रौतहट, २९ वैशाख । स्वर्गीय रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१/२०८२ को घोषणा कार्यक्रम रामा यादव स्मृति प्रतिष्ठान रौतहटको आयोजनामा आइतबार सम्पन्न भएको छ। स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा कलम चलाउने एक जनालाई नगद २६ हजार १ रुपैयाँ पुरस्कार दिने उद्देश्यले २०७९ सालमा स्थापना गरिएको सो पुरस्कार ४ वर्ष सम्म निरन्तरता दिइएको छ।
रौतहट जिल्लामा पहिले टेलिभिजनको स्थापना गरिने जय रामा मिडिया प्रा ली का सस्थापिका रामा यादवको २०७८ साल वैशाख २८ गते कोभिड सङ्क्रमणको कारण दुखद निधन भएपछि स्वास्थ्य उपचारको अभावमा कुनै व्यक्तिले ज्यान गुमाउनु नपरोस् भने लक्ष्य सहित स्वास्थ्य क्षेत्र सुधारको लागि पत्रकारिताको माध्यम बाट दवाव सृजना गर्ने एक जना महिला पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्यले पुरस्कारको स्थापना गरिएको हो।
नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सभापति सञ्जय कार्कीले २०८१ को लागि छनौट भएकी सिमरा बाराका रेडियो समर्पणका प्रमुख एवम् रातोपाटी अनलाइनका संम्बाददाता शारदा पोखरेल र २०८२ का लागि छनौट भएकी खुट्टा पिपराढी ४ महोतरीकि टि भी टुडे जनकपुरमा कार्यरत चाँदनी झा को नाम घोषणा गर्दै छनौट भएकी दुवै जना महिला पत्रकारलाई बधाई दिएका छन्।
कार्यक्रममा सम्बोधन गर्दै यस्तो कार्यको थालनी गर्नु हुने रामा यादव स्मृति प्रतिष्ठानका संरक्षक जय प्रकाश यादवलाई धन्यवाद ज्ञापन गरे। अहिलेको अवस्थामा पत्रकारिता पेसालाई मर्यादित र सभ्य बनाउनु पर्ने ठुलो चुनौती रहेकोले जिल्लाका सबै सञ्चारकर्मीलाई पेसागत मर्यादा कायम गर्दै अघि बढ्न सुझाव दिए। सञ्चार क्षेत्रमा सञ्चार उद्यमी स्वर्गीय रामा यादवको भूमिका निकै महत्त्व पूर्ण भएको चर्चा समेत गरे। उहाँले देखेको सपना पुरा गर्न सम्पूर्ण सञ्चारकर्मीले सहयोग गर्नु पर्ने धारणा राखे।
कार्यक्रममा पूर्व केन्द्रीय सदस्य शिव पुरीले सामाजिक सञ्जालमा देखिएको विकृति विसङ्गतिलाई नियन्त्रण गर्नु पर्ने जोड दिए। एक पत्रकारले अर्को पत्रकारलाई लक्षित गरी प्रयोग गर्ने शब्दको कारण पत्रकार प्रति वितृष्ण फैलिँदै गएको सभ्य रूपमा सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गर्दै समाजको परिवर्तनको लागि भूमिका निर्वाह गर्न आग्रह गरे।
बरिष्ठ पत्रकार प्रभात कुमार झाले कोरोना भाइरसको बेला २ जना सञ्चारकर्मी गुमाएको पीडा हामी भुल्न नसकेको बताए। रामा यादव र मनोज चौधरीको भएको निधनले सबै पत्रकार मर्माहत भएको अवस्था रहेको उल्लेख गरे।
जय प्रकाश यादवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता, प्रेमचन्द्र झा, नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका उपाध्यक्ष सुब्बा कार्की, श्रमजीवी पत्रकार सङ्घ नेपाल रौतहटका अध्यक्ष सन्तोष पौडेल लगायतले आफ्नो आफ्नो धारणा राखेका थिए।
पत्रकार राकेश कुमार यादवले सञ्चालन गरेको कार्यक्रममा विभिन्न सञ्चार माध्यम सङ्घ आबद्ध रहेका पत्रकारहरूको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ।