शुक्रबार ०४ बैशाख, २०८३

नेपाली समय

अन्तर्वार्ता : 'धुलिखेलमा पार्टीलाई दिशाबोध गर्ने स्तरमा छलफल गर्छौं' - किरण

अन्तर्वार्ता : 'धुलिखेलमा पार्टीलाई दिशाबोध गर्ने स्तरमा छलफल गर्छौं' - किरण

काठमाडौँ, २६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रशिक्षण विभागले ४० वर्ष मुनिका केन्द्रीय सदस्यहरूलाई श्रावण १ र २ गते धुलिखेलमा पार्टी सुदृढीकरण, भावी रणनीति र युवापुस्ताको भूमिकालाई लिएर विशेष अन्तरक्रिया तथा छलफलका लागि आमन्त्रण गरेको छ। यसै सन्दर्भमा राप्रपाका युवा तथा उदीयमान केन्द्रीय सदस्य रवि किरण हमालसँग गोठालो खबरले गरेको विस्तृत अन्तर्वार्ता:

तपाईँ धुलिखेलमा आयोजना गरिएको युवापुस्ताको यो विशेष छलफलमा सहभागी हुँदै हुनुहुन्छ, कस्तो अपेक्षा र योजना छ?

राप्रपाको प्रशिक्षण विभाग एउटा ऐतिहासिक कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रम केवल उपस्थितिको औपचारिकता होइन, यो विचारको पुनर्जागरण हो। हामी गम्भीर समीक्षा गर्दैछौँ पार्टीको वर्तमान स्थिति, सङ्गठनात्मक कमजोरी, र समग्र राजनीतिक परिवेशलाई गहिरिएर विश्लेषण गर्छौं। हामी एक्काइसौँ शताब्दीको प्रविधिलाई उपयोग गरेर, हाम्रो विचारधारा र राजनीतिक दृष्टिकोणलाई कसरी जनस्तरमा मजबुत रूपमा स्थापित गर्ने भन्ने विषयमा गम्भीर छलफल गर्दैछौं।

हामी डिजिटल माध्यम, कृत्रिम बौद्धिकता (AI), सामाजिक सञ्जाल जस्ता प्लेटफर्महरूको प्रयोगमार्फत राजनीतिलाई जनताको स्क्रिनमा पुर्‍याउने योजना बनाउँदैछौं। नारा हैन, अब अर्थपूर्ण परिवर्तन चाहिएको छ।

छलफलका मूल एजेन्डाहरू के–के छन्?

धेरै गहन विषयवस्तुहरू छन्। हामी विशेषतः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पद्धति, बलियो दुई तहको मात्र सरकार (केन्द्र र स्थानीय वा केन्द्र र प्रदेश), र राज्यका स्थायी संरचनाहरू —जसमा विश्वविद्यालयहरू, कर्मचारी प्रशासन, न्यायपालिका, कूटनीतिक संस्था र सुरक्षा निकायहरू— को संरचनागत रूपान्तरण कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित भएर छलफल गरिरहेका छौँ।

यी परिवर्तनहरू केवल सिद्धान्तमा सीमित राखेर हुँदैन, त्यसलाई जनस्तरमा पसिनाको, अर्थात् आम नागरिकसम्म सशक्त र स्पष्ट ढङ्गले पुर्‍याउने रणनीति बनाउनु आजको अनिवार्य आवश्यकता हो। हामी यही ध्येयसहित यहाँ छलफल गर्दैछौं।

राप्रपाको युवापुस्ताको भूमिका तपाईँलाई कस्तो देखिन्छ?

कुनै समय थियो राप्रपा भनेको बुढाहरूको पार्टी हो, पन्चेहरूको पार्टी हो त्यो बदलिएको छ। अघिल्लो महाधिवेशनबाटै राजेन्द्र लिङ्देललाई अध्यक्ष पदमा निर्वाचित गरिसकेपछि हाम्रो पार्टीमा मात्र होइन नेपाली राजनीतिमै पुस्तान्तरण जबरजस्त हुने सङ्केत देखिएको छ। 

राप्रपाको युवा पुस्ता केवल सहायक शक्ति मात्र रहेन, निर्णायक शक्ति बन्दैछ। विगतमा पार्टीको नीति र निर्णयमा युवाहरूको आवाज सीमित थियो, तर अब हामी विचार निर्माण, नीति विश्लेषण, र सञ्चारको मोर्चामा अग्रणी बन्न थालेका छौँ। हामी अब केवल नारा दोहोर्‍याउने हैनौँ, राजनीतिक अवधारणालाई समयानुकूल ढङ्गले पुनर्निर्माण गर्ने शक्ति बनिरहेका छौँ। हाम्रो उपस्थितिले राप्रपामा वैचारिक ताजगी ल्याएको छ।

सामाजिक सञ्जालको प्रयोगले तपाईँको राजनीतिक यात्रामा कस्तो भूमिका खेलेको छ?

सामाजिक सञ्जाल अब विचारको युद्धभूमि हो। यो केवल प्रचारको माध्यम हैन, नयाँ पुस्तासँग संवाद र साक्षरता विस्तारको शक्तिशाली औजार हो। मैले फेसबुक, ट्विटर, युट्युबजस्ता माध्यमबाट सिधा जनतासँग संवाद गर्ने प्रयास गरिरहेको छु। हामी चाहन्छौं— हाम्रो विचार, चेतावनी, र देशप्रेमको भाव फेसबुकको पोस्ट र युट्युबको भिडियोमार्फत टोलटोल पुगून्। अब राजनीति केवल सभामञ्चमा होइन, मोबाइलको स्क्रिनमा प्रतिस्पर्धा हुँदैछ।

पार्टीको विचारधारागत दृष्टिकोणमा युवा पुस्ताले कस्तो दृष्टिकोण ल्याएको छ?

सैद्धान्तिक रूपमा हामी संवर्द्धनवादी हौँ , जसले परिवर्तन क्रमिक रूपमा हुनुपर्छ भन्छ तर देशको आवश्यकता अर्कै छ। तीव्र अर्थ राजनीतिक परिवर्तनको अपरिहार्यता महसुस भइरहेको छ। हामीले Right of Centre शक्ति भनेका छौँ , अहिले त्योभन्दा परै जानुपर्ने जस्तो परिस्थिति आएको हो कि भन्ने विषयमा छलफल गर्छौं।

सनातन संस्कृति, हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र राप्रपाको आत्मा हो, त्यो देशकै हातमा बनोस् भन्ने हाम्रो चाहना छ। तर आजको पुस्ताले यो आत्मालाई नयाँ भाषामा, नयाँ माध्यममा, नयाँ शैलीमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ। हामी बुझ्छौं, अबको लडाइँ भावनात्मक उत्थान मात्र होइन, तर्क, तथ्य र प्रविधिमा आधारित शुद्ध वैचारिक प्रतिस्पर्धा हो। यही कुरा हामीले पार्टीलाई बुझाउँदैछौं।

अहिले देशमा भ्रष्टाचार, अकर्मण्यता, र आत्मसमर्पित कूटनीतिक अवस्था देखिएको छ। तपाईँको मूल्याङ्कन?

देश असमर्थ नेतृत्वको बन्दी बनेको छ। शासन सत्ता आफैमा भ्रष्टाचारको गढ भएको छ। संवैधानिक निकायहरू निष्क्रिय छन्, जनताको भरोसा मरेको छ। यस्तो अवस्थामा हामी युवा पुस्ताले अब चुप लागेर बस्ने समय सकिएको छ।

हामी गम्भीर रूपमा भनिरहेका छौँ— यदि राष्ट्रको मार्ग परिवर्तन गरिएन भने, नेपाल बङ्गलादेश र श्रीलंकाको पछिल्लो सङ्कटभन्दा अझ गम्भीर राजनीतिक–आर्थिक अराजकतामा फस्न सक्छ। त्यसैले हामीले धुलिखेलमा हुने छलफललाई नीतिगत विद्रोहको सुरुवात मानिरहेका छौँ। 

आगामी निर्वाचन र साङ्गठनिक सुदृढीकरणको दृष्टिमा तपाईँहरूको तयारी कस्तो छ?

निर्वाचन अब केवल उम्मेदवारको छनोट मात्र होइन, विचारको प्रतिस्पर्धा हुनुपर्छ। पार्टीले युवा अनुहारहरू, स्वच्छ छविका व्यक्तित्वहरू, र वैचारिक स्पष्टता भएका नेतालाई अगाडि ल्याउने रणनीति बनाउनु पर्छ।

सङ्गठनभित्र पनि हामीले तल्लो तहसम्म आत्म–समीक्षा र जिम्मेवारी निर्धारण गर्ने अभ्यास थाल्नु पर्छ। अन्यथा, जनताको आँधीले नेतृत्वको मुहान नै बगाइदिने खतरा उत्पन्न हुन सक्छ भन्ने तर्फ पनि हामी सचेत भएर छलफल गर्छौं। 

अन्त्यमा, देशका युवालाई के भन्न चाहनुहुन्छ?

राजनीति अब केवल राजनैतिक दलको काम मात्र होइन। यो हरेक युवाको कर्तव्य हो। हामीले हाम्रो पुस्तालाई इतिहासकै गम्भीर मोडमा पाएका छौँ। यो मौनताको समय होइन।

अब बोल्नुपर्छ, उठ्नुपर्छ र बदल्नुपर्छ। राष्ट्रको रक्षा केवल सीमामा होइन— नीति, शिक्षा, सञ्चार र प्रविधिको क्षेत्रमा पनि लड्नुपर्छ। म सबैलाई आह्वान गर्छु— आफ्नो आवाज जनताको आवाज बनाउनुहोस्, आफ्ना सपनालाई राष्ट्रको दिशा बनाउनुहोस्। परिस्थिति बिग्रिँदै जाने र  सुधारको सङ्केत नदेखिने हो भने हालसालै बुर्किना फासोमा जसरी ४० वर्ष मुनिका युवाले शासन सत्ता हातमा लिएर देशलाई सङ्कटबाट पार लाउने दुःसाहस गरेका छन् हामी त्यसको लागि पनि तयार हुनुपर्छ ।