होली पर्वको उत्पत्तिको चर्चा प्राचीन हिन्दू ग्रन्थहरूमा वर्णित "हिरण्यकश्यपु" "प्रह्लाद" र "होलिका"सँग जोडिएको छ। भक्त प्रह्लादलाई जलाउन खोज्दा होलिका आफैं जलेर भस्म भएपछि अन्तत: असत्यमाथि सत्यको विजय हुने प्रतिकात्मक रूपमा मनाइने पर्व हो होली । वसन्त ऋतुको आगमनलाई स्वागतस्वरूप मनाइने होली रंग, उमङ्ग र सद्भावको पर्व हो, जुन नेपाल र भारतलगायत विभिन्न देशमा धुमधामले मनाइन्छ। जसलाई रंगहरूको पर्व पनि भनिन्छ। फागु पूर्णिमा वा चैत्र शुक्ल प्रतिपदाको अघिल्लो दिन मनाइने यो पर्व नेपालमा होली विशेष गरी पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन र तराई क्षेत्रमा त्यसको भोलिपल्ट धुमधामका साथ मनाइन्छ।
होली हिन्दू धर्मग्रन्थहरूमा वर्णित भगवान् विष्णुका भक्त प्रह्लादको कथासँग सम्बन्धित छ। कथाअनुसार, दुष्ट राजा हिरण्यकश्यपुले आफ्नो पुत्र "प्रह्लाद"लाई मार्नका लागि आफ्नी बहिनी "होलिका"लाई आगोमा बस्न लगाए। होलिकाले आगोमा नजल्ने वरदान पाएकी थिइन्, तर भगवान् विष्णुका भक्त प्रह्लादको रक्षा हुन गइ होलिका नै जलेर भष्म भइन्। यही घटनाको सम्झनामा होली पर्व मनाइन्छ, जसले सत्यको विजय र असत्यको पराजय हुने प्रतिकात्मक सङ्कथन छ । होलीको मुख्य आकर्षण विभिन्न रंगको अबीर, पानी तथा प्राकृतिक रंगहरू प्रयोग गरी एक-अर्कालाई रंग्याउने परम्परा हो। होलीको अवसरमा वैमनस्यता बिर्सेर आपसी प्रेम, सद्भाव र एकता बढाउने प्रयास गरिन्छ। नेपालकाकेही स्थानमा पूर्णिमाको अघिल्लो रात आगो बालेर होलिका दहन गर्ने परम्परा छ। यसैगरी होलीको दिन गाउँ, शहरमा ढोल, मादलसहित विभिन्न सांस्कृतिक कार्यक्रम, भजन, नृत्य र गीतगाउने चलन छ। विशेष गरी पुलौ, मिठाइ, भांग मिसाइएको ठंडाई जस्ता परिकारहरू पनि खाने प्रचलन छ ।
काठमाडौं उपत्यकामा वसन्तपुर दरबार क्षेत्रमा होलीको एक साताअघिदेखि लिंगो ठड्याएर औपचारिक रूपमा उत्सवको शुरूवात गर्ने परम्परा छ। यसैगरी मधेसका विभिन्न जिल्लाहरूमा होली फागु पूर्णिमाको भोलिपल्ट विशेष धुमधामका साथ मनाइन्छ, जहाँ विशेष परिकार, ढोल-नगाडा, नृत्य र बाजागाजासहित होली खेलिन्छ। यस पर्वलाई समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा होली केवल धार्मिक पर्व मात्र नभई सामाजिक मेलमिलाप, प्रेम र सद्भावको पनि पर्व हो। नेपाली समाजमा यसको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्त्व रहेको छ, जसले नेपाली विविधतालाई झल्काउँछ।
यो रंगहरूको मात्र पर्व नभई समाजमा भाइचारा, परस्पर एकता र मेलमिलापको सन्देश दिने पर्व हो। समाजमा विभिन्न प्रकारका द्वन्द्वहरू जातीय, धार्मिक, वर्गीय, वा व्यक्तिगत मनमुटाव हुनसक्छन्। होलीले यी सबै भिन्नतालाई बिर्सन मद्दत गर्छ र पारस्परिक सद्भाव बढाउने अवसर पनि यस पर्वले प्रदान गर्दछ। होलीको अवसरमा मानिसहरू एक-अर्कालाई रंग लगाउँदै शुभकामना आदान-प्रदान गर्ने हुँदा यसले व्यक्तिगत मनमुटाव तथा द्वन्द्व कम गर्न मद्दत पुग्ने देखिन्छ। परम्परागत रूपमा पनि होलीमा दुश्मनलाई समेत मित्रवत् व्यवहार गर्ने मान्यता रहेको छ।
नेपाल विविध जातजाति र धर्म मान्नेहरूको साझा थलो हो । होलीजस्तो खुला पर्वले सबै समुदायलाई एकै स्थानमा ल्याउँछ र आपसी सम्बन्ध सुदृढ पार्दछ। धार्मिक सहिष्णुता र जातीय एकता कायम गर्न यो पर्व महत्त्वपूर्ण छ । होलीको दिन सबै मानिस समान हुन्छन् न त धनी-गरिबको भेद रहन्छ, न त जातीय वा वर्गीय भिन्नता। सबैले एकै प्रकारले होली मनाउने हुँदा समाजमा समानताको भावना जागृत हुन्छ। होली सार्वजनिक स्थानमा सामूहिक रूपमा मनाइन्छ, जसले सामाजिक एकता बलियो बनाउँछ। गाउँ, टोल, तथा समुदायमा होली खेल्दा परस्परमा सहयोग, सम्मान र आपसी सद्भाव बढ्ने गर्छ। नेपालमा विभिन्न समुदायहरूले आ-आफ्नै शैलीमा होली मनाउने भएकाले यो पर्व सांस्कृतिक आदान-प्रदानको अवसर पनि हो। यसले विविध संस्कृतिलाई बुझ्न, स्वीकार्न र आदर गर्न सिकाउँछ, जसले समाजमा एकता बढाउँछ । यसर्थ, होली केवल एउटा धार्मिक वा सांस्कृतिक पर्व मात्र होइन, यो सामाजिक एकता र सहअस्तित्वलाई प्रवर्द्धन गर्ने पर्व हो। रंगहरूको माध्यमबाट प्रेम, मेलमिलाप, र सद्भाव फैलाउँदै समाजलाई समावेशी, सहिष्णु, र एकताबद्ध बनाउन होलीले महत्त्वपूर्ण भूमिका खेल्छ।
होली उत्सवको रूपमा समाजमा मेलमिलाप, एकता र सद्भाव फैलाउने पर्व हो। तर, पछिल्ला वर्षहरूमा यस पर्वसँग केही विकृतिहरू पनि देखा पर्दै गएका छन, जसले यसको वास्तविक उद्देश्यलाई ओझेलमा पार्न थालेको छ। यस्ता विकृतिहरूलाई हटाएर होलीलाई मर्यादित, सुरक्षित र संस्कृतिकै अनुरूप मनाउन आवश्यक छ । विशेष गरी महिलामाथि जबरजस्ती रंग दल्ने, धम्क्याउने वा अभद्र व्यवहार गर्ने चलन बढ्दो छ । यो संस्कृति भित्र मौलाएको विकृति हो । यसलाई कम गर्न "सहमतीय होली" को अवधारणालाई प्रवर्द्धन गर्दै सामाजिक चेतना फैलाउनु अपरिहार्य छ। होलीको अवसरमा धेरै स्थानमा मदिरा तथा अन्य लागू पदार्थको सेवन अत्यधिक हुने गरेको देखिन्छ, जसले हिंसा, झगडा, र दुर्व्यवहारलाई निम्त्याउँछ। होलीमा ग्याङ्ग फाइट जस्ता घट्नाले मानवीय क्षेती समेत हुने गरेकाले मादक पदार्थ तथा लागू औषध नियन्त्रणका लागि सम्बन्धित निकायहरूलाई जानकार हुनुपर्ने देखिन्छ । होलीको नाममा आपत्तिजनक क्रियाकलाप, अश्लील शब्दावली प्रयोग, दुर्व्यवहार, तथा अनावश्यक गालीगलौजलाई रोक्न सम्बन्धित निकायको ध्यान पुग्न सकोस् ।
सामाजिक सञ्जाल तथा मिडियाको माध्यमबाट सभ्य र मर्यादित होली मनाउन प्रेरित गर्दै जानुपर्ने देखिन्छ। अत्यधिक पानीको दुरुपयोग, हानिकारक रसायनिक रंगहरूको प्रयोग तथा प्लास्टिकजन्य फोहोरले वातावरण प्रदूषणले समाज र वातावरणमा समेत नकारात्मक प्रभाव पर्दै गएको देखिन्छ।
होली आपसी प्रेम, मेलमिलाप र सद्भावको पर्व भएकाले यसलाई मर्यादित, सुरक्षित र सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्नका लागि व्यक्तिगत स्तरदेखि समुदाय र सरकारी निकायसम्म सबैको जिम्मेवारी रहनुपर्छ। सचेतना, कानुनी व्यवस्था र सामाजिक अभियानमार्फत होलीमा देखिएका विकृतिहरूलाई हटाई सभ्य र सौहार्दपूर्ण रूपमा मनाउँदा अझ यसको महत्त्व बढ्न जान्छ।
लेखक:
- चक्र बहादुर कार्की
gmail: [email protected]
लेखक नेपाली काङ्ग्रेस भोजपुरका जिल्ला सचिव हुनुहुन्छ भने उहाँ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागबाट समाजशास्त्र विषयमा विद्यावारिधि अनुसन्धानरत हुनुहुन्छ ।
(प्रकाशित लेख लेखकको आफ्नो निजी विचार हो।)