आइतबार ०८ असार, २०८२

नेपाली समय

विचार: वर्तमान् नेपाल र सङ्घर्षको तारो

विचार: वर्तमान्  नेपाल र सङ्घर्षको तारो

थालनी

समयको सापेक्षतामा शासक वर्गले देश र जनताको व्यवस्थापन गर्न नसक्दा विद्यमान व्यवस्थाप्रति प्रश्न उठ्नु स्वाभाविक छ । युवाहरूले आफ्नो राष्ट्रिय जीवनको ढोका उघार्न गरिएको सङ्घर्षशील प्रयत्नलाई अन्यथा नमानौँ । तर युवाहरूले पनि असन्तुष्टीको ठोस कारण भौतिक धरातलमा टेकेर विश्लेषण गर्नुपर्छ । समाधानको दिशा प्रतिगामी र पुनरुत्थानवादी नभई अग्रगामी र निकासमुखी हुनु आवश्यक छ । नत्र सङ्घर्षको नाममा अराजकता, र समाधानको नाममा आफ्नै खुट्टामा बन्चरो प्रहार हुन जान्छ । 

गत माघ महिनाबाट देशमा ‘राजा आऊ देश बचाउ’ को नारा चम्कन थाल्यो । नारा लगाउने अवधहरूलाई कति थाहा छ वा छैन ! राजाकै पालामा देश सबैभन्दा धेरै कमजोर, निरीह, र मगन्ते बनेको थियो । लोकतन्त्र आएपछि क्रमशः राष्ट्रिय आएमा उन्नति हुँदै अन्तर्राष्ट्रिय बार्गेनिङ पावर बढाएको देखिन्छ । जसको कारण विदेशमा बेचिईसकेका मूर्तिहरू नेपाल फर्कने, विदेशमा समस्यामा परेका नागरिकहरूलाई उद्धार गर्ने विभिन्न उपाय निस्कने, लगायत थुप्रै वैदेशिक कारोबारको ढोकाहरू उघ्रेका देखिन्छन् । 

राजाको पालामा इराकमा १२ नेपाली मार्दा लास होइन अस्तु समेत ल्याउन सकेको थिएन । नागाल्याण्डमा ८ नेपाली मार्दा अस्तु समेत ल्याउन सकेको थिएन । यस्ता दुर्दान्त घटनाहरू सयौँ होइन हजारौँ र लाखौँको सङ्ख्यामा छन् । जसलाई राजाको पालामा तत्काल समाधान त परै जाओस् ठाउँ ठेगाना को खोजबिन र सत्य तथ्य अनुसन्धान र छानबिन गर्ने क्षमता समेत देशका कूटनीतिक नियोगहरूले राख्दैनथ्यो । यद्यपी युवाहरूको असन्तुष्टिको सम्बोधन बेलैमा नभएर देशले अनपेक्षित दुर्दशा भोग्न नपरोस् । यथार्थको जानकारी र सम्प्रेषण गर्नु र सङ्गठित आवाज बुलन्द गरेर अनपेक्षित दुर्घटना टार्दै नयाँ निकास निकाल्न सक्नु शासकहरूको कुशलता मानिन्छ ।

हामी कहाँ छौँ ?

वर्तमान संविधानले ‘समाजवाद उन्मुख’ भने पनि हामी समाजवादी अर्थनीतिमा होइनौँ । समाजवाद उन्मुख राजनीतिक व्यवस्थाले तयार गरेको उदार पूँजीवादी अर्थनीतिमा छौँ । यसको स्वाभाविक चरित्र ‘समाजको अहित नहुनेगरी वस्तु उत्पादन गर्दै नाफा कमाउ’ भन्ने नै हुन्छ । यतिखेर पुरानो सामन्तवादी उत्पादनशक्ति पूर्णरुपमा परास्त नभइसकेको, र नयाँ उत्पादन प्रणालीले आफूलाई सक्षम सबल नवनाइसकेको परिवेश र समाजवादी कार्यनीति र विकृत दलाल पूँजीवादी अर्थनीति बीचको संक्रमणकालमा छौँ । तसर्थ पुरातन अर्थव्यवस्था हाबी भए सामन्त, दलाल, नोकरशाह, भ्रष्ट, तस्कर र सुदखोरहरूको हक हितको रक्षार्थ नीति कार्यक्रम र योजनाको तर्जुमा हुन्छ । क्रान्तिकारी हाबी भए गरिव किसान, ज्यालादारी मजदुर, श्रमिक, निम्न पुँजीपति, राष्ट्रिय पूँजी र राष्ट्रिय पूँजीपतिको रक्षार्थ योजना तर्जुमा गर्छ । 

वर्तमान संविधान समाजवादी वा साम्यवादीले शोषक सामन्त र पूँजीपति वर्गमाथि निर्णायक विजयप्राप्त गरेपछि बनेको समाजवादी संविधान होइन । अग्रगामी बामपन्थी, यथास्थितिवादी पूँजीवादपन्थी, उदारलोकतन्त्रको जामा पहिरिएका पुरातनपन्थी, बीचको त्रिपक्षीय सम्झौताको दस्ताबेज मात्र हो । फलतः संविधानको व्याख्या र प्रयोग लोकतान्त्रिक प्रतिस्पर्धामार्फत सरकारमा जुन विचार र दर्शन हाबी भयो, तदनुरूप व्यवहारको छायाँ प्रतिछायाँ देखा पर्नु अस्वाभाविक मानिन्न । तर नेपाली समाज आफ्नो अमूल्य मानिएको मत दलाल नोकरशाह तथा सामन्त सुदखोरहरूको रक्षा गर्ने कसम खाएका काँग्रेस एमालेलाई दिने, शासन प्रशासन र न्यायिक निकायमा चाहिँ भ्रष्टाचार रहित, पारदर्शी, योजना कार्यान्वयनमा जनमुखी, नीति निर्णय र कानून निर्माणमा अग्रगामी खोज्छौँ । जब सोचाई र खोजाई मिल्दैन तब लोकतन्त्र र गणतन्त्रलाई सत्तोसराप गर्छौ, अनि कहाँ पाइन्छ सुशासन ?

अग्रगामी र प्रतिगामीबीचको भिन्नता के हो ? 

सरल भाषामा भन्दा राष्ट्र, राष्ट्रियताको संवर्द्धन गर्दै देश र बहुसङ्ख्यक जनताको हक हितको सुरक्षामा रगत पसिना सिंचने, देशको परिवर्तनलाई सकारात्मक उपलब्धिको अधिकतम जनमुखी र लोक कल्याणकारी बनाउने ताकतलाई अग्रगामी, क्रान्तिकारी शक्ति भनिन्छ । जस्तै शिक्षा स्वास्थ्य लगायत प्रचण्ड सरकारको पालामा भएका जनमुखी कार्यहरू ओली आउनेवित्तिकै क्रमशः माफिया तस्करमुखी हुन थालको प्रस्टै देखिन्छ । इतिहासकै पहिलोपटक प्रचण्ड नेतृत्वको सरकारको पालामा नाफामा पुगेको वायुसेवा निगम जवर्जस्त घाटामा पु¥याउन जहाजहरू धमाधम अर्काको देशमा ल्याण्डिङ्ग गराइरहेका छन् । नाफामा चलिरहेको बिधुत प्राधिकरणलाई घाटामा पु¥याउन दिनरात कुलमानलाई दु:ख दिइरहे र अन्तमा अपमानजनक निष्कासन गरिछाडे । स्वास्थ्य बिमालाई रकम भुक्तानीमा अनेकौँ बाधा अड्चन खडा गरेर निजी स्वास्थ्य संस्थाहरूको दलाली गरिरहेका छन् ।

बालेन, हर्क, रवी, लगायत जनताको मन जित्ने राम्रा मान्छे कसैलाई पनि दु:ख दिन छोडेको छैन । तर देश र जनताको विरुद्ध दलाली गर्ने, देश जनता लुट्ने माफिया बन्ने, त्यतिले नपुगेर नीतिगत, प्रशासनिक र अन्य सयौँ प्रकृतिका भ्रष्टाचारमा लिप्त भएका जोगाउन रक्षा गर्नुलाई नै आफ्नो कर्तव्य सम्झन्छ । उनीहरूको रक्षा र सेवा चाकरीमा राजनीति केन्द्रित गर्ने प्रवृत्तिलाई प्रतिगामी चरित्रको राज्ययन्त्र भनिन्छ । सजिलो भाषामा भन्दा राम्रा जतिको खेदो खन्दै नराम्रा जतिको रक्षा गर्नु प्रतिकृयावादी धर्म हो भने राम्रा जतिको रक्षा गर्दै नराम्राको जरोकिलो उधिन्नु क्रान्तिकारीको धर्म हो ।

त्यसैले अग्रगामी र प्रतिगामी केवल मुख मिठ्याउन बोलिने शब्दजाल, गाली वा तालीलाई ध्यान दिएर चिया चौतारीमा गरिन बुद्धिविलास होइन । अग्रगमन वा प्रतिगमन राज्य रुपान्तरणको विधि निर्माण र प्रयोग गर्ने चेतनाको वास्तविक पहिचान हो । यद्यपी आफूलाई बुद्धिजीवी राष्ट्रसेवक कर्मचारी लगायत काँग्रेस एमालेको बिल्ला भिराउन तम्सिने अवसरवादीहरू सामाजिक राजनीतिक र आर्थिक रूपान्तरणमा रौँ बराबर योगदान नगरे पनि यसको उपलब्धिको सत प्रतिशत उपभोग आफै गर्न नपाउँदाको झोँक पोख्न क्रान्तिकारीमाथि आरोपहरूको ओइरो लगाइरहन्छन् । 

समाजवादको नक्कली नारा बेच्दै दलाल तथा नोकरशाही पूँजीवादको सक्कली खिचडी खान पल्केका ‘बाम नामका ठगहरू’ पनि आफ्नो अकर्मण्यता र असक्षमताको दोष बुताले भ्याएसम्म देश र जनताको निम्ति योगदान दिएका क्रान्तिकारीहरूमाथि खन्याएर आत्मरति लिइरहन्छन् । देश र जनताको आवश्यकता, राजनीतिक शक्ति सन्तुलनको परिणतिले ल्याएको एकाध सहकार्यलाई विकृत व्याख्या गर्दै क्रान्तिकारी र प्रतिकृयावादीहरू एकै भएको र आफू उनीहरूभन्दा ‘अलग्ग’ देश र जनताको ‘सेवक’ विशिष्ट ‘क्रान्तिकारी’ भन्ने भ्रम बाँड्छन् । उनीहरूले ठूला सत्रुको विरुद्ध लड्न साना साना समूहहरू मिल्ने संयुक्त मोर्चा सम्बन्धी माओले दिएको दृष्टान्त नसम्झिए पनि “सत्रुको सत्रु आफ्नो मित्रु” भन्ने नेपाली आहान त नविर्सनुपर्ने हो ।

वर्तमान सङ्घर्षको तारो कता हो ?

राजतन्त्रकालमा ‘राजा’ सङ्घर्षको तारो थियो । मुठ्ठीभर मण्डले र पञ्चेहरूको तजबिजमा देश चल्थ्यो, उनीहरूको लुट खसौट र सामन्ती अत्याचारको रक्षा सेना पुलिसले गर्ने र सेना पुलिसको संरक्षक राजतन्त्र भएकोले राजा तत्कालीन सङ्घर्षको तारो बन्नु स्वाभाविक थियो । विदेशीले दानमा दिएको कल कारखानाहरू बेची खाँदा नपुगेका, मल्ल र लिच्छवीले बनाएका ऐतिहासिक धरोहरहरूमा मूर्ति जति बेच्दै मन्दिरहरू भग्नावशेष बनाउँदा पनि नपुगेर प्रकृतिको वरदानको रूपमा प्राप्त खोला नाला बन पाखा समेत विदेशीलाई बेची खाने मण्डले र पञ्चेहरूको विरुद्धमा बोल्न छुट थिएन । न्याय निसाफ, प्रशासनिक र राजनीतिक निकायमा आम जनताको कुनै पहुँच थिएन । जसको कारणले राजतन्त्र देशको निम्ति घाँडो र जनताको प्रगतिमा बाधक सेतो हात्ती साबित भएकोले माओवादी जनयुद्ध र जनआन्दोलनमार्फत उक्त व्यवस्था ध्वस्त पा¥यो ।

राजतन्त्रको स्थानमा प्रतिस्थापन भएको ‘गणतन्त्र’ केवल माओवादी जनयुद्धको पूर्ण विजयको प्रतीक होइन । ज्ञानेन्द्रले लात्ती नहानुन्जेल राजा राज परिवार र राजतन्त्रकै सेवा चाकरीमा लिप्त काँग्रेस, एमाले लगायत अवसरवादी पार्टीहरूसमेतको सम्झौताको दस्ताबेज हो । त्यसैले सम्झौताको दस्ताबेज मार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्रमा माओवादी जनयुद्धको पूर्ण विजित अवस्थामा पाइने जनगणतन्त्रको अपेक्षा राख्नु सर्वथा अनुचित हुन्छ । काँग्रेस एमाले र मझौलावादी अवसरवादी पार्टीहरूको राजनीतिक आधार ग्रामीण शोषक–सामन्त हो भने शहरमा भ्रष्ट, तस्कर, माफिया र दलाल नोकरशाह नै हो । माओवादी जनयुद्धले शोषक सामन्त र सुदखोरहरूलाई गाउँवाट लखेटेर ग्रामीण शोषित उत्पीडित जनसमुदायलाई पूर्णतः मुक्त गराए । तर शहर पसेका सामन्तका सन्तान लघुवित्त, सहकारी, विकास बैङ्क, लगायत वित्तीय संस्थाहरू खोलेर अर्थअपचलन गर्नथाले किनकि उनीहरूको थपेर जनताको सम्पत्ति लुट्ने परम्परा हो, चक्रीय ब्याज र घिउखाने जोड्दै दुनियाँ लुट्ने उनीहरूको संस्कृति हो, र नसा नसामा रहेको उक्त चुसाहा नीति निर्बाध निरन्तरता दिए ।

 त्यस्तै नेपाल पृथ्वी नारायण शाहले राज्य कब्जा गरिसकेपछि पुनर्गठित राज्यको प्रशासन चलाउन देशभर राख्न लगेका तत्कालीन मूखिया, जिम्वाल र सुवेदार पद जसको कार्य सुवेदारले लिखा लिखौट राख्ने, जिम्वालको काम नीति योजना बनाई कार्यान्वयनको निम्ति ग्रामीण समुदायलाई आह्वान खटन गर्ने र मूखियाको न्याय निसाफ छिन्ने थियो । जुन पद रूपान्तरित र विकसित हुँदै २५० वर्षको अन्तरालमा मुखिया न्याय निसाप छिन्दा छिन्दा उनका साखा सन्तान वकिल, न्यायधिशमा विकसित भयो ! सुवेदारका साखा सन्तान आजभोलीका कर्मचारी यन्त्रमा विकसित भयो ! भने जिम्वालहरू २००७ सालको परिवर्तन पछि आधा जति शहरमा आएर उद्योग ब्यावसाय र विभिन्न कूटनीतिक क्षेत्रमा क्रियाशील बने भने गाउँमा बाँकी रहेका सामन्तका सन्तानहरू अचेलका नेतामा रूपान्तरित भए । 

परिणामतः आज हरेक पार्टीका मुख्य नेताहरू जिल्ला र प्रदेश चलाउने मुख्य राजनीतिक र प्रशासनिक मान्छेहरू सामन्तका सन्तान हुन् । यही परम्परागत अर्थ–राजनीतिक विरासतलाई माओवादी आन्दोलनले धुजा धुजा बनाएको हो राजनीति, अर्थनीति, कूटनीति लगायत हरेक क्षेत्रमा आधारभूत वर्ग क्षेत्रबाट प्रतिनिधित्व गराउने उद्देश्यले समानुपातिक समावेसीताको नीति अवलम्बन ग¥यो । जो काँग्रेस एमालेलाई राम्रोसँग पचेकै छैन, दरवारीयालाई त झन् पच्ने सवालै भएन । त्यसैले काँग्रेस एमाले लगायत अन्य बाम नामका अवसरवादी पार्टीहरू सबैले समानुपातिक समामेवसी, धर्मनिरपेक्षता र सङ्घीयताको आधारभूत मर्म माथि मौका मिल्नेवित्तिकै लाञ्छना लगाउने र सकेसम्म जनाधिकार पत्तासाफ नै गर्न खोजेको देखिन्छ ।

पार्टी केवल राजनीतिको तानावाना बुन्ने, जालझेलको प्रपञ्चमा रमाउने मान्छेहरूको जमात मात्र होइन, यो त बर्गहरूको प्रतिनिधि शक्ति हो । त्यसैले उनीहरूको हरेक अभिव्यक्तिले आफ्नो वर्गको पक्षपोषण गरेको हुन्छ, उनीहरूको हरेक गतिविधि आफ्नो वर्गलाई जोगाउँदै अर्को वर्गलाई निषेध गर्नु नै हुन्छ । सामन्त दलाल नोकरशाहले आफ्नो हक अधिकार पुर्नास्थापनको निम्ति हरेक पार्टीमा आफ्नो पहुँच मजबुत बनाइरहेको साँचो हो । तर काँग्रेस र एमाले जस्ता पार्टीहरूमा नेतृत्वमै र माओवादी जस्ता पार्टीमा एकाध प्रतिनिधिहरू देखा पर्छन् । त्यस्तै निम्न वर्गका किसान मजदुर, श्रमिक वर्गको प्रतिनिधि पनि हरेक पार्टीहरूमा छ । तर अन्य पार्टीहरूमा सामन्त, शोषक तथा नोकरशाह नेतृत्वसम्म पहुँच छ भने माओवादीमा नेतृत्वमा शोषितको आदर्श पक्षपोषण गर्नेहरूको बाहुल्यता छ ।

अन्तमा,

वर्तमान सङ्घर्ष केवल सत्तासंघर्षको रूपमा बुझ्नु र बुझाउनु परिपक्व बुझाई होइन, बुझ्नेहरूले गलत बुझाउने सवाल त अपराध नै हो । राष्ट्रिय राजनीतिमा अग्रगमन हाबी हुँदा जनताले अधिकार पाउँदै जान्छन्, प्रतिगमन हाबी हुँदै गर्दा जनतालको अधिकार, राष्ट्रको स्वाधीनता झन् पछि झन् कुण्ठित हुँदै जान्छ । देशको स्वाधीनता जनताको अधिकार जोगाउन केवल गुनासो मात्र गरेर हुँदैन, राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलन मिलाउँदै सार्थक सङ्घर्ष गर्नुको विकल्प छैन । सार्थक सङ्घर्ष गर्न अनुहार हेरेर सत्रु मित्र मान्ने होइन ऐजेण्डा र विषय वस्तु हेरेर पक्ष वा विपक्षमा उभिनुपर्ने हुन्छ जो वर्तमान राजनीतिमा क. प्रचण्डको तुलनामा अन्यले सन्तुलन मिलाउन सकेको देखिँदैन ।

 त्यसैले प्रचण्डका अनेकौँ कमजोरी हुन सक्छ तर साना विषयमा प्रचण्डलाई खोट लाउँदै राजनीतिक रूपमा बिसाल र महान अपराध छोप्ने अपराध गर्दै गर्दा ति साना दल तथा जाति जनजाति दलित महिला, मुस्लिम लगायत समुदायले राम्ररी बिचारुन् प्रचण्ड भन्दा आफूm क्रान्तिकारी र अग्रगामी कित्तामा उभिन सक्षम हुने हो भने सहि होला नत्र प्रचण्डको सानोतिनो कमजोरीलाई तिलको पहाड बनाएर फेरी पनि काँग्रेस र एमाले जस्ता राष्ट्रिय अपराधीहरू जिताउने कार्य गरिन्छ भने त्यस्ता कथनीमा काँग्रेस एमाले विरोधी तर करनीमा काँग्रेस एमालेकै हली गोठालाहरूको हिसाब किताब इतिहासले चुक्ता गर्नेछ ।

 धन्यवाद २०८२–०१–३०  

  - श्रीराम खाईजु

    (भक्तपुर)

(प्रकाशित लेख: लेखकको निजी विचार हो। )