भोजपुर, ३ असार । युवाहरूलाई कृषिसँग जोडन सकिएमा गाउँमै अवसर पनि पाइने विषयमा भोजपुरमा छलफल सुरु गरिएको छ । पछिल्लो समयमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू समेत कृषि खेतीमा लागेको अवस्थामा युवाहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू स्थानीय पालिकाहरूबाट आउनु पर्ने माग जिल्ला तहमा उठ्न थालेको छ ।
कृषि उद्यम व्यवसायी जीवन राउतले कृषिका लागि थोरै रकम भन्दा पनि केही गर्न सकिने रकम स्थानीय पालिकाहरूले विनियोजन गर्न सकेमा युवाहरूलाई कृषिमा प्रोत्साहन गर्न सकिने बताउनुभयो । कृषिलाई प्रोत्साहन गर्न सकिएमा यसले जीविकोपार्जन मात्र नभएर रोजगारीको माध्यम हुने युवाहरूको भनाई छ । आगामी आर्थिक वर्षका लागि पालिकाहरूले बजेटका विषयमा छलफल चलाई रहँदा युवा कृषकहरूले भने यस्तो माग राख्नु भएको हो ।
स्वरोजगार र गाउँमै रोजगारीको वातावरण बनाउने अभियान सञ्चालनमा गर्न सकिएमा गाउँघरका बाँझो रहेका जग्गाहरू पनि प्रयोगमा आउने भोजपुर नगरपालिका वडा नम्बर ५, बोखिमका वडाध्यक्ष फबिन्द्र प्रधानले बताउनुभयो । युवालाई कृषिसँग जोडन सकिएमा गाउँमै अवसर पनि पाइने बताउँदै वडाध्यक्ष प्रधानले वडा स्तरको बजेटले मात्र सोचे अनुसारको कृषिमा फडको मार्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषिलाई ब्यवासायीक र आकर्षित बनाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारले उचित नीति तथा बजेट ल्याउन नसक्दा, युवा पलायन रोक्न समस्या देखिएको हो ।”
सरकार, स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा कृषिका लागि दीर्घकालीन नीति र योजनाहरू लागू गरिएमा गाउँमै बसेर पनि आर्थिक सम्मृद्धिमा टेवा दिन सकिने युवा उपेन्द्र कार्कीको भनाई रहेको छ । कृषिलाई प्रोत्साहन गर्न वडाको बजेटबाट नयाँ आर्थिक वर्षका लागि सात लाख टनेल वितरणका लागि विनियोजन गरिएको भोजपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो ।
कृषि उद्यमी प्रतीक्षा श्रेष्ठले कृषिलाई उद्योगसँग जोडन सकिएमा स्थानीय उत्पादनको बजारीकरण साथै औधोकीकरणमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रोजगारी समेत सिर्जना गर्न सकिने खालका योजना तीनै तहका सरकारले बनाउन सकेमा युवालाई प्रोत्साहन गर्न सकिन्छ ।” श्रेष्ठ आफै सफल कृषि व्यवसायी हुनुहुन्छ ।