शनिबार १० माघ, २०८२

नेपाली समय

नेपालमा उच्च शिक्षा बीजारोपण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने स्व. काजी हंसमान सिंहद्वारा लिखित ‘इतिहासका हराएका पाना’ पुस्तक विमोचन हुँदै

नेपालमा उच्च शिक्षा बीजारोपण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने स्व. काजी हंसमान सिंहद्वारा लिखित ‘इतिहासका हराएका पाना’ पुस्तक विमोचन हुँदै

काठमाडौँ, २२ असार । आफ्ना पिता स्व. तुल्सीमान सिंहले नेपालमा शिक्षाको बीजारोपण गर्न र हालको त्रिभुवन विश्वविद्यालय (त्रि.वि.)को जग बसाउन गरेका प्रयास र सङ्घर्षका कथा समेटेर तयार गरिएको पुस्तक स्व. काजी हंसमान सिंहद्वारा लिखित ‘इतिहासका हराएका पाना’ पुस्तक विमोचन हुने भएको छ । स्व. सिंहले लेख्नु भएको उक्त पुस्तक उहाँका नातिहरू रमेशमान सिंह समेत सात जनाले विमोचन गर्न लाग्नु भएको हो । पुस्तक असार २६ गते भिभा बैंक्वैटमा सार्वजनिक हुने भएको छ ।

लेखक स्व. हंसमान सिंहले आफ्ना बुबा तुल्सीमान सिंहले नेपालमा उच्च शिक्षाको जग बसाउन खेलेका महत्त्वपूर्ण भूमिकालाई समेटेर आफू जीवित हुँदै उक्त पुस्तक लेख्नु भएको थियो तर प्रकाशन गर्न अगाडी नै उहाँको मृत्यु भएकोले लेखकका छोराहरू रमेशमान लगायत अन्य ६ जनाले विमोचन गर्न लाग्नु भएको हो ।

लेखक स्व. काजी हंसमान सिंहद्वारा लिखित "बादलका केही टुक्रा", "तिमी कतै गएकी छैनौँ", "थाः ह्मसिइगु मूखँपु" (आफूले आफूलाई चिन्ने मुख्य कुराहरू), "लुमंत्ति–छपासः (नुगःमछिं–चिनाखँ)" लगायतका चारवटा पुस्तकहरु प्रकाशन भइसकेका छन् । 

काजी हंसमान सिंह तत्कालीन राजा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाहको पालामा दरबारका आजीवन सचिव पदमा समेत हुनुहुन्थ्यो । उहाँले आफू जीवित छदै चारवटा पुस्तकहरू प्रकाशन गरी सक्नु भएको छ । लेखक सिंहका पिता तुल्सीमान सिंह त्रि.वि.को स्थापक हुनुहुन्थ्यो । तुल्सीमान सिंह राजा त्रिभुवनको अङ्ग्रेजी शिक्षक हुनुहुन्थ्यो । काजी हंसमान सिंहले यस पुस्तकमा तत्कालीन राजा र राणा शासनकालमा नेपालमा शिक्षाको महत्त्व, नागरिकलाई उच्च शिक्षा दिलाउन शैक्षिक संस्थाको स्थापना आदिका लागि आफ्नो बुबा तुल्सीमान सिंहले गर्नु भएको प्रयास र सङ्घर्षको कथालाई समेट्नु भएको छ । सोही पुस्तक छोराहरू रमेशमान सिंह लगायतले बजारमा ल्याउन लाग्नु भएको हो । स्व. काजी हंसमान सिंहको सात जना छोराहरू र पाँचजना छोरीहरू रहेका छन् । 

हालको त्रिभुवन विश्वविद्यालय (त्रि.वि) को स्थापनाको लागि आफ्नो बुबा तुल्सिमान सिंहले के–कस्तो प्रयासहरू गर्नुपरेको थियो र त्रि.वि. स्थापना गर्न के–कस्तो सङ्घर्षहरू गर्नु परेको थियो, त्यसको वृत्तान्त यस पुस्तकमा समेटिएको प्रकाशक रमेशमान सिंह बताउनु हुन्छ । "मेरो बाजेले त्यस जमानामा राणा शासनकालमा आम नागरिकको निमित्त शिक्षाको लागि राजा र राणा सम्म शिक्षाको बीजारोपण गर्न चानचुने विषय हैन र समग्र देशवासी नागरिकहरूका लागि राजा र राणा समक्ष उक्त कदम चाल्नु कम आँटका कार्य थिएन", प्रकाशक रमेशमानले भन्नुभयो ।

आज देश उच्च शिक्षाको लागि विश्वसँग नेपालले पनि प्रतिष्पर्धामा आउने अवसर पाउनुमा आफ्नो बाजे स्व. तुल्सीमाको रहेको र उक्त पुस्तक नेपालको हरेक पुस्ताहरूलाई इतिहासको रूपमा रहोस् भन्ने मनसायले स्व. हंसमान सिंहले पुस्तक तयार गर्नु भएको थियो । पुस्तक प्रकाशन हुन नपाउँदै कजी हंसमान सिंहले मृत्युवरण गर्नुभएकोले नेपालको शिक्षा क्षेत्रमा नेपाली जनताहरूले पाएको यो उच्च शिक्षाको अवसरको श्रेय शिक्षाको लागि सङ्घर्ष गर्नुहुने स्व. तुल्सीमान सिंह र उहाँको सङ्घर्षका कथालाई पुस्तकको रूप दिनुहुने स्व. काजी हंसमान सिंहलाई दिनु कुनै अन्याय नहुने प्रकाशक रमेशमानको भनाई छ ।

एक जना सामान्य सर्वसाधारण व्यक्ति त्यसताका राजा र राणाकलाको समय आम नागरिकका लागि शिक्षा प्रति अनुदार शासकमा शिक्षाको बीजारोपण गर्नु चानचुने शाहस नभएको उहाँको भनाई छ । यस पुस्तकले नेपालमा शिक्षाको बीजारोपण र आज सम्मको शिक्षामा विकासको निमित्त स्व. तुल्सीमान सिंहले तत्कालीन शासक सम्म यस विषयलाई बुझाउने प्रयास र त्यसका लागि उहाँले गर्नु परेको सङ्घर्षका कथावस्तु आदि समेटिएको छ । यो पुस्तक अहिलेको पुस्ता र आउने भावी पुस्तालाई समेत आफ्नो देशको शिक्षाको इतिहास बुझ्न सहायक हुने प्रकाशक रमेश सिंहको विश्वास छ ।

उहाँ भन्नु हुन्छ, "नेपाल आज शिक्षाको जुन स्तरमा छ, यसको सुरुवात गर्ने व्यक्तिहरू कहिले इतिहासबाट हराउनु हुँदैन र ओझेलमा पर्नु हुँदैन भन्ने मनसायले पनि पुस्तक प्रकाशन गर्नु परेको हो । नेपालको यस्ता हस्तीहरुहरु इतिहासमा सधैँ अमर र सबैको पूजनीय हुनुपर्छ ।"

आफ्ना नीजि स्वार्थबाट माथि उठेर उच्च शिक्षाबाट वञ्चित अन्धकार नेपाल र नेपालीलाई शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरू सबैको साझा र आम नेपालीहरूले चिन्न सकुन् भन्ने उद्देश्य भएको र पुस्तकले उक्त कुरा पुरा गर्नेमा सिंहको विश्वास छ । नेपालमा उच्च शिक्षाको सुरुवात् गर्ने व्यक्तिलाई चिन्न, उहाँहरूप्रति सम्मान र आफूले पाइरहेको शिक्षाको अवसरमा आफू गौरवान्वित हुन यो पुस्तक सहयोगी हुने सिंह बताउनु हुन्छ ।