शनिबार ०७ असार, २०८२

नेपाली समय

एचपिभी खोप: भोजपुर नगरपालिका भित्र तेह्र सय बढीलाई दिइने

एचपिभी खोप: भोजपुर नगरपालिका भित्र तेह्र सय बढीलाई दिइने

भोजपुर, १८ माघ । आगामी माघ २२ गते देखि अभियानकारुपमा सञ्चालन हुने पाठेघरको क्यान्सर विरुद्ध दिइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान अन्तर्गत भोजपुर नगरपालिकाले एक हजार तीन सय १० जनालाई खोप लगाउने भएको छ । 

भोजपुर जिल्लामा दुई चरणमा खोप कार्यक्रम सञ्चालन हुँदै छ । जसमा भोजपुर नगरपालिकाले भने माघ २२ गतेदेखि २६ गतेसम्म पालिका भित्र खोप अभियान सञ्चालन हुने जनाएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रवार खोप समन्वय समिति, पत्रकार र सरोकारवाला निकायको बिचमा गरेको अभिमुखीकरणमा नगर क्षेत्रका २५ वटा विद्यालय मार्फत एक हजार एक सय २२ जना र विद्यालय बाहिरका एक सय ८८ जना किशोरीहरूलाई एचपिभी खोप लगाउने लक्ष राखिएको स्वास्थ्य शाखाका स्टार्फ नर्स ज्ञानु श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार भोजपुर नगरपालिका भित्र ३९ वटा खोप केन्द्र निर्धारण गरिएको छ । 

कक्षा छ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिइने छ । भोजपुर नगरपालिकाका नगर प्रमुख तथा नगर खोप समन्वय समितिका अध्यक्ष कैलाश कुमार आलेले दोस्रो समस्याकारुपमा पाठेघरको क्यान्सर देखिएकाले यसको विरुद्ध दिइने सञ्चालन हुन लागेको खोप अभियान सफल बनाउन सबैको दायित्व हुने बताउनुभयो । अभिमुखीकरणका सहभागी विद्यालयका प्रतिनिधि, सञ्चारकर्मी, उद्योग वाणिज्य सङ्घ, वडाध्यक्ष, नागरिक समाज, आमा समूह लगायत सबै क्षेत्रले खोप सफल बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । 

नौ वटा स्थानीय तह रहेको भोजपुरमा पहिलो चरणमा पाँच र दोस्रो चरणमा चार वटा पालिकामा खोप अभियान सञ्चालनको तयारी गरिएको छ । जिल्लामा भने कुल आठ हजार चार सय १९ जना किशोरीलाई एचपिभी खोप दिन लागिएको छ । खोप अभियान सञ्चालनका लागि जिल्लाका एक सय ३५ विद्यालय, नौ स्थानीय तहका ८१ वटै वडा, ८१ वटा स्वास्थ्य संस्था र नौ वटा समुदाय स्तरीय खोप केन्द्र गरी दुई सय २५ खोप केन्द्र निर्धारण गरिएको छ भने जसका लागि दुई सय २५ जना स्वास्थ्यकर्मी र चार सय ५० जना स्वयम सेवक परिचालन गरिने छ ।