मेक्सिको,५ साउन । मेक्सिकोका एक आदिवासी अधिकारकर्मी र उहाँको परिवारको अज्ञात समुहद्वारा गोली हानी हत्या गरेको अभियोजकको कार्यालयले शुक्रबार जनाएको छ।
दक्षिणी राज्य ओक्साकाको राजमार्गमा यात्रा गरिरहेका अधिकारकर्मी लोरेन्जो सान्टोस टोरेस र उहाँको परिवार सवार पिक–अप ट्रक रोकेर बिहीबार गोली हानी हत्या गरिएको थियो । त्यसपछि आक्रमणकारीहरूले टोरेस र उहाँको परिवारलाई भित्र राखेर गाडीमा आगो लगाइदिएको राज्य अभियोजकको कार्यालयले जनाएको छ ।
“हिंसात्मक तरिकाले भएको अपराधको हामी निन्दा गर्दछौँ“, राज्य अभियोजक बर्नार्डो रोड्रिग्ज अलामिलाले पत्रकारहरूलाई भन्नुभयो । उहाँले उक्त आक्रमण ’बदलाको भावनाबाट प्रेरित’ भएको हुन सक्ने बताउनुभयो । सान्टोस टोरेस ओक्साकामा सक्रिय मानव अधिकार अभियानकर्ता हुनुहुन्थ्यो ।
आदिवासीका लागि मानवअधिकार तथा परामर्श केन्द्र (सेडापी) का अनुसार आदिवासी समुदायको राजनीतिक, सामाजिक र भूमि अधिकारको रक्षाका लागि गरिएको कामका लागि उहाँलाई धम्की आएको थियो।
“लोरेन्जो सान्टोस टोरेसले सान्टियागो अमोलटेपेक सहरको नगरपालिकाका अधिकारीहरूले गरेको अन्यायको विरोध गर्नुभएको थियो“, हत्याराहरूलाई सजाय दिन आह्वान गर्दै सेडापीले भन्यो ।
लामो समयदेखि लागुऔषध तस्करी र कृषि भूमिसम्बन्धी विवादसँग जुधिरहेको मेक्सिकोमा हालैका वर्षहरूमा धेरै मानव अधिकारकर्मीहरुको हत्या भएको छ।