रौतहट, २१ मङ्सिर । रौतहटको देवाही गोनाही नगरपालिकाको वडा नं.५ पिप्रामा हुँदै गरेको ढलानमा पिपिसी सिमेन्टको प्रयोग भएपछि स्थानीयहरूले विरोध गरेका छन् । सङ्घीय सरकारको कुल ८० लाखको लागतमा निर्माण हुँदै गरेको सडकमा ओपिसीको सट्टा पिपिसी सिमेन्ट प्रयोग गरेर ढलान गर्न थालेपछि स्थानीयहरूले सो कार्यको विरोध गरेका छन् ।
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहको निर्देशनमा कमदारहरुले सडक ढलानमा पिपिसी सिमेन्ट प्रयोग गरी रहेको स्थानीय नेपाली काँग्रेसका नेता भोला राय यादवले बताए । सडक ढलानमा कमसल सामग्री प्रयोग गरिरहँदा स्थानीयहरूले विरोध गर्दा पनि मेयर साहले काम नरोकिएको यादवले बताए ।
भौतिक संरचना वा सडक ढलान जस्ता सरकारी स्तरको कार्यमा होडिङ्ग बोर्ड राख्नुपर्ने सरकारी नियम भएपनि मेयर साहले सत्ता र पावरको बलमा बोर्ड नलगाई सडक ढलान कार्य गराई राखेको नेता यादवको भनाई रहेको हो । यसै विषयलाई लिएर नेता यादवले पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवलाई जानकारी गराएपनि उनले काम नरोकिएको आरोप लगाए ।
सरकारी निकायबाट हुने कार्यमा इस्टीमेट बोर्डराख्नु पर्ने नियम रहेकाले यसमा सम्बन्धी व्यक्तिले नै ध्यान दिनुपर्ने हाकिम यादवले बताए । त्यस्तै सोही ढलानको लागि जयनगरमा रहेको हार्डवेयर पसलबाट लोड गरिएको पिपिसी सिमेन्ट स्थानीयले देखेर विरोध गर्दा सो सिमेन्ट गोदाममै थन्काइएको कुरा पनि बाहिरिएको छ ।
पिपिसी सिमेन्टको प्रयोगबाट हुने ढलान कमसल भएपछि सरकारको लगानी बालुवामा पानी खन्याको सरह हुने भन्दै त्यसलाई रोक स्थानीयहरूले प्रयास गरेपनि मेयर साहले जबरजस्ती गरी ढलान कार्य गराई रहेको स्थानीयहरूको भनाई रहेको छ ।