रौतहट, ३० जेठ । जिल्लाको कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयसवाललाई कारबाही गर्न प्रेस चौतारी नेपाल रौतहट शाखाले माग गरेको छ । समाचार लेखेकै कारण कटहरिया म्युजिकल एफएममा कार्यरत पत्रकार सागर संगम ठाकुरलाई बिहीबार दिउँसो नगरक्षेत्रमै रहेको त्रिशक्ति बोर्डिङ स्कुलमा बोलाएर मेयरले कुटपिट गरेको भन्दै चौतारीले मेयर जयसवाललाई कारबाहीको माग गरेको हो ।
प्रेस चौतारी रौतहट शाखाका अध्यक्ष अशोक कुमार पहाडीले एक विज्ञप्ति जारी गदै मेयर जयसवालले पत्रकार माथि निर्मम तवरले आक्रमण गरेको हुँदा यस्ता मेयरलाइ कानुन अनुसारको कारबाहीको माग गरेका छन । जयसवाललको एक समूहले कटहरियामा रहेको त्रिशक्ति बोर्डिङ स्कुलमा आक्रमण गरी पत्रकार ठाकुर गम्भीर घाइते बनाएका छन्। पत्रकार ठाकुरको गरुडा स्थित एक निजी अस्पतालमा उपचाररत छन् ।
घटनाको सुरुवात कटहरिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको विषयमा फेसबुकमा लेखिएको एक स्टाटसबाट भएको हो । कटहरिया म्युजिकल एफएमकै अर्का पत्रकार रविन्द्र प्रजापतिले लेखेको उक्त स्टाटसमा ठाकुरले कमेन्ट गरेका थिए । त्यही कमेन्टलाई आधार बनाएर मेयर प्रकाशले दुवै पत्रकारलाई स्कुलमा बोलाएका थिए । तर स्कुलमा पुगी प्रजापतिलाई नछोई ठाकुरमाथि मात्रै आक्रमण गरेका हुन् । ठाकुरमाथि कुटपिट गर्ने क्रममा मेयरसँगै आएका अन्य व्यक्तिहरूले समेत हातपात गरेको पत्रकार प्रजापतिले जानकारी दिए ।
कुटपिट मात्रै नभई मेयर अजय प्रकाशले पत्रकार रविन्द्र प्रजापतिलाई जथाभाबी अपशब्द प्रयोग गरेको अडियोसमेत अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो । उक्त अडियोमा प्रयोग गरिएको भाषा अत्यन्तै आपत्तिजनक र अमर्यादित देखिन्छ । यति मात्रै होइन, अडियो सार्वजनिक भएपछि मेयरले पत्रकार प्रजापतिलाई धम्की दिँदै उक्त अडियो डिलिट गर्न दबाब दिएको स्रोतले जनाए । यो पहिलो पटक भने होइन, जब मेयर प्रकाशले पत्रकारमाथि आक्रोश देखाएका छन् । यसअघि पनि कटहरियास्थित चिनी मिलमा किसानहरू उखुको तौलमा ठगिएको भन्ने विषयमा समाचार सङ्कलन गर्न गएका पत्रकार कृष्ण तिवारीमाथि पनि मेयरले हातपात गरेका थिए । लगातार पत्रकारमाथि आक्रमण भइरहेकाले प्रेस चौतारी नेपाल रौतहटले घटनामा संलग्न मेयर अजय प्रकाशलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको हो । संस्थाले प्रेस स्वतन्त्रतामाथि भएको यो अमानवीय हमला र बर्बरताको गम्भीर विरोध जनाउँदै दोषीलाई कानुनी कठघरामा ल्याउन आग्रह गरेको छ । यस अघि पनि मेयर जयसवालको चिनी मिल भित्र पत्रकार कृष्ण तिवारी माथि आक्रमण भएको थियो ।
यसभन्दा पहिला समेत कटहरियामा रहेको मेयर अजय प्रकाशको चिनी मिलमा उखु जोख्ने क्रममा उपभोक्तालाई ठगी गरेको विषयमा समाचार सङ्कलन गर्न गएका दुई पत्रकारलाई मिन भित्रै कुटपिट गरी क्यामरा खोस्ने काम भएको थियो ।
सोही घटनालाई लिएर जिल्ला अदालत रौतहटले मेयर अजय प्रकाशलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको भए पनि प्रहरीले हालसम्म पक्राउ नगरेको भन्दै विज्ञप्तिमा तत्काल पक्राउ गरेर कानुनी दायरामा ल्याउन माग गरिएको छ । मेयर जयसवालको गुण्डागर्दी शैलीका कारण रौतहटको कटरिया क्षेत्रमा रहेका सञ्चारकर्मीहरू त्रसित रहेको पीडित पत्रकार रविन्द्र प्रजापतिले बताएका छन् ।
प्रेस चौतारी रौतहट शाखाले एक विज्ञप्ति जारी गर्दै मेयर अजय प्रकाशलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ।