नेपालगञ्ज, २८ कात्तिक । यहाँको डुडुवा गाउँपालिका–६ मा बेमौसमी वर्षाका कारण भर्खरै रोपिएको आलुको बीउ खेतमै कुहिन थालेका छन् ।
गत कात्तिक १९ गते परेको बेमौसमी बर्सातका कारण किसानले तीन सय हेक्टर बढी क्षेत्रफलमा लगाएको आलुको बीउ कुहिएपछि किसान मर्कामा परेका हुन् । बीउ कुहिँदा करिब रु एक करोड लगानी खेर गएको किसानले बताएका छन् ।
डुडुवा–६ हिरमिनियाका किसान ओलीराम मुराउले १५ कट्ठा जमिनमा लगाएको आलुको बीउ वर्षाका कारण कुहिँदा एक लाखभन्दा बढी घाटा बेहोरेको बताउनुभयो । “तिहारको भोलिपल्ट परेको पानी खेतभरि जम्यो, पानी जमेपछि बीउ उम्रिएन, सबै कुहियो ।” उहाँले भन्नुभयो ।
उहाँले एउटा पनि नटुसाएको र खनेर हेर्दा बीउ सबै कुहिएको देखिएकाले अब हिउँदभर जमिन बाँझो हुने बताउनुभयो । आलुसँगै आलुको बीउसमेत उत्पादन गर्दै आउनुभएका अर्का किसान वंशीलाल मौर्यले वर्षाले ठूलो क्षति बेहोर्नुपरेको बताउनुभयो । “मैले करिब ४० देखि ४५ बिघा क्षेत्रफल जग्गामा आलु लगाउँदै आएको थिएँ, आलुको बीउ मात्र उत्पादन गर्न दुई बिघा पाँच कट्ठा जमिनमा बीउ रोपेको थिएँ, खेतमा पानी जमेपछि सबै नष्ट भयो”, उहाँले भन्नुभयो ।
डुडुवा–६ का वडाध्यक्ष मोहनराम मिश्रले वडाभित्रका ७० प्रतिशत किसानको आलुखेती नष्ट हुँदा करिब रु एक करोड बराबरको आर्थिक क्षति पुगेको बताउनुभयो । वडाका भङ्गोटना, चौधरीपूर्वा, उधुमगञ्ज, कालाबन्जार, मुन्सी पूर्वा, बल्दी पूर्वा, अहिरापुर, अट्वारीपूर्वा, हिरमिनिया लगायतका गाउँमा बर्षाले ठुलो क्षति पुगेको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत विनोद घिमिरेले पानीका कारण अन्य स्थानमा भन्दा डुडुवाका किसान बढी प्रभावित भएको जानकारी दिनुभयो ।