सोमबार ३१ भदौ, २०८१

नेपाली समय

बडिगाडमा  ‘डाइलाइसिस’ सेवा सञ्चालनको तयारी

बडिगाडमा  ‘डाइलाइसिस’ सेवा सञ्चालनको तयारी

गलकोट (बागलुङ), १९ भदौ । बडिगाड गाउँपालिकाले मिर्गौलाको बिरामीका लागि डाइलाइसिस सेवा सुरु गर्ने भएको छ । यसका लागि बडिगाड –५ ग्वालीचौरमा रु १८ करोडका लागतमा १५ शय्याको अस्पताल भवन निर्माण भइसकेको छ । नवनिर्मित उक्त भवनबाट आगामी कात्तिकदेखि सेवा सञ्चालन गर्ने तयारीमा गाउँपालिका जुटेको जनाइएको छ । 

यसबाट विशेषगरी गलकोट र ढोरपाटन नगरपालिकासहित बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका बिरामी लाभान्वित हुनेछन् । धवलागिरि अस्पतालमा मात्रै सो सुविधा रहेकामा बडिगाडमा पनि डाइलाइसिस  सेवा सञ्चलनसम्बन्धी  बडिगाड गाउँपालिका र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच सम्झौता भएको छ । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीबीच डाइलाइसिस सेवा दिने विषयमा सम्झौता भएको  बडिगाड गाउँपालिकाले जनाएको छ । 

सम्झौताअनुसार बडिगाड अस्पतालमा प्रत्यारोपण केन्द्रले चिकित्सक र स्वास्थ्यकर्मी परिचालन एवं अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्ने जनाइएको छ । यसबाट बागलुङ पश्चिमका साथै गुल्मी, रुकुम र रोल्पाका जनताले सहज सेवा पाउने बडिगाड गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।  बडिगाडले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उपचार गर्दै आएको छ ।