शनिबार ०३ साउन, २०८२

नेपाली समय

ईशनाथ नगरपालिकामा ४९ करोड ६४ लाखको बजेट

ईशनाथ नगरपालिकामा ४९ करोड ६४ लाखको बजेट

रौतहट, ७ असार । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४९ करोड ६४ लाख ५२ हजार ४५७ रुपैयाँको बजेट प्रस्तुत गर्दै ११औँ नगरसभा सम्पन्न गरेको छ।

नगर प्रमुख श्रीमती कौशल्या देवी सिन्हाको अध्यक्षतामा सम्पन्न नगरसभामा सम्पूर्ण वडाध्यक्ष तथा जनप्रतिनिधिहरूको पूर्ण उपस्थितिमा बजेट प्रस्तुत गरिएको थियो। सो बजेटलाई नगरसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा ईशनाथ नगरपालिका पहिलोपल्ट महिला नेतृत्वमा पुगेको हो। मेयरमा निर्वाचित कौशल्या देवी सिन्हाले निर्वाचित भएदेखि नै शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, महिला, बालबालिका, अपाङ्ग र विपन्न समुदायका क्षेत्रमा उल्लेखनीय सुधार ल्याउँदै आएकी छन्।

विशेष गरी बाढीपीडित क्षेत्रमा औषधि, खाद्यान्न, स्वास्थ्यकर्मी तथा सुरक्षित शिविर व्यवस्थापन गर्दै राहत र उद्धार कार्यमा सक्रिय भूमिका निभाएर उनी एक उत्तरदायी, सक्षम र जनमुखी नेतृत्वकर्ताको रूपमा उदाएको स्थानीयको धारणा छ।ईशनाथ नगरपालिका अझै मधेस प्रदेशकै पिछडिएको पालिकामध्ये एक मानिन्छ, तर मेयर सिन्हाको कार्यकालमा जनजीवनमा आएको सकारात्मक परिवर्तन तथा समावेशी विकासको दृष्टिकोणले ईशनाथलाई नयाँ दिशा प्रदान गरेको देखिन्छ।

उनी केवल महिला हुनुको कारण होइन, एक शालीन, शिक्षित, र समाजप्रति प्रतिबद्ध जनप्रतिनिधिका रूपमा पहिचान बनाएकी छन्, जसको कार्यशैली र संयोजनबाट अन्य पालिकाका मेयरहरूले समेत सिक्नुपर्ने अवस्था सिर्जना भएको छ। विशेष रूपमा उनले सबै निर्वाचित जनप्रतिनिधिहरूलाई नगरसभा तथा बोर्ड बैठकहरूमा समान सम्मानसहित सहभागी गराउँदै लोकतान्त्रिक प्रक्रिया र पारदर्शिताको उदाहरणीय अभ्यास गर्दै आएकी छिन्।

जिल्लाका १८ पालिकामध्ये केही पालिकाहरूले अझै नगरसभा पूर्णत: सम्पन्न गर्न सकेका छैनन्, तर ईशनाथ नगरपालिकाले सबै वडाका प्रतिनिधिलाई सहभागितामा ल्याई उदाहरणीय नगरसभा सम्पन्न गरेर प्रदेशभर नै सकारात्मक सन्देश दिएको छ।