दमौली (तनहुँ), २१ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले धर्मले मानिसलाई मानसिक रुपमा स्वस्थ बनाउने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा आजदेखि सुरु भएको शिव महिमा बोलबम धार्मिक महोत्सवको आज उद्घाटन गर्दै मन्त्री पौडेलले मानसिक रुपमा स्वस्थ हुन हरेक मानिस धार्मिक हुनुपर्ने उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले भन्नुभयो, “मानिसलाई दुई किसिमको रोग लाग्छ । एउटा शारीरिक र अर्को मानसिक । आज शारीरिकभन्दा मानसिक रोगबाट मानिस बढी ग्रस्त छन् । मानसिक रोगको खासै उपचार छैन । एलोपेथिक औषधिले त्यसलाई सजिलै निको बनाउन सक्दैन ।”
धर्म स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले धर्मले मानिस स्वस्थ बन्न सक्ने उहाँको जिकिर थियो । उहाँले भन्नुभयो, “धार्मिक व्यवहार स्वास्थ्यसँग जोडिएका छन् । धार्मिक मान्छे मानसिक रुपमा स्वस्थ हुन्छ । मानसिक रुपमा स्वस्थ भएको मानिस सुखी हुन्छ ।”
मुक्तिनाथ च्वयनधामले धर्म संस्कृतिको संरक्षण मात्र होइन यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सहयोग पुगेको मन्त्री पौडेलको भनाइ थियो । उहाँले हरेक धर्म संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्र पद्धतिबाट नचलेको बताउँदै उहाँले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरिने बताउनुभयो । नेपालमा पर्याप्त अस्पताल भएपनि राम्रोसँग सेवा प्रवाह हुन नसकेकाले अस्पतालको सेवा सुविधा गुणस्तरीय बनाउनेतर्फ सरकारको ध्यान रहने बताउनुभयो ।
संविधानसभा सदस्य आशा कोइरालाले यस क्षेत्रलाई धार्मिक पर्यटकीयस्थल बनाउन आवश्यक रहेको बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले मुक्तिनाथ च्वयनधाम मिनी मुक्तिनाथको रुपमा विकास भइरहेको बताउनुभयो ।
च्यवन धाम र गौं संरक्षण केन्द्रको एकीकृत विकास एवं प्रवर्द्धनका लागि धार्मिक महोत्सव आयोजना गरिएको च्यवनधाम समितिका अध्यक्ष होमनाथ लम्सालले बताउनुभयो । साउन २८ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी धार्मिक महोत्सवमा माधुर्य कथा वाचक पण्डित वालकृष्ण अर्यालले कथा वाचन गर्नुहुनेछ ।