रौतहट, २६ असार । जिल्लाको यमुनामाई गाउँपालिका ४ सरुअठा देखी पूर्वतर्फ गंगापिपरा जाने सडकखण्डमा रहेको झांझ नदीको पुलमा बिहीबार बिहान ८ बजे एक अपरिचित व्यक्ति पुरुषको शव फेला परेको छ।
स्थानीयवासीका अनुसार शव घोप्टो अवस्थामा पुलको पिलर नजिक अड्किएको देखिएपछि बिहान जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइएको थियो। प्रारम्भिक अनुमान अनुसार बागमती नदीमा आएको बाढीको कारण शव बगिँदै झांझ नदीको पुलसम्म आइपुगेको हुन सक्ने सम्भावना प्रहरीले जनाएको हो । घटनास्थलमा बडहर्वा प्रहरी, सशस्त्र प्रहरी फतुवा सशस्त्र प्रहरी फुलवरीरयाका समेत टोली पुगेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको हो। मृतकको पहिचान अझै खुल्न सकेको छैन। शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको हो ।
इलाका प्रहरी कार्यालयका एक अधिकृतले भने, “शवको अवस्था हेर्दा केही दिन अघिको जस्तो देखिन्छ। प्रारम्भिक रूपमा हत्या वा दुर्घटना भन्ने निश्चित भइसकेको छैन, अनुसन्धानपछि मात्र यकिन गर्न सकिन्छ।”
स्थानीयहरू यस घटनाले त्रसित बनेका छन् भने केहीले शव अन्यत्रबाट बगिएर आएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।