वीरगंज, १९ भदौ । खुल्ला सीमावर्ती नाकाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करहरूको रजगज कुनै नौलो विषय होइन । सीमानाकाबाट हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न नेपाल सरकारले ठाउँ–ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरेको छ । तर भारतसँग जोडिएको पर्सास्थित वीरगंजको छपकैया नाकाबाट प्रहरीको मिलेमतोमा दैनिक ५० लाखसम्मको कपडा तस्करी भइरहेको बताइएको छ ।
भारतको पन्टोकासंग सीमा जोडिएको वीरगंज छपकैया नाकाबाट वीरगंजका नामुद तस्कर मदन गुप्ता भन्ने मदन रुन्चेको दिनहुँ ५० लाखसम्मको कपडा तस्करी भइरहेको बताइएको हो । नेपाली काँग्रेसका माथिल्लो नेताहरूसँग बलियो पहुँच बनाएका रुन्चेले केन्द्रमा गृहमन्त्रालय कांग्रेसले सम्हालेको केही दिन बित्दै प्रहरीलाई प्रभावमा पारी नेपाल–भारतको छपकैया पन्टोका नाका हुँदै सो परिमाण बराबरको कपडा तस्करीको माध्यमबाट आयात गर्दै आएको बताइन्छ ।
मदन रुन्चेको दाहिने हात मानिने रामेश्वर तिवारी, जितु भन्ने तस्करहरूको माध्यमबाट छपकैयाँ नाकामा २५/३० जना महिलाहरूलाई परिचालन गरी रातीको समयमा सो परिमाणको कपडा भित्र्याउँदै वीरगंजकै आदर्शनगरमा रहेको मदन रुन्चेको गोदाममा राख्ने गरिएको व्यापारी स्रोतले जनाएको छ ।
टायरको टयूटबमा कपडाको पोका राखी डोरीले बाँधेर छपकैया र पन्टोकाको बिचमा पर्ने सिरिसिया नदी कटाई रामेश्वर तिवारी, जितु सहित दर्जनौँ महिलाहरूको सहयोगमा राजस्व छली गर्दै कपडाको तस्करी भइरहेको छ । यस विषयमा जिल्ला प्रशासन कार्यालय, वीरगंज भन्सार कार्यालय, राजस्व अनुसन्धान कार्यालय लगायतका नियामक निकायहरूको ध्यान जान आवश्यक देखिन्छ ।