शुक्रबार ०४ असोज, २०८१

नेपाली समय

‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन प्रक्रिया अघि बढेको छ’

‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन प्रक्रिया अघि बढेको छ’

काठमाडौँ, २१ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनको प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मन्त्री सुडीले ऐनको मस्यौदा स्वीकृतिका लागि चाँडै मन्त्रिपरिषद्मा लैजाने बताउनुभयो । अहिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधनका लागि मस्यौदा तयार भएको र रायका लागि अर्थ मन्त्रालय पठाइएको उहाँले बताउनुभयो । अर्थ मन्त्रालयको स्वीकृतिपछि त्यसलाई मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाइने उहाँको भनाइ छ । 

त्यस्तै, नेपाल बाल सङ्गठनको विधान निर्माणको प्रक्रिया अघि बढेको मन्त्री सुडीले बताउनुभयो । मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका लागि निरोध एवम् रोकथाम, उद्धार तथा संरक्षण, कानुनी कारबाही, क्षमता अभिवृद्धि अनुगमन र मूल्याङ्कनको काम भइरहेको उहाँको भनाइ छ । त्यस्तै, विभिन्न निकायसँग समन्वय सहकार्य गरी मानव बेचबिखन रोकथामका लागि भइरहेको मन्त्री सुडीले बताउनुभयो ।