वीरगञ्ज (पर्सा), ७ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले मानव कल्याणका क्षेत्रमा गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आज यहाँस्थित मानवसेवा आश्रमको अवलोकन गर्दै मुख्यमन्त्री सिंहले मानवसेवा जस्तो पवित्रसेवा गर्ने सङ्घसंस्थासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । “मानव सेवा आश्रमले असहाय, अशक्त र बेवारिसे नागरिकको सेवामार्फत समाजमा मानवीयता र समर्पणको अनुपम उदाहरणीय कार्य गरेको छ”, उहाँले भन्नुभयो, “यस्ता मानवतावादी काम गर्ने निकायसँग सहकार्य गरेर अघि बढ्नेछौँ ।”
मानवसेवा आश्रमले सडकमा बेवारिसे, मानसिक असन्तुलनयुक्त र विपन्न अवस्थाका व्यक्तिलाई उद्धार गरी आश्रय, उपचार तथा पुनःस्थापनाको व्यवस्था गर्दै आएको छ । मुख्यमन्त्रीको भ्रमणले संस्थाको सेवा तथा कार्यप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको आश्रम परिवारले जनाएको छ ।