रौतहट, ३१ वैशाख । बौधिमाई नगरपालिकामा सञ्चालन रहेका अधिकांश स्वास्थ्य संस्थाहरू बिना दर्ता, बिना योग्य चिकित्सक र कानुनी मान्यता बिना सञ्चालन भइरहेको पाइएको छ। ती संस्थाहरूले आफूलाई ‘अस्पताल’ भन्दै ठूला-ठूला होर्डिङ बोर्ड टाँसेका छन् र सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्दै आएका छन्।
स्थानीय तहको स्वास्थ्य नियमनको अभावमा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा गम्भीर लापरबाही हुँदै आएको हो । कतिपय संस्थामा बिना कुनै रजिस्ट्रेसन तथा शैक्षिक योग्यता नभएका व्यक्ति डाक्टरको नाममा बिरामीको उपचारमा खटिएको पुष्टि भएको हो ।
बौधिमाई नगरपालिकाको स्वास्थ्य शाखाले करिब दुई महिनाअघि यस्ता अवैध र त्रुटिपूर्ण अस्पतालहरूको नाम सार्वजनिक गर्दै आफ्नो आधिकारिक फेसबुक पेजमा जानकारी राखे पनि त्यसपछि कुनै ठोस कारबाही अगाडि बढाएको देखिएको छैनन् ।
यसैबीच, अवैध अस्पतालहरूले जनताको स्वास्थ्य, समय र पैसासँग खेलबाड गरिरहँदा स्थानीय स्वास्थ्य निकाय देखि सम्बन्धित सरकारी तहहरूसम्म मौन देखिएको हो । यसले नगरवासीहरूलाई थप स्वास्थ्य जोखिममा पारेका छन् ।
स्थानीयहरू यस्ता अवैध स्वास्थ्य संस्था माथि निगरानी बढाउन र प्रभावकारी नियमन गर्न नगरपालिका र स्वास्थ्य मन्त्रालयसँग माग गरिरहेका छन्।