रौतहट, ३० असार । जिल्लाको चन्द्रनिगाहपुरमा पीडितको न्यायमा सहज पहुँच सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार एलायन्सको स्थापना दिवसको अवसरमा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा एलायन्सका केन्द्रीय सदस्य दिलीप कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । चन्द्रपुर नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका प्रमुख अतिथि कोइरालाले न्यायको पहुँचमा रहेका अवरोधक तत्त्वहरू पहिचान गरी सोको न्यूनीकरणका लागि आवश्यक उपायहरू अवलम्बन गर्नुपर्ने बताए । उनले मानवको गाँस, बास र कपासको अधिकार सँगसँगै शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यमा सञ्चारकर्मीे तथा मानव अधिकारकर्मीले काम गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा छोरी संस्थाका संयोजक कोपिला तिमल्सिनाले न्याय पहुँचको लागी सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरी न्यायमा पहुँच अभिवृद्धिका लागि विपन्न, असहाय र असक्षम वर्गका व्यक्तिको पहिचान गर्न जरुरी रहेको बताए ।
नागरिकको न्यायमा पहुँच अभिवृद्धिको लागि चेतनाको अभिवृद्धि हुन आवश्यक रहेको उनले जनाए । यस्तै कार्यक्रममा न्यायिक समितिका सदस्य सचिव तथा चन्द्रपुर नगरपालिकाकी महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालले बाह्य हस्तक्षेप, दबाब र प्रभावलाई निरुत्साहित गर्न सके न्यायको पहुँचमा सहज हुने जनाए ।
पीडितलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्दा आफैँ असुरक्षित हुने लगायतको चुनौती रहेको बताउँदै मानव अधिकार रक्षकहरूको संरक्षणको लागि नीति तथा कार्यक्रम ल्याउन पहल गर्नुपर्ने उनको तर्क थियो । पीडितलाई न्याय दिलाउन मानव अधिकार एलायन्सकी कोषाध्यक्ष गौरी न्यौपानेले स्वागत मन्तव्य राखेका कार्यक्रमको सञ्चालन एलायन्सका सचिव नवीन राज बरालले गरेका थिए । एलायन्सका जिल्ला अध्यक्ष जितेन्द्र रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानवअधिकारकर्मी,सञ्चारकर्मी, सहकारीकर्मी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।