भोजपुर, १ चैत्र । ग्रामीण क्षेत्रका कृषकहरूलाई सहजरूपमा पशु स्वास्थ्य सेवा दिनका लागि एक दिने शिविरको आयोजना गरिएको छ । पशु चौपायाहरूमा विभिन्न किसिमका समस्याहरू देखिने गरेको अवस्थामा सो नियन्त्रण र उपचारका लागि पशु स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजक राम मिथिला बहुप्राविधिक शिक्षालयका प्रमुख नविन चापागाईँले बताउनुभयो ।
जिल्लाको रामप्रसाद राई गाउँपालिका वडा नम्बर पाँच, मानेभञ्ज्याङमा सञ्चालनमा रहेको शिक्षालयले भोजपुर उद्योग वाणिज्य सङ्घको माग प्रस्ताव र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरको सहयोगमा भोजपुर नगरपालिकाको वडा नम्बर १२, टक्सारमा पशु सेवा शिविर सञ्चालन गरेको हो । ३९० घण्टे (६५ दिने) निःशुल्क ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिमका सहभागीहरूलाई सीप सिकाउने र भोजपुरका कृषकहरूलाई सेवा सहयोग गर्ने उद्देश्यले निःशुल्क आधारभूत पशु स्वास्थ्य शिविरको आयोजना गरेको शिक्षालयले जनाएको छ ।
शिविरमा तीन सय ४६ वटा पशुचौपायाहरूको स्वास्थ्य परीक्षण गरी औषधी समेत नि:शुल्करूपमा बितरण गरिएको छ ।प्रशिक्षणका सहभागीहरूले आफ्नो क्षेत्रमा दक्ष ढङ्गले काम गर्न सक्ने शिक्षालयका प्रमुख चापागाईँको भनाई रहेको छ । शिविरमा पशु स्वास्थ्य परीक्षण, खोप, बन्ध्याकरण, गोवर परीक्षण जस्ता सेवाहरू राखिएका शिविर सहजकर्ता अनिल बस्नेतले जानकारी दिनुभयो ।
उद्योग वाणिज्य सङ्घको माग प्रस्तावमा सञ्चालन भएको शिविर प्रभावकारी देखिएको सङ्घका अध्यक्ष कर्ण मोक्तानले बताउनुभयो । प्राविधिक विषय अन्तर्गतका यस्ता तालिम र अभ्यासहरूले कृषकहरूलाई समेत राहत मिल्ने अध्यक्ष मोक्तानले बताउनुभयो । अध्यक्ष मोक्तानले भन्नुभयो, “जिल्लाका धेरै कृषकहरू पशुपालन व्यवसायमा जोडिएका छन, तर उनीहरूमा पशुमा लाग्ने रोग र उपचार पद्धतिका विषयमा पूर्ण जानकार छैनन् ।” जनशक्ति अभावमा राज्य तहका पशु प्राविधिक सबै ग्रामीण भेगमा पुगेर सेवा प्रवाह गर्न नसकिरहेको अवस्था पनि छ । पशु स्वास्थ्यलाई सहज रूपमा विस्तार गर्ने लक्ष्यले गरिएको प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने छ ।
‘एक सिप, एक प्रहरी’ को नारा कार्यान्वयनमा सशस्त्र प्रहरी बल गुल्म नम्बर पाँच हेडक्वाटर टक्सारका प्रहरी समेत तालिममा सहभागी थिए । स्थानीयस्तरका नागरिकले भोगेको समस्यालाई ध्यानमा राख्दै शिक्षालयले ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिमको आयोजना गरेको हो । शिक्षालयबाट उत्पादन भएका जनशक्तिले भावी दिनमा सहज रूपमा ग्रामीण भेगमा पशु सेवालाई विस्तार गर्न सक्ने स्थानीय घमचन्द्र दाहालले बताउनुभयो ।
दाहालले भन्नुभयो, “वर्षौबाट पशुपालन गरिरहेको भएपनि पशुमा लाग्ने रोगका विषयमा कृषकहरू जानकारी नहुँदा समस्या रहेको अवस्थामा तालिम दिदै सहभागीलाई ग्रामीण क्षेत्रमा पनि परिचालन गरिँदा स्थानीय कृषकहरूमा पनि उत्साह थपिएको छ ।” तालिम लिने अवसरसँगै सेवा समेत गर्ने मौका पाएकोमा तालिमका सहभागीहरू पनि खुसी देखिएका छन ।