(भीष्मराज ओझा)
बाकु (अजरबैजान), ३० कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा नेपालले प्रभावकारी सहभागिताका लागि विभिन्न सात विषयगत समूहमा जिम्मेवारी बाँडबाँट गरी विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेको छ । सम्मेलन यही कात्तिक २६ गतेदेखि अजरबैजानको बाकुमा जारी छ ।
वन तथा वातावरण मन्त्रालयले कोप–२९ मा प्रभावकारी सहभागिताका लागि सम्मेलनसँग सम्बन्धित सात विषयमा सहसचिव र उपसचिवहरूको नेतृत्वमा छुट्टाछुट्टै समूह निर्माण गरी वार्ता, छलफल र भेटवार्तामा सहभागी भइरहेको जनाएको हो ।
सम्मेलनमा बिहीबार दिउँसोसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो । उहाँ बिहीबार नै स्वदेश प्रस्थान गर्नुभएपछि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वनमन्त्री ऐनबहादुर शाही ठकुरीले गरिरहनुभएको छ ।
मन्त्री शाही र वनसचिव डा दीपककुमार खरालले आज सम्मेलनस्थलमा नेपालका तर्फबाट भइरहेको कामकारबाही र तयारीबारे जानकारी दिन तथा समीक्षा गरी आवश्यक निर्देशन दिन कार्यक्रमको आयोजना गर्नुभएको थियो ।
नेपालबाट यहाँ आएका सबै सहभागीहरू उपस्थित सो कार्यक्रममा मन्त्रालयले गठन समूहले हालसम्म गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहसचिवहरू धनिराम शर्माले जलवायु वित्त, डा महेश्वर ढकालले जलवायुजन्य हानिनोक्सानी, डा बुद्धिसागर पौडेलले संरचनाको पारदिर्शतामा अभिवृद्धि, नवराज पुडासैनीले कार्बन व्यापार, सञ्जीव राईले क्षमता अभिवृद्धि, उपसचिव धनञ्जय लामिछानेले न्यूनीकरण र उपसचिव दीपा ओलीले समावेशिताका विषयगत समूहले गरेका कामका बारेमा अवगत गराउनुभएको थियो ।
त्यस अवसरमा मन्त्री शाहीले को–२९ सम्मेलनमा नेपालले प्राथमिकता दिएर राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाएको बताउनुहुँदै अपेक्षित उपलब्धि हासिल गर्न सबैको सहयोग र समन्वय आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले नेपालले उठाउँदै आएका जलवायु न्यायका विषयलाई सशक्त बनाउन सरकारी निकायका साथै नागरिक समाज, सञ्चारकर्मी, गैरसरकारी संस्था सबैको सहयोग हुने आशा व्यक्त गर्नुभयो ।
सचिव डा खरालले विषयगत समूहले सहभागिताका क्रममा गरेका कामको दैनिक रूपमा अनुगमन र समन्वय भइरहेको जानकारी दिनुहुँदै प्रभावकारिताका लागि जनशक्तिलाई सशक्त रूपमा परिचालन गरिएको उल्लेख गर्नुभयो । मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा सिन्धुप्रसाद ढुङ्गानाले सम्मेलनमा सहभागी सबै देशको हितमा मात्र बोल्न र काम गर्न आग्रह गर्नुहुँदै सहभागीका लागि आचारसंहिता निर्माण गरिएको जानकारी गराउनुभयो ।
कोप–२९ मा ७३ हजारको सहभागिता
आगामी मङ्सिर ७ गतेसम्म चल्ने कोप–२९ मा हालसम्म एक सय ९३ देशका सरकारी तथा गैरसरकारी प्रतिनिधि, विज्ञ, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थीलगायत गरी ७३ हजार जनाले सहभागिता जनाएको बताइएको छ । सहसचिव डा ढुङ्गानाका अनुसार नेपालबाट यस सम्मेलनमा आउनका लागि वन मन्त्रालयबाट राष्ट्रपति पौडेल नेतृत्वको टोलीसमेत गरी करिब दुई सय जनाको नाम दर्ता गरिएको थियो । त्यसमध्ये अधिकांश सम्मेलनस्थलमा आइसकेको र केही अझै आउने क्रममा रहेका छन् ।
कोप–२९ सम्मेलनको यही कात्तिक २६ गते भव्य समारोहका बीच उद्घाटन भएको थियो । सम्मेलनमा कात्तिक २७ र २८ गते भएको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरू भेला भई आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । उच्चस्तरीय सत्रमा ८० देशका सरकार तथा राष्ट्र प्रमुखले सहभागिता जनाई सम्बोधन गर्नुभएको युएनफसिसिसीको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले उच्चस्तरीयसत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्नुभएको थियो । त्यस्तै नेपालले कात्तिक २८ गते सम्मेलनमा छुट्टै उच्चस्तरीय कार्यक्रम गरी जलवायुको असरले निम्त्याएका प्राकृतिक विपद्का बारेमा विश्वको ध्यानाकर्षण गराएको थियो । सम्मेलन स्थलमा राष्ट्रपति पौडेलको नेतृत्वमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।
यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । जसलाई ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ नाम दिइएको छ । एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्यबारे यस सम्मेलनमा छलफल हुने र सन् २०२५ देखि प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।