काठमाडौं, १४ कात्तिक । समलिङ्गी विवाह, विशेष कारण बाहेक गर्भपतन, लिङ्ग परिवर्तन जस्ता कुराले पूर्ण कानुनी मान्यता पाए मानव समाजको विखण्डन, अन्त्य र आम मानवीय समाजको दीर्घकालीन असर पार्ने भन्दै सरोकारवालाहरूले राज्यलाई खबरदारी दिएका छन् ।
राजधानीको माइतीघर मण्डलामा आमूल परिवर्तन नागरिक पार्टीले गरेको उक्त खबरदारी कार्यक्रममा वक्ताहरूले अदालत प्रभावमा परेर समलिङ्गी विवाहको गलत नजिर बसाएकोमा मानवअधिकार वादी नेता डा. केबी रोकायाले समलिङ्गी विवाहले पूर्ण मान्यता पाए समाज र राष्ट्र अन्तर्राष्ट्रिय मानव समाजमा ठुलो दुर्घटना पर्ने चेतावनी दिएका छन् । नेता रोकायाले कुनै आधार बिना धमाधम यसलाई कानुनी मान्यता दिने कार्यप्रति रोष व्यक्त गरे ।
नेपालमा विदेशीहरूले जबरजस्त लादेको बताउँदै भने, “रुसमा समलिङ्गी विवाह गरिए मृत्युदण्ड दिने व्यवस्था रहेको छ, युगाण्डाले समलिङ्गी विवाह विरोधी कानुन पास गरेपछि अमेरिकाले आर्थिक नाकाबन्दी लगायो, यूरोपियन यूनियनले सम्पूर्ण सहयोग र विश्व बैङ्कले ऋण बन्द गरे, अब भन्नुस् यो एजेण्डा कसको हो ?” संसारमा २१० वटा राष्ट्रहरूमध्ये ३५ वटा देशहरूमा मात्रै यस किसिमको विवाहलाई मान्यता दिइएको र नेपाल एसियामै पहिलो राष्ट्र भएकोप्रति डा.रोकायाको चिन्ता व्यक्त गरे ।
आयोजक आमूल परिवर्तन नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले आफूहरूले सामाजिक र प्रकृति विपरीतको समलिङ्गी विवाहको विरोध गर्दै गर्दा स्वतन्त्रता विरोधी भएको आरोपको खण्डन गरे । पछिल्लो समय सर्वोच्च अदालतको एकल इजलासले त्यसलाई मान्यता दिएकोप्रति आक्रोश व्यक्त गर्दै कामीले भने, “अदालत कसको प्रभावमा परेर समाज र देश विरोधी फैसला गर्यो जनता जान्न चाहन्छ ।” “अदालत र सरकारमा बस्नेहरू कुन शक्तिको भरौटे हो ? यस्तो समाज भाँड्ने एजेण्डामा विक्न हुन्छ ? तपाईँहरू कसको दवाबमा हुनुहुन्छ ?” कामिले थपे । सत्ता र सरकारमा बसेर जनपक्षीय भन्दा जनविरोधी कार्यलाई बढावा दिएको भन्दै अध्यक्ष कामीले प्रधानमन्त्री केपी ओलीको राजीनामासमेत मागेका छन् ।
कामीले यसै सन्दर्भमा सरकारलाई प्रश्न गर्दैनभने, "तपाई सरकार र नेपालका नेतालाई के त्यस्तो बाध्यता पर्यो ? अप्राकृतिक अपराधी गतिविधिलाई प्रोत्साहन गर्न तपाईँहरुलाई कुन चिजले बाध्य बनायो ? समलिङ्गी विवाह, अङ्ग परिवर्तन, गर्भपतन भ्रूण हत्याहिंसा मान्यता भनेको समाजको विकृति हो । मानव समाजको अन्त्य हो, सांस्कृतिक र धार्मिक मान्यता विरुद्ध छ । सामाजिक स्वीकार्यता विरुद्ध छ ।"
यसैगरी कामिले भने, "समलिङ्गी विवाहलाई पारिवारिक संरचना र सामाजिक मूल्य र मान्यता विरुद्ध छ । यसर्थ सरकारले तत्काल यस्तो विकृतिका विरुद्ध कदम चालोस् भन्ने जोडदार माग राख्दछु ।"
अर्को प्रसङ्गमा कामिले भने, "देशलाई बचाऔँ । वर्तमान देशको अवस्थामा अत्यन्तै चिन्ताजनक अवस्थामा छ सङ्घीय लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्षता समानुपातिक समावेशी सहितको जनताको अधिकार अत्यन्तै धरापमा परेको हाम्रो पार्टीले ठहर गरेको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता पूर्णसमानुपातिक समावेशिता आम नागरिकको ढुकढुकी हो आवश्यकता छ यो मुद्दामा सहकार्य गरेर नागरिकको हैसियत बाट सङ्घर्ष गर्न चाहन्छन् र आफूलाई आत्मासमिक्षा गरेर देशमा आमूल परिवर्तनको दिशानिर्देश गर्न तयार हुन्छन् भने पूर्वराजा ज्ञानेन्द्र सँग समेत सहकार्य गर्न तयार छौ । यसको मतलब पूर्वराजा ज्ञानेन्द्रको निर्देशन होइन हातमा हात काँधमा काँध मिलाएर देशको रक्षा गर्दै आम नागरिक राष्ट्र अधिकार देशको विकास र समृद्धि गर्ने हो ।प्रधानमन्त्री केपी ओलीको उग्र उखान तुक्का सुनाउने र अराजक शैली एकल जातिवाद एकल नस्लवादी नवसामन्तवादी प्रवृत्ति लाद्ने र अराजकता भ्रष्टाचारी दुराचारीको संरक्षणको रूपमा मात्रै लागेका होकी भन्ने कुरा जनताले अनुभूति गर्न थालेको अवस्थामा छ यसले देशमा अशान्ति र समानता ल्याउने छ । म सचेत गराउन चाहन्छु । पुरानाले गर्न सकेनन् म नै हो । हामी नै हौँ । नयाँ बौद्धिक सक्षम भनेर रास्वपा अध्यक्ष रवि र उनका पार्टीका नेता कार्यकर्तामा समेत देखिएको उग्र स्टनवाजीले देशमा विकास र समृद्धि ल्याउनु सक्दैनन्।"
त्यसैगरी सो पार्टीका अर्का अध्यक्ष तथा प्रवक्ता भरत गिरीले नेपालीको आवश्यकताले भन्दा पनि विदेशीको एजेण्डालाई आङ्गिकार गरेर समाजमा विखण्डन ल्याउने कार्य भएकाले खारेज हुनुपर्ने माग राखे । गिरीले बिस्तारै समलिङ्गी विवाहको विरुद्धमा समाज उठ्नेप्रति विश्वस्त रहेको बताए ।
नेकपा (एमाले)का युवा नेता प्रकाश रोकायाले देश र समाजलाई विकृत बनाउने यस विवाहको प्रावधानलाई ठूला भनिएका पार्टीहरूले पनि विरोध गर्नुपर्ने धारणा राख्दै भने, “यो एजेण्डा पश्चिमा शक्तिहरूको हो र यसमा ठूला नेता, कानुनविद्देखि ठूला भनिएका मिडियासमेत प्रभावमा छन् ।”
अधिवक्ता सन्दिपकुमार शाहीले समलिङ्गी विवाहसम्बन्धी सर्वोच्च अदालतको फैसला समाजलाई अपाच्य भएको र त्यसको विरुद्धमा अदालतमा मुद्दा परिसकेकोले पुनरावलोकन भएर आउने विश्वास लिए । नागरिक सरोकार नेपालका कार्यकारी निर्देशक डा. जोमेश वडले नेपालको जनसङ्ख्या रित्याएर समाज र देश कमजोर बनाउने एजेण्डालाई कुनै पनि हालतमा खारेज गर्नु पर्ने धारणा राखे । भ्रूणको आवाज नेपालकी अध्यक्ष सुसन कुँवर पौडेलले नेपालमा व्यापक मात्रामा भ्रूण हत्या भइरहेको दर्दनाक अवस्था रहँदै गर्दा समलिङ्गी विवाह जस्तो अप्राकृतिक र समाज विरोधी एजेण्डा आउनु दुःखद रहेको बताइन् ।
सुन्दर ढोका साथी सेवाका पुन्य प्रताप शाहले नेपाली समाजलाई केही कसैगरी खण्डित गर्न नसकेपछि अहिले विदेशीहरूले अदालतको बाटो हुँदै समलिङ्गी विवाह जस्तो गलत एजेण्डा घुसाएको आरोप लगाए ।
आयोजक आमूल परिवर्तन नागरिक पार्टीका उप–महासचिव विदुर अधिकारीले सञ्चालन गरेको कार्यक्रममा समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतन जस्ता: ठूला विकृति विरुद्ध माइतीघर मण्डलामा खबरदारी कार्यक्रम गरिएको थियो ।