शुक्रबार १८ असोज, २०८१

नेपाली समय

ईशनाथ नगरपालिकाले सिँचाइको विद्युत् महसुल व्यहोर्ने

ईशनाथ नगरपालिकाले सिँचाइको विद्युत् महसुल व्यहोर्ने

रौतहट, १ असोज । रौतहटको ईशनाथ नगरपालिकाले सिँचाइका लागि प्रयोग हुने विद्युत्को महसुल स्थानीय तहले व्यहोर्ने भएपछि यहाँका किसान खुसी भएका छन् ।ईशनाथ नगरपालिकाले किसानले खेती सिँचाइका लागि प्रयोग हुने विद्युत् महसुल व्यहोर्ने निर्णय गरेपछि किसान खुसी भएको नगरप्रमुख कौशलिया देवीको भनाई रहेको छ ।चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरूप कृषि सिँचाई मिटरको बिल नगरपालिकाले भुक्तानी गर्न लागिएको उनको भनाई छ । नगरप्रमुख देवीले किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत उक्त निर्णय गरिएको बताए ।

“अहिलेसम्म कृषि सिँचाइको विद्युत् महसुल आफैले तिर्दै आएका थियौँ”, वडा नं २ का औरैयाका किसान सुरेश महतोले भने, “अब नगरपालिकाले नै महसुल तिरिदिने भएपछि खेतीको लागत कम हुनेछ ।”वडा नं ८ का किसान भने नगरपालिकाको उक्त निर्णयले आफूहरूलाई सहज भएको बताइन् । “समयमै वर्षा नहुँदा सिँचाइका लागि डिजेलपम्प चलाउँदा खर्च बढी हुन्थ्यो”, उनले भनिन्, “सिँचाइका लागि विद्युत् निःशुल्क उपभोग गर्न पाउने भएपछि खर्च कम हुनेभएको छ ।”

ईशनाथ नगरपालिकाले सुरु गरेको ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ स्थानीय सरकारले सञ्चालन गरेको योजनामध्ये नमुना भएको वडा नं ७ को किसानहरूको भनाइ छ ।

नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्रका सम्पूर्ण सडक बत्ती तथा कृषि सिँचाइ मिटरको बिल ईशनाथ नगरपालिकाले भुक्तानी गर्ने निर्णय गरेको थियो ।

पुस मसान्तसम्मको महसुल किसान आफैँले भुक्तानी गर्ने र आगामी माघदेखिको महसुल नगरपालिकाले तिर्ने निर्णय भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले जानकारी दिए । “सिँचाइमा दिइने अनुदानले उत्पादन बढ्ने र किसानको आर्थिक अवस्थामा पनि सुधार आउने विश्वास लिएका छौँ”, उनले भने, “कृषि क्षेत्रको विकास र विस्तारका लागि नगरपालिकाले ठोस् योजनासहित अघि बढेको छ अधिकृत गुप्ताले बताए ।