भोजपुर, २५ असार । केही समय अगाडी प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोजपुरको नतिजा विश्लेषण गरिएको छ । जसमा चार विद्यालयको नतिजा शून्य देखिएको छ भने चार सामुदायिक र चार संस्थागत विद्यालयले सत प्रतिशत नतिजा ल्याएका छन ।

शिक्षा विकास तथा समन्वय इकाई भोजपुरका प्रमुख राम प्रसाद अधिकारीका अनुसार परीक्षामा सामुदायिक तर्फका ७० विद्यालयका दुई हजार आठ र संस्थागत पाँच विद्यालयका ९० जना गरी कुल दुई हजार ९८ जना विद्यार्थीहरू परीक्षामा सामेल भएका थिए । जसमा सात सय ४७ जना सफल भएका थिए भने एक हजार तीन सय ५२ जना नन ग्रेडेड भएका छन । नतिजा अनुसार कुल परीक्षार्थी मध्ये ३५ दशमलव छ प्रतिशत सफल भए भने ६४ दशमलव चार प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन ।

परीक्षामा साधारण धारतर्फ एक हजार सात सय ७९ र प्राविधिक धारतर्फ एक सय १९ जना परीक्षार्थी सामेल भए । इकाई प्रमुख अधिकारीले दिनु भएको जानकारी अनुसार भोजपुर नगरपालिकाको सिंहदेवी मावि, रामप्रसाद राई गाउँपालिकाको कटुञ्जे मावि, आमचोक गाउँपालिकाको चण्डेश्वरमा मावि र टेम्केमैयुङ गाउँपालिकाको पशुपति माविको नतिजा शून्य छ ।

यस्तै सामुदायिक तर्फ सिद्धेश्वर मावि दाँवा, पञ्चकन्या मावि जोखिम, देवीथान मावि आम्तेक र सगरमाथा मावि सिक्रेटारले सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ भने संस्थागत तर्फ युनिक एण्ड युनाईटेड एकाडेमी, सगरमाथा इङलिस बोर्डिङ, भोजपुर एकाडेमी र न्यू समिट इङलिस बोर्डिङ स्कुल दिङलाले सत प्रतिशत नतिजा ल्याएको छ । इकाई प्रमुख अधिकारीले दिनु भएको बिवरण अनुसार जिल्लाका नौ वटा पालिका मध्ये भोजपुर नगरपालिकाले सबै भन्दा बढी७५ दशमलव ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । अन्य पालिकाहरूमा टेम्केमैयुङ गाउँपालिका ४० दशमलव ६९ प्रतिशत, हतुवागढी गाउँपालिका २८ दशमलव दश प्रतिशत, अरुण गाउँपालिका २५ दशमलव ९३ प्रतिशत, षडानन्द नगरपालिका २४ दशमलव ८८ प्रतिशत, साल्पासिलिछो गाउँपालिका २४ दशमलव र्नाै प्रतिशत, पौवादुङमा गाउँपालिका २१ दशमलव ३९ प्रतिशत र रामप्रसादराई गाउँपालिकाका १६ दशमलव ७८ प्रतिशत विद्यार्थी सफल भएका छन ।

भोजपुरको एसईई परीक्षाको नतिजाले गुणस्तरीयता अझै कायम नभएको देखिएकोले यसको सुधार जरुरी रहेको शिक्षा समिति संयोजक तथा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङलेबताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा एसइईको नतिजा सुधारका लागि आवश्यक गृहकार्य जरुरी छ, सामुदायिक विद्यालय सुधारका लागि वार्षिक कार्ययोजना निर्माण, पाठ्यपुस्तकको पर्याप्तता, शिक्षकहरूलाई बिषयगत प्रशिक्षण र नियमित अनुगमन लगायत कार्यक्रमहरू गर्नुपर्छ ।”
शिक्षा समितिको सदस्य तथा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जिल्ला भरीका पालिकाको शैक्षिक अवस्थाका आधारमा सबै पालिकाहरूको संयुक्त सहभागीतामा शैक्षिक सुधारका कार्यक्रम, बहस तथा जिम्मेवारी बोधका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । शैक्षिक अभियन्ता झुरेन्द्र पराजुलीले भने अंग्रेजी, गणित, विज्ञान विषयमा विद्यार्थी कमजोर देखिने गरेको बताउँदै विद्यार्थी, अभिभावक तथा शिक्षक तीनै पक्ष यसको सुधारमा लाग्न आवश्यक रहेको बताउनुभयो ।