कोलकाता, १ असोज । कोलकातामा भारतीय अधिकारीहरूले चिकित्सकको क्रुर बलात्कार र हत्याको विरोधमा उग्र प्रदर्शनपछि सहरका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीलाई बर्खास्त गरेका छन् ।
अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकिस्तकको रगतले लतपतिएको शव फेला परेपछि महिला विरुद्ध हिंसाको दीर्घकालीन मुद्दालाई लिएर देशव्यापी आक्रोश सिर्जना भएको छ ।
उक्त हत्यापछि सम्पूर्ण भारतमा विरोध प्रदर्शन सुरु भयो र महिलाका लागि सुरक्षित स्थितिको माग गर्दै चिकित्सकहरूले बारम्बार हडताल गरेका छन् । बाँकी भारतमा धेरै विरोध प्रदर्शन र हडताल शान्त भए पनि पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा नियमित प्रदर्शन जारी छ ।
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सोमबार राति चिकित्सकहरूसँगको बैठकपछि कोलकाता प्रहरी आयुक्त र स्वास्थ्य विभागका दुई अधिकारीलाई हटाउने घोषणा गर्नुभयो ।
बैठकपछि उहाँले पत्रकारहरूसँग भन्नुभयो, “हामी स्वास्थ्य सेवाका निर्देशक र मेडिकल कलेजका निर्देशकलाई हटाउन सहमत भयौँ ।” जुनियर चिकित्सकहरूको मागअनुसार कोलकाताका प्रहरी आयुक्त विनीत गोयललाई पनि हटाइने छ ।
मुख्यमन्त्री बनर्जीले चिकित्सकहरूलाई काममा फर्कन आग्रह गर्दै उनीहरूको हडतालले आपत्कालीन सञ्चालन प्रभावित भएको बताउनुभयो ।
तथापि पश्चिम बङ्गाल जुनियर डाक्टर्स फ्रन्ट विरोध समूहका प्रवक्ता अनिकेत महतोले घटनाको अनुसन्धान पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।
हत्याको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ तर अनुसन्धानको तरिकालाई लिएर पश्चिम बङ्गाल राज्यको सरकारले सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ । “हामी केही विन्दुमा सहमत भएका छौँ तर असहमति कायमै छ”, महतोले भन्नुभयो । पीडितलाई न्यायको माग गर्दै सोमबार हजारौँ प्रदर्शनकारीले सहरको सडकहरूमा नारा लगाउँदै जुलुस निकालेका थिए ।
हत्याको क्रुरताले ‘मुलुकको अन्तरात्मालाई आघात’ पुर्याएको भन्दै भारतको सर्वोच्च अदालतले गत महिना स्वास्थ्यकर्मीहरूको सुरक्षा कसरी सुदृढ गर्ने भनेर जाँच गर्न एक राष्ट्रिय कार्यदललाई आदेश दिएको थियो ।आक्रमणको विभत्स प्रकृतिको तुलना सन् २०१२ मा दिल्ली बसमा एक युवतीमाथि भएको सामूहिक बलात्कार हत्यासँग गर्न थालिएको छ ।
दिल्ली घटना प्रमुख राजनीतिक मुद्दा बन्यो र निर्वाचनहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) को सफलतामा एक कारकका रूपमा हेरियो ।
भाजपा मुलुकभरमा सत्तारूढ पार्टी हो तर पश्चिम बङ्गाल राज्य सरकारको नेतृत्व अखिल भारतीय तृणमूल काङ्ग्रेससँग छ ।