कीर्तिपुर, ११ मङ्सिर । देशैभर स्थानीय निकायको निर्वाचन गैर दलीय हुनुपर्ने, स्वतन्त्र व्यक्तिहरूबाट निर्वाचित हुनुपर्ने र त्यसका लागि कानुन नै संशोधन गर्नुपर्ने माग राख्दै नागरिक अभियानका अभियन्ता सनोज महतले कीर्तिपुर धर्ना सुरु गरेका छन्। आर्थिक, सामाजिक र राजनीतिक सुधारको लागि राज्य र शासन व्यवस्थाका हरेक नीति/विधिमा नागरिक हित पहिलो प्राथमिकता' हुनुपर्ने र स्थानीय निकायको निर्वाचन गर्दा गैर दलीय स्वतन्त्र व्यक्तिबिच उम्मेदवारहरूको प्रतिष्पर्धा हुनुपर्ने माग राख्दै धर्ना सुरु गरेका हुन्।
मङ्सिर १६ गते नेपाल सरकारले रिक्त हुन गएका ३२ स्थानीय तहका ३४ स्थानमा उप–चुनाव गर्दै छ । लोकतन्त्रमा आम नागरिकले शासनव्यवस्था सुधार्न पाउने उत्तम मौका चुनाव नै भएको महतको भनाई छ। राजनीतिक दलहरूले गरेका बेथिति, भ्रष्टाचार र बदमासी अझ बढेको र यसलाई रोक्न, स्थानीय ठाउँहरूलाई आफैँ मालिक बन्दै दलहरूले गरेको गल्ती पुनरावृत्ति हुन नदिन पनि स्थानीय तहहरूमा स्वतन्त्र गैर राजनीतिक व्यक्तिबिच मात्र चुनावी प्रतिष्पर्धा हुनुपर्ने उनको माग छ।
महत भन्छन्, "स्थानीय तह घर आँगनको सरकार हो । यसमा पार्टीगत प्रतिस्पर्धा हुँदा छर छिमेकबिच मनमुटाब र तिक्तता त बढ्छ नै । जितेर गएको प्रतिनिधिले प्रतिस्पर्धी पार्टीका कार्यकर्तालाई त दुष्मनी कै तवरले व्यवहार गर्दछ । बजेट विनियोजन देखि विकास निर्माण र सामाजिक न्यायमा समेत पार्टीगत पक्षधरता लिई दिँदा सामाजिक सद्भावमा असर परि रहेको छ ।"
साथै मङ्सिर १६ गते हुने कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा उनले मेयर पदका स्वतन्त्र उम्मेदवार राजमान मानवलाई समर्थन गरेका छन्। लोकतन्त्रमा शक्ति आम नागरिकको हातमा हुने, सो शक्ति मतदान मार्फत आफ्ना प्रतिनिधिमा आवधिक हस्तान्तरण हुने हुँदा, निर्वाचन कानुन बदल्न र स्थानीय तहलाई गैर दलीय स्वतन्त्र बनाउन आम मतदाताले स्वतन्त्रलाई भोट हाली जिताउनु पर्ने उनको तर्क छ।