बिहीबार २९ कात्तिक, २०८१

नेपाली समय

कृषि अनुदानको नाममा चरम भ्रष्टाचार; न्यायिक अनुसन्धानको माग

कृषि अनुदानको नाममा चरम भ्रष्टाचार; न्यायिक अनुसन्धानको माग

रौतहट, २१ असोज । राैतहटकाे पराेहा नगरपालिकास्थित श्री आजाद कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मो. बसीरुद्दिन आजादले सरकारबाट प्राप्त अनुदानको रकम र अन्य शीर्षकहरूमा व्यापक भ्रष्टाचार गरेको पाइएको छ। संस्थाका अध्यक्ष आजादले कृषि अनुदानको नाममा सरकारबाट प्राप्त रकमको दुरुपयोग गर्ने गरेका छन् । उनले फर्जी बिलहरू तयार पारेर रकम हिनामिना गर्ने र सार्वजनिक स्रोतको दुरुपयोग गर्दै आएका छन् ।

श्री आजाद कृषि सहकारी संस्था लि. ले अनुदानको रकम हिनामिना गरेको घटनाले इलाकामा व्यापक जनचासोको विषय बनेको छ। यस सहकारी संस्थाले असोजमा  गौर कृषि ज्ञान केन्द्रबाट कम बेस, सात लाख रुपैयाँको अनुदान लिएको थियो। यो रकम कृषि ज्ञान केन्द्रका प्रमुख सुरेन्द्र प्रसाद कुर्मी ले जय नेपाल राईस उद्योगबिचको मिलेमतोमा लिइएको थियो। स्रोतका अनुसार यो रकम मीलसम्बन्धी योजनाका लागि लिइएको थियो । कुनै मेशिन खरिद नगरी फर्जी बिल बनाइएकोले रकम दुरुपयोग भएको प्रष्ट देखिन्छ।

कृषि ज्ञान केन्द्र र सहकारीको मिलेमतो : रौतहट जिल्लाका विभिन्न नगरपालिकाहरूमा कृषि अनुदानको रकम फर्जी बिल र अनियमित क्रियाकलाप मार्फत् हिनामिना गरिँदै आएको छ। श्री आजाद सहकारी संस्थाका प्रमुखले कमिसन दिएर सरकारी रकमको अनियमित प्रयोग गरेको आरोप लागेको छ। 

गौर, चपुर, गरुडा, परोहा लगायतका पालिकाहरूमा श्री आजाद सहकारी संस्थालगायतका केही सहकारी संस्थाहरूले फर्जी कागजात बनाएर अनुदानको दुरुपयोग गरेको देखिन्छ। यस प्रकरणमा कृषि ज्ञान केन्द्र प्रमुख सुरेन्द्र प्रसाद कुर्मीको भूमिका शङ्कास्पद रहेको छ।

क्षेत्रीय विकासमा अवरोध : यसप्रकारको भ्रष्टाचारले कृषि तथा व्यावसायिक विकासमा गम्भीर असर पारेको छ। अनुदानको रकम सही तरिकाले प्रयोग नगर्दा स्थानीय किसानहरू प्रभावित भएका छन्। उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्य पूरा नहुँदा, कृषि क्षेत्रमा अपेक्षित विकास र रोजगारीका अवसरहरूलाई नकारात्मक प्रभाव परेको छ।

फर्जी बिल र अनियमित कागजात : श्री आजाद कृषि सहकारी संस्थाका अध्यक्ष मो. बसीरुदिन अजादले विभिन्न नगरपालिकाहरूमा फर्जी बिल र कागजात तयार पारेर लाखौँ रुपैयाँ अनियमितता गरेको प्रमाण फेला परेको छ। कृषि सामग्रीको खरिद गर्दा दोकानदारसँग दोब्बर बिल बनाउन लगाई सरकारी रकमको दुरुपयोग गरेको देखिन्छ।

न्यायिक अनुसन्धानको माग 

यस भ्रष्टाचार प्रकरणका विषयमा स्थानीयहरूले न्यायिक तहबाट अनुसन्धानको माग गरेको छ। स्थानीय समुदाय र सरोकारवालाहरूले भ्रष्टाचारको अन्त्यका लागि ठोस कदम चाल्नुपर्ने माग गरेका छन्।

आजाद भ्रष्टाचार प्रकरणको नाइकेको रूपमा : रौतहटमा सहकारी ठगी प्रकरणका नाइकेको रूपमा श्री आजाद कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मो. बसीरुद्दिन आजाद देखिएका छन् । उनीसँग पत्रकारको फर्जी परिचयपत्र समेत रहेको छ । पत्रकारको रूपमा परिचय दिई उनले अधिकृतहरूलाई प्रभावित गर्ने गरेका छन् । उनी प्रत्येक दिन विभिन्न पालिका, सरकारी अड्डा र कृषि ज्ञान केन्द्र धाएका छन् ।

आजाद आफू पत्रकार भएको भन्दै सीमा आसपासका प्रहरी चौकीहरूलाई समेत गुम्राह पार्ने र तस्करहरूसँग रकम असुल गर्ने गरेको जनगुनासो व्यापक छ । उनले कृषि सामग्रीमा व्यापक अनियमितता गरेको, समान खरिद गर्दा दोब्बर बिल बनाउन लगाएको, र सीमापारिबाट कर छल्दै कृषि मल आयात गर्ने गरेको स्रोतको दाबी छ ।