शुक्रबार ०४ असोज, २०८१

नेपाली समय

सर्लाहीमा एक हजार चार सय ३५ नयाँ उद्योग थपिए, तीन सय ९२ बन्द

सर्लाहीमा एक हजार चार सय ३५ नयाँ उद्योग थपिए, तीन सय ९२ बन्द

बरहथवा (सर्लाही), १९ साउन । सर्लाहीमा गत आर्थिक वर्षमा एक हजार चार सय ३५ नयाँ उद्योग दर्ता भएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ छ सय ६० र वाणिज्यतर्फ सात सय ७५ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको हो । उद्योग प्रशासनअन्तर्गत दर्ता भएकामध्ये धेरै कृषि फार्म रहेको कार्यालय प्रमुख संजीपकुमार दुब्बेले जानकारी दिनुभयो । उहाँकानुसार गत आर्थिक वर्षमा जिल्लामा कृषि तथा वनजन्य तीन सय पाँच, सेवामूलक दुई सय, उत्पादनमूलक एक सय ३९, पर्यटनमूलक र निर्माणमूलक आठ–आठ उद्योग दर्ता भएको छ । जिल्लामा व्यावसायिक कृषिका लागि धेरै फार्म दर्ता हुने गरेका उहाँले जानकारी दिनुभयो ।

यस्तै गत आवमा तीन सय ९१ उद्योगको लगतकट्टा भएको छ । लगतकट्टा भएकामध्ये धेरै कृषि उद्योगअन्तर्गत रहेका छन् । यसैगरी उद्योग प्रशासनतर्फ एक सय ४९ वटा र वाणिज्य प्रशासनतर्फको दुई सय ४२ वटा उद्योग बन्द गरिएको हो । ‘‘धेरै बन्द गरिएकामा कृषि उद्योगका फार्म छन्”, उद्योग अधिकृत दुब्बेले भन्नुभयो, ‘‘कृषि अनुदानअन्तर्गत कार्यक्रम सञ्चालनका लागि खोलिएका उद्योग धेरैको लगतकट्टा गरिएको छ ।”

यस्तै गत वर्ष उद्योग प्रशासनतर्फका आठ सय ८७ उद्योग र वाणिज्यतर्फका एक हजार पाँच सय नौ वटा उद्योग नवीकरण भएका कार्यालयले जनाएको छ । जिल्लामा पछिल्लो समय महिलाको नाममा उद्योग दर्ता गर्ने क्रम भने वृद्धि हुँदै गएको छ । गत वर्ष छ सय ६० फर्म दर्ता हुँदा तीन सय ५७ वटा महिला र तीन सय चारवटा पुरुषका नाममा दर्ता भएका छन् । महिलाका नाममा दर्ता रहने साना उद्योगमा छुट व्यवस्था लागू भएका कारण दर्ता अनुपात बढेको पाइएको छ ।