लहान, १८ मङ्सिर । सिरहामा ३३औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानसँगै मनाइएको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा सिरहाका विभिन्न स्थानमा अपाङ्गता भएका व्यक्तिहरूका समस्या र समाधानबारे र्याली र अन्तरक्रिया कार्यक्रमगरिएको छ । यस वर्षको राष्ट्रिय नाराका रूपमा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएको व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार” नाराका साथ अपाङ्गता दिवस मनाईएको हो।
“समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएको व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार” नारालाई प्राथमिकता दिँदै सिरहा नगरपालिकाको आयोजनामा र मुक्ति नेपाललगायत विभिन्न संस्थाको समन्वयमा र्याली र सभा आयोजना गरिएको थियो । सिरहाको बजार परिक्रमा गरेको र्याली नगरपालिकाको सभाहलमा पुगेर अपाङ्गता भएका व्यक्तिहरूका समस्या र समाधानका उपायमा छलफलमा परिणत भएको थियो ।
गोलबजार नगरपालिका वडा नम्बर १३ मा नेत्रहीन संघ सिरहा र स्थानीय निकायको सहकार्यमा नेत्रहीनहरूको समस्या, सरकारका सेवा–सुविधामा सहज पहुँच र आरक्षणको प्रभावकारिताबारे अन्तरक्रिया भएको थियो । वडाध्यक्ष नन्द कुमार महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, रोजगारी र पूर्वाधार निर्माणमा सुधारका उपायमा गहन छलफल भएको छ ।
कल्याणपुर नगरपालिकामा मुक्ति नेपाल र जिल्ला अपाङ्ग असहाय केन्द्रको सहकार्यमा सरोकारवालासँग अन्तरक्रिया गरियो। आत्मनिर्भर अपाङ्ग व्यक्तिहरूलाई सम्मान गर्दै, उनीहरूको अधिकार सुनिश्चिता गर्ने प्रतिबद्धता दोहोर्याएका थिए ।
समाजले अपाङ्गता भएका व्यक्तिहरूलाई अझै पनि पूर्ण रूपमा समावेश गर्न नसकेको यथार्थतर्फ सबैको ध्यान जाँदासमेत यस्ता अभियानहरूले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।