काठमाडौँ, १५ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग एशियाली विकास बैंक दक्षिण एशियाली विभागका उपमहानिर्देशक सिन्डी माल्भिसिनीले भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको उक्त भेटमा ऊर्जा र सिँचाइ क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो ।
भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री खड्काले एडिबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गर्दै निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताउनुभयो । आयोजना निर्माणका क्रममा गर्नुपर्ने अन्तरमन्त्रालय समन्वय गर्नसमेत सरकारले ध्यान दिने उहाँले बताउनुभयो ।
ऊर्जामन्त्री खड्काले दुई ठूला राजनीतिक दल मिलेर दरिलो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न एडिबीलाई आग्रह गर्नुभयो । उहाँले नेपाल मध्यम आय भएको देशमा रूपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडिबीको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
भेटमा उपमहानिर्देशक माल्भिसिनीले तनहुँ जलविद्युत् आयोजना र दूधकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्नका लागि आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो । उहाँले नेपालमा विकास निर्माणको वातावरण सुनिश्चित गरे एशियाली विकास बैंकले धेरै क्षेत्रमा सहयोग गर्ने बताउनुभयो ।
भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, नेपालका लागि एसियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक अर्नाउड काउकोइसलगायतको सहभागिता थियो ।