आइतबार ०८ असार, २०८२

नेपाली समय

तीन शैक्षिक संस्थामा पूर्वअर्थमन्त्री कोइरालाबाट छात्रवृत्ति बितरण

तीन शैक्षिक संस्थामा पूर्वअर्थमन्त्री कोइरालाबाट छात्रवृत्ति बितरण

भोजपुर, ३० वैशाख । पूर्वअर्थमन्त्री शंकर प्रसाद कोइरालाले भोजपुरका तीन शैक्षिक संस्थामा बाबुआमाको नाममा स्थापित भएको अक्षयकोषको रकमबाट बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नु भएको छ । 

‘वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति कोष’ बाट कोइरालाले भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत तीन जना, बिद्योदय माध्यमिक विद्यालयका चार जना र सरस्वती आधारभूत विद्यालयका दुई जना उत्कृष्ट बिद्यार्थीहरुलाई नगद १५ हजार सहित प्रमाण पत्र प्रदान गर्नु भएको हो । 

भोजपुर बहुमुखी क्याम्पसबाट गत वर्षको परीक्षामा मानविकी तथा सामाजिक सङ्कायबाट उत्कृष्ट छात्रा नम्रता राई, व्यवस्थापन सङ्कायबाट उत्कृष्ट छात्र बाबुराम विश्वकर्मा र शिक्षाशास्त्र सङ्कायबाट उत्कृष्ट अङ्क ल्याउने छात्रा लिला खड्कालाई छात्रवृत्ति कोषका संरक्षक पूर्वअर्थमन्त्री कोइरालाले छात्रवृत्ति रकम र प्रमाणपत्र प्रदान गर्नु भएको हो । क्याम्पसमा १० लाख बरावरको अक्षयकोष स्थापना छ । 

यस्तै जिल्लाको बिद्योदय माविमा कक्षा ११ विज्ञान समूहमा अध्ययनरत छात्रा दिप्सना श्रेष्ठ, छात्र सबिन खत्री तथा कक्षा ९ मा अध्ययनरत छात्रा सृष्टि राई र छात्र प्रनिल राईलाई अक्षय कोष संरक्षक कोइरालाले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । 

अक्षय कोष संरक्षक कोइरालाले सरस्वती आधारभुत बिद्यालय पोखरेका कक्षा पाँचबाट उत्कृष्ट हुने छात्रा आकृति दाहाल र तिर्था भुजेललाई पनि नगद १५ हजार, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । अक्षय कोष संरक्षक तथा पूर्वमन्त्री कोइरालाले आफनो जन्मभुमी र आफूले अध्ययन गरेका तीन शैक्षिक संस्थाहरूमा स्थापना गरेको अक्षयकोषले बिद्यार्थीहरुलाई थप पठनपाठनमा उर्जा र प्रोत्साहन गर्ने बताउनुभयो ।