रौतहट, २० मङ्सिर । रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रम हुँदै आएको छ ।
मङ्सिर शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा विवाहपंञ्चमी महोत्सव मनाइन्छ । प्रत्येक वर्ष विवाहपंञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयंवर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा रहेको हो ।
गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनंन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।