शनिबार २२ मंसिर, २०८१

नेपाली समय

शुक्लाफाँटामा बाघ गणना सुरु

शुक्लाफाँटामा बाघ गणना सुरु

सुदूरपश्चिम, १४ मङ्सिर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाघको गणना सुरु गरिएको छ । निकुञ्जको जङ्गल क्षेत्रमा क्यामेरा ‘ट्यापिङ’ विधिबाट बाघको अनुगमन तथा गणना सुरु गरिएको हो । यसका लागि जङ्गल क्षेत्रको आवश्यक ठाउँमा क्यामेरा जडान गरिएको छ । 

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले क्यामरा ‘अन’ गरेर आज बाघ गणना कार्यको थालनी गर्नुभयो । सो अवसरमा निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीले निकुञ्जका गतिविधि बारेमा प्रकाश पार्नुभएको थियो । 

निकुञ्जमा वर्सेनि बाघको सङ्ख्या बढ्दै गएको अधिकृत चौधरीले बताउनुभयो । गत वर्ष गरिएको बाघको गणनाका क्रममा निकुञ्जमा ४४ वटा बाघ फेला परेका थिए । यसअघि विसं २०७८ सम्म निकुञ्जमा ३८ बाघ थिए । 

आर्थिक वर्ष २०७८/७९ को निकुञ्जको वार्षिक तथ्याङ्कका अनुसार निकुञ्जमा १७ गैँडा, दुई हजार तीन सय १३ बाह्रसिङ्गा र ८२ निलगाई छन् । करिब ५६ प्रजातिका घस्रिने जन्तु, १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, चार सय ५० प्रजातिका चरा रहेका छन् । 

तीन सय पाँच वर्गकिमीमा फैलिएको यो निकुञ्जमा बाह्रसिङ्गाको ठूलो झुण्ड र दुर्लभ पाटेबाघ देख्न सकिन्छ । यो क्षेत्रमा करिब ५४ वर्गकिमी क्षेत्रफलमा घाँसै मैदान छ । निकुञ्जको दीर्घकालीन संरक्षण गरी पर्यापर्यटनमार्फत स्थानीय समुदायको जीवीकोपार्जनमा टेवा पुग्ने सक्ने अवसर रहेको भए पनि पर्यटकीय पूर्वाधारको कमी र प्रचारप्रसारको अभावको कारण निकुञ्जमा क्षमताअनुसार पर्यटकहरु भित्रिन नसकेको जनाइएको छ । 

मन्त्री शाहीले निकुञ्जको मझगाउँमा नवनिर्मित दुई तल्ले भवनको पनि उद्घाटन गर्नुभयो ।