार्यक्रमका विषयमा आयोजित छलफलमा सहभागी उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार, शिक्षक, स्थानीय सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।