रौतहट, ९ मङ्सिर । जिल्लाको उतरी भेगमा रहेका चन्द्रपुर नगरपालिका स्थित सन्तपूरमा आयोजित कर्तिकेश कुँवर मेला एवं शमाचकेवा महोत्सवमा आयोजक समितिले आयोजना गरेको सन्तपुर मेलामा खुलेआम जुवा खेलाईएको छ । सन्तपुर बजार स्थित मैदानमा आयोजित मेलामा आयोजककै मिलेमतोमा दिनदहाडै हजारौँ लाखौँ रुपैयाँ हारजीत हुनेगरी जुवा खेलाइएको हो ।
सार्वजनिक स्थलमा अवैध खेल सञ्चालन भइरहँदा मेला स्थलमा ड्युटीमा खटिएका स्थानीय प्रहरीले बेवास्ता गर्ने गरेको हो । जुवाको खाल नदेखे झैँ गरी प्रहरीहरू मञ्चमा आयोजित मनोरञ्जनात्मक कार्यक्रम हेर्नमा मस्त हुने गरेको पाइएको हो ।
जुवा खेलाइएको स्थानबाट पटक–पटक आउजाउ गरिरहेका बर्दीमा खटिएका प्रहरी जुवा खाल नदेखेझैँ गरिरहेका भेटिने गरेका छन् । गाउँबाट मेला हेर्न आएका सोझा दर्शकलाई झुक्याएर जुवा खेलाउनेले आफु अनुकूल हजार–हजार रुपैयाँ थापेर हारजीत गरिरहेका थिए ।
मेलामा सर्वसाधारणलाई भ्रममा पारेर पैसा लुट्ने योजना सहित यस अघिका मेला महोत्सवमा पनि जुवा हुने नभएतापनि यो वर्ष भने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी राजकुमार राई विदेश भएको र प्रहरी सक्रियता फितलो भएको मौका छोपेर जुवाजन्य गतिविधिहरू तीव्र भएको मेलामा घुम्न आएका स्थानीयहरूले बताउँदै आएका छन् ।
लंगुर बुर्जा (डाईस) मेलामा यत्रतत्र देखिने गरेका छन्। साँझ परेपछि देखि नै लंगुर बुर्जा खेलाउनेको सक्रियता बढ्दै रातको समयमा भने जुवामय हुने गरेको छ । लाखौँ रुपैयाँको हारजित हुने गरी खेल सञ्चालन गर्दै मेलामा जुवा खेलाउनेलाई पक्राउ गरेर कारबाही गर्नुपर्नेमा रौतहट प्रहरीले सन्तपुर मेलामा भने जुवाको खाल देखे पनि नदेखेझैँ गरेको पाइएको छ ।
मेलामा खेलाइएको जुवा यस्तो छ : नम्बर भएको फ्लेक्समा पैसा राखिन्छ । खेलाउनेले धेरै पैसा भएको ठाउँमा पारेको जस्तो गरी आफ्नै आसेपासेलाई केही पटक पैसा पारिदिन्छन् । त्यो देखेर लोभिएका सर्वसाधारणले पनि पैसा जुवामा थाप्छन् । थोरै पैसा भएको ठाउँमा पारिदिन्छन् या खेल्ने मध्ये पनि आफ्नो आसेपासेलाई पार्छन् । यो कुरा मेला हेर्न विभिन्न ठाउँबाट आएका सर्वसाधारणलाई पत्तो हुँदैन । एक दुई पटक आएको धेरै पैसाले लोभिएर उनीहरू जुवा खेल्छन् । अन्ततः भएको सबै पैसा सकेर रित्तो फर्कन्छन् ।
आयोजकले सांस्कृतिक, कृषि,पर्यटन प्रवर्द्धन गर्ने हेतुले मेला गरिएको बताए पनि जुवा खेलाएर महोत्सवबाट आर्थिक लाभ लिन केही व्यक्ति उद्धत भएको आरोप लागेको हो ।