रौतहट, २५ मङ्सिर । माननीय नागेन्द्र साहको पहलमा दुर्गा भगवती गाउँपालिकाको बडहर्वा स्थित सामुदायिक भवनमा आँखा शिविर सम्पन्न भएको छ। गरिब, दलित, महिला, मुस्लिम समुदायहरूलाई लक्षित गरी गरिएको एक दिनको निःशुल्क आँखा शिविरबाट ४६८ जना सेवाग्राही लाभान्वित भएका छन्।
आँखा शिविरमा पहिचान गरिएका मोतियाविन्दुका बिरामीहरूलाई शल्यक्रिया समेत निःशुल्क गरिएको थियो । बिहान ९ बजे देखी सञ्चालन भएको शिविरमा जम्मा ४६८ जना सेवाग्राही लाभान्वित भएका छन् । जसमध्ये १३६ जनाहरूलाई मंगलवार, बुधवार र बिहिबार गौर आँखा अस्पताल पुरेनवामा निःशुल्क शल्यक्रिया हुने भएको छ ।
कार्यक्रम डाक फाउन्डेसनको आर्थिक सहयोग, नेपाल नेत्र ज्योति सङ्घ,गौर आँखा अस्पतालको आयोजना, र स्थानीय आयोजक मनोज यादव समाजसेवीको नेतृत्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रमलाई सेवामुखी र थप प्रभावकारी बनाउनका लागि विशेष अतिथिको रूपमा गाउँपालिका प्रमुख शम्भु सिंह, गौर आँखा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार सिंहले आफ्नो मन्तव्य राख्दै आँखाको पहुँचबाट बाहिर रहेका जनताहरूलाई समय सापेक्ष निःशुल्क सेवा प्रदान गर्न स्थानीय सरकार र हरेक दातृ निकायसँग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए ।
गौर आँखा अस्पतालबाट खटिएका प्राविधिक टोलीको नेतृत्व वरिष्ठ दृष्टि विशेषज्ञ मदन चौधरी लगायत ९ जना कर्मचारी सहभागी भएको थियो । उक्त कार्यक्रममा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थिए ।
शिविरमा आएका सेवाग्राहीहरूलाई आयोजक संस्थाहरूले निःशुल्क रूपमा औषधि, चश्मा र लेन्स सहितको आँखाको निःशुल्क शल्यक्रिया १३६ जनालाई तथा सहभागीहरूलाई परामर्श समेत दिइएको थियो । साथै शल्यक्रिया गर्न सकिने सेवाग्राहीलाई गौर आँखा अस्पतालसम्म जाने आउने यातायातको सुविधा निःशुल्क गरिने स्थानीय आयोजक मनोज यादवले बताए ।