रौतहट, १३ असार । जिल्लाको मध्य भागमा रहेको गरुडा स्थित समुदाय दलित विकास केन्द्र नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । समुदाय दलित विकास केन्द्र नेपाल माधवनरायण नगरपालिका–६ ले एक कार्यक्रमका विच गरूडा बजार स्थित अनुष पार्टी प्यालेसमा सो साधारण सभा सम्पन्न गरेको हो।
केन्द्रका अध्यक्ष सुब्बा साहेब हजारीको अध्यक्षता तथा माधव नारायण नगरपालिकाका नगर प्रमुख वैजु प्रसाद यादवको प्रमुख आतिथ्यमा सो साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको वार्षिक गतिविधि तथा साङ्गठनिक प्रतिवेदन सो संस्थाका कार्यकारिणी निर्देशक धर्मदेव पासवानले प्रस्तुत गरेका थिए।
सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै,माधव नारायणका नगर प्रमुख यादवले,मुक्त हरवाचरवाको न्यायिक पुनर्स्थापना सरोकार र शिक्षा,स्वास्थ्य,रोजगारी र सामाजिक सुरक्षा अभियानका साथै दलित, गरिब, सुकुम्वासी, भूमिहीन शोषित पीडितको अधिकारका निम्ति समाजमा निरन्तर आवाज उठाइरहेको तथा पैरवी गरिरहेको सो संस्था र संस्थाका पदाधिकारीहरूलाई धन्यवाद दिँदै समाज परिवर्तनका लागि समुदाय दलित विकास केन्द्रको ठूलो भूमिका देखिएकोले आफूले सो संस्थालाई सधैँ सहयोग गरिरहने प्रतिबद्धता जाहेर गरे।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथिको रूपमा बोल्दै ईसि डिसी का अध्यक्ष तथा दलित अगुवा धर्मेन्द्र पासवानले एउटा नयाँ संस्था 'र'को रूपमा स्थापित भई समाजमा निरन्तर काम गरिरहे ता पनि पारदर्शी रूपले साधारण सभा गर्नु संस्थाको सराहनीयकार्य रहेको बताउँदै सो संस्थाको उन्नति प्रगतिको लागि शुभकामना समेत व्यक्त गरे ।
त्यस्तै विशिष्ट अतिथिका रूपमा बोल्दै दलित अधिकार कर्मी तथा मानव अधिकार कर्मी रामविनय पासवानले दलित समुदाय शिक्षा र स्वास्थ्यको मामिलामा अझ पनि सबभन्दा पछाडि रहेकोले संस्थाले शिक्षा र स्वास्थ्यमा सबभन्दा बढी जोड दिएर काम गर्न आग्रह गरे। त्यसैगरी अतिथिको रूपमा बोल्दै राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल रौतहटका अध्यक्ष राजेश पासवान(निर्माण)ले आफु दलितहरूको उत्थान तथा न्यायका लागि निरन्तर आवाज उठाउँदै र वकालत गर्दै आइरहेकोले आफूले दलितको पक्षमा काम गर्ने हरेक सङ्घ संस्थालाई सम्मान टक्र्याइरहने बताउँदै आफु र सङ्घले त्यस्ता संस्थाको पक्षमा निरन्तर कलम चलाइरहने बताए।
कार्यक्रममा बोल्दै माधव नारायण नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकुमार साहले आफु निर्वाचित भएको ठाउँमा दलितको संख्या ठुलै रहेकोले आफूले दलितको हरेक समस्यालाई नजिकैबाट नियालिरहेको बताए। उनका अनुसार दलित समुदाय शिक्षा र स्वास्थ्यको मामिलामा अझै पनि कमजोर नै रहेको बताउँदै संस्थाले दलित समुदायको शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनका निम्ति जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गर्दै सो कार्यमा आफसले सक्दो धेरै भन्दा धेरै सहयोग गर्ने प्रतिबद्ध जाहेर समेत गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य दलित अगुवा शिव शङ्कर पासवानले राखेका थिए। भने कार्यक्रम सञ्चालन सो संस्थाका कार्यकारिणी निर्देशक धर्मदेव पासवानले गरेका थिए। उक्त कार्यक्रममा सो संस्थाका सम्पूर्ण पदाधिकारीहरूको साथै पत्रकार तथा विभिन्न विशेष व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।